थेस्सलोनिकीहरूलाई पावल प्रेरितको दोस्रो पत्र
1
पावल, सिलवानस र तिमोथीको तर्फबाट परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टमा भएको थेस्सलोनिकीहरूको मण्डलीलाई: 2 परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति!
3 भाइहरूहो, तिमीहरूका निम्ति परमेश्‍वरलाई सधैं धन्यवाद चढ़ाउन हामीलाई कर लागेको छ, यो उचित पनि छ; किनभने तिमीहरूको विश्‍वास अत्यन्तै बढ़्दैछ, र तिमीहरू सबैमा हरेकको प्रेम एक-अर्काका निम्ति बढ़्दैछ; 4 यहाँसम्म कि तिमीहरूले सहेका तिमीहरूका सबै सतावट र कष्‍टहरूमा तिमीहरूले देखाएका धीरज र विश्‍वासका निम्ति परमेश्‍वरका मण्डलीहरूमा हामी आफै तिमीहरूको विषयमा गर्व गर्दछौं; 5 योचाहिँ परमेश्‍वरको धर्ममय न्यायको स्पष्‍ट प्रमाण हो, कि तिमीहरू परमेश्‍वरको राज्यको योग्य ठहरिओ, जसका निम्ति तिमीहरू दुःख पनि भोग्दछौ; 6 किनकि जसले तिमीहरूलाई दुःख दिन्छन्, तिनीहरूलाई साटोमा कष्‍ट दिनु, 7 र तिमी दुःख भोग्‍नेहरूलाई चाहिँ हाम्रो साथमा विश्राम दिनु परमेश्‍वरका निम्ति धर्मसङ्गत कुरा हो – त्यस समयमा, जब प्रभु येशू स्वर्गबाट आफ्ना सामर्थी दूतहरूको साथमा दन्किरहेको आगोमा प्रकट हुनुहुनेछ, 8 र परमेश्‍वरलाई नचिन्‍नेहरू र हाम्रा प्रभु येशू ख्रीष्‍टको सुसमाचार पालन नगर्नेहरूलाई बदला दिनुहुनेछ; 9 तिनीहरूले प्रभुको उपस्थितिबाट र उहाँको सामर्थ्यको महिमाबाट अनन्त विनाशको दण्ड पाउनेछन्; 10 यो त्यस दिनमा हुनेछ, जब उहाँ आफ्ना पवित्र जनहरूमा महिमा पाउन र सबै विश्‍वास गर्नेहरूमा अचम्म मानिनका निम्‍ति आउनुहुनेछ; किनभने तिमीहरूको बीचमा हाम्रो गवाही विश्‍वास गरियो।
11 यसकारण हाम्रा परमेश्‍वरले तिमीहरूलाई यस बोलावटको योग्य ठानेका होऊन् र आफ्नो भलाइको हरेक शुभेच्छा, साथै विश्‍वासको काम सामर्थ्यसित पूरा गरेका होऊन् भनी हामी पनि सधैंभरि तिमीहरूका निम्ति प्रार्थना गर्दछौं, 12 यस हेतुले कि हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रहअनुसार हाम्रा प्रभु येशू ख्रीष्‍टको नामले तिमीहरूमा महिमा पाओस्, र तिमीहरूले उहाँमा पाअो।