प्रभु येशूको दोस्रो आगमनको सम्बन्धमा जागा रहो!
5
तर भाइहरूहो, समय र बेलाबखतहरूको विषयमा मैले तिमीहरूलाई लेख्नुपर्ने तिमीहरूलाई खाँचो छैन। 2 किनकि राती चोर जसरी आउँछ, प्रभुको दिन त्यसरी नै आउँछ भनी तिमीहरू आफैलाई राम्ररी थाहा छ। 3 किनकि जब तिनीहरूले ‘शान्ति र सुरक्षा’ भन्नेछन्, तब गर्भवती स्त्रीमाथि प्रसूति-वेदना आइपरेझैं तिनीहरूमाथि अचानक विनाश आइपर्नेछ, र तिनीहरू कुनै रीतिले उम्कनेछैनन्। 4 तर हे भाइहरूहो, त्यो दिन तिमीहरूमाथि चोरजस्तै आइपर्ने गरी तिमीहरू अन्धकारमा छैनौ। 5 तिमीहरू सबै ज्योतिका सन्तान र दिनका सन्तानहरू हौ; हामी न ता रातका, न अन्धकारका हौं। 6 यसैकारण हामी अरूजस्तो नसुतौं, तर जागा रहौं र सचेत रहौं! 7 किनकि सुत्नेहरू रातमा सुत्छन्, मतवालाहरू रातमा मात्छन्। 8 तर हामीचाहिँ, जो दिनका हौं, विश्वास र प्रेमको कवचक, अनि मुक्तिको आशारूपी टोप पहिरेर सचेत रहौं! 9 किनकि परमेश्वरले हामीलाई क्रोधका निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति पाऔं भनी ठहराउनुभएको छ। 10 हामी चाहे जागा रहौं चाहे सुतौं, हामी उहाँसित एकसाथ जिऔं भन्ने हेतुले उहाँ हाम्रा निम्ति मर्नुभयो। 11 यसकारण एक-अर्कालाई सान्त्वना देओ, र एकले अर्कोको उन्नति गर, जसरी तिमीहरूले गर्दैछौ पनि।ख्रीष्ट-विश्वासीहरूका निम्ति केही व्यवहारिक अर्तीउपदेश
12 अनि भाइहरूहो, हामी तिमीहरूलाई विन्ती गर्दछौं, उनीहरू जसले तिमीहरूको बीचमा परिश्रम गर्छन्, जो प्रभुमा तिमीहरूका अगुवाहरू हुन् र जसले तिमीहरूलाई शिक्षा-चेताउनी दिन्छन्, उनीहरूलाई चिन, 13 र उनीहरूको कामको कारणले उनीहरूलाई प्रेमसाथ अति उच्च आदर गर, अनि आपसमा मेलमिलापसँग बस!
14 अब भाइहरूहो, हामी तिमीहरूलाई अर्ती दिन्छौं: अटेरी चाल चल्नेहरूलाई चेताउनी देओ, हरेस खानेहरूलाई सान्त्वना देओ, कमजोरहरूलाई सहारा देओ, सबै मानिसहरूप्रति सहनशील होओ! 15 होशियार! कसैले कसैलाई खराबीको बदलामा खराबी नगरोस्, तर आपसमा, साथै सबै मानिसहरूसँग सधैं भलाइ गरख!
16 सधैं आनन्दित रहो! 17 निरन्तर प्रार्थना गरिरहो! 18 हरेक कुरामा धन्यवाद चढ़ाओ; किनकि ख्रीष्ट येशूमा तिमीहरूका निम्ति परमेश्वरको इच्छा यही हो। 19 आत्मालाई ननिभाओ! 20 भविष्यवाणीहरू तुच्छ नठान! 21 सबै कुराहरू जाँच; जुन कुरा असल छ, त्यो बलियो गरी समातिराख! 22 दुष्टताको हरेक रूपबाटग अलग बस!
23 अब शान्तिका परमेश्वर आफैले तिमीहरूलाई पूरा रूपले पवित्र पारेका होऊन्; अनि तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्टको आगमनसम्म दोषरहित अवस्थामा सुरक्षित राखिएका होऊन्! 24 तिमीहरूलाई बोलाउनुहुने विश्वासयोग्य हुनुहुन्छ; उहाँले यो गर्नुहुनेछ।