थेस्सलोनिकीहरूलाई पावल प्रेरितको पहिलो पत्र
1
पावल, सिलवानस र तिमोथीको तर्फबाट परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा भएको थेस्सलोनिकीहरूको मण्डलीलाई: परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति!
ख्रीष्‍ट-विश्‍वासीहरूको असल नमुना
2 हाम्रा प्रार्थनाहरूमा तिमीहरूको सम्झना गर्दै हामी तिमीहरू सबैका निम्ति सधैं परमेश्‍वरलाई धन्यवाद चढ़ाउँछौं; 3 हाम्रा परमेश्‍वर र पिताको सामुन्‍ने तिमीहरूको विश्‍वासको काम, प्रेमको परिश्रम र हाम्रा प्रभु येशू ख्रीष्‍टमा भएको आशाको धीरज निरन्‍तर सम्झना गर्दछौं;
4 प्रिय भाइहरूहो, हामी जान्दछौं, परमेश्‍वरद्वारा तिमीहरूको चुनाउ भएको छ। 5 किनकि हाम्रो सुसमाचार वचनमा मात्र होइन, तर सामर्थ्यमा, पवित्र आत्मामा र खूबै निश्‍चयतासित तिमीहरूकहाँ आएको थियो; तिमीहरूको बीचमा तिमीहरूका निम्ति हामी कस्ता किसिमका मानिसहरू भई रहेका थियौं, सो तिमीहरूलाई थाहा छ। 6 अनि ठूलो कष्‍टमा पवित्र आत्माको आनन्दसाथ वचन ग्रहण गरेपछि तिमीहरू हाम्रा र प्रभुका देखासिकी गर्नेहरू भयौ; 7 यहाँसम्म कि तिमीहरू म्यासिडोनिया र अखैयामा भएका सबै विश्‍वासीहरूका निम्ति नमुनाहरू बन्यौ। 8 किनकि तिमीहरूबाट प्रभुको वचन म्यासिडोनिया र अखैयामा मात्र सुनाइएको होइन, तर चारैतिर हरेक ठाउँमा परमेश्‍वरप्रति भएको तिमीहरूको विश्‍वासको चर्चा फैलिएको छ; यसैकारण हामीलाई केही कुरा भन्‍ने खाँचो छैन। 9 किनकि हामी तिमीहरूकहाँ कस्तो प्रकारले प्रवेश गर्‍यौं, अनि कसरी तिमीहरू जीवित र सत्य परमेश्‍वरको सेवा गर्न र स्वर्गबाट आउनुहुने उहाँको पुत्रको बाटो हेर्न मूर्तिहरूबाट परमेश्‍वरकहाँ फर्क्यौ, सो कुरा तिनीहरू आफैले हाम्रो विषयमा बताउँछन्; 10 जुन येशूलाई उहाँले मरेकाहरूबाट बौराएर उठाउनुभयो, यही येशूले हामीलाई पछि आउने क्रोधबाट छुटकारा दिनुहुन्छ।