कलस्सीहरूलाई पावल प्रेरितको पत्र
1
परमेश्वरको इच्छाद्वारा येशू ख्रीष्टको प्रेरित पावल र हाम्रो भाइ तिमोथीबाट 2 कलस्सेमा भएका पवित्र जनहरू र ख्रीष्टमा विश्वासयोग्य भाइहरूलाई: परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति!3 तिमीहरूका निम्ति सधैं प्रार्थना गर्दै हामी हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पितालाई धन्यवाद चढ़ाउँछौं; 4 किनकि ख्रीष्ट येशूमा भएको तिमीहरूको विश्वास र सबै पवित्र जनहरूप्रति भएको तिमीहरूको प्रेमको विषयमा हामीले सुन्यौं – 5 यस आशाको खातिर, जुनचाहिँ तिमीहरूका लागि स्वर्गमा राखिएको छ, जसको विषयमा तिमीहरूले अघि नै सुसमाचारको सत्यताको वचनमा सुन्यौ, 6 जुन सुसमाचार तिमीहरूकहाँ आएको छ, जसरी सारा संसारमा नै आएको छ, र यसले फल फलाइरहेको छ, जसरी तिमीहरूमा पनि तिमीहरूले यसको विषयमा सुनेको र परमेश्वरको अनुग्रह सत्यतामा जानेको दिनदेखि नै फल फलाइरहेको छ; 7 जसरी तिमीहरूले पनि हाम्रा प्रिय सङ्गी-दास इपाफ्रासबाट सिक्यौ, जो तिमीहरूका निम्ति ख्रीष्टका विश्वासयोग्य सेवक हुन्; 8 उनले नै आत्मामा भएको तिमीहरूको प्रेमको विषयमा हामीलाई बताइदिए।
ख्रीष्टको सर्वश्रेष्ठता
9 यही कारणले हामीले पनि यो कुरा सुनेको दिनदेखि नै तिमीहरूका निम्ति प्रार्थना गर्न अनि सारा बुद्धि र आत्मिक समझमा उहाँको इच्छा जान्ने ज्ञानले तिमीहरू भरिएका होओ भनी विन्ती गर्न छोड़ेका छैनौं; 10 कि उहाँलाई पूरा रूपले प्रसन्न गराउनलाई तिमीहरू प्रभुको योग्य चालमा हिँड़, हरेक असल काममा फलदार हुँदै जाओ र परमेश्वरको चिन्ने ज्ञानमा बढ़्दै जाओ; 11 अनि आनन्दसितको सम्पूर्ण धीरज र सहनशीलताका निम्ति उहाँको महिमित सामर्थ्यअनुसार सारा शक्तिले बलवान् होओ; 12 र पितालाई धन्यवाद चढ़ाओ, जसले हामीलाई ज्योतिमा पवित्र जनहरूको पैतृक-सम्पत्तिका भागीदार हुने योग्य बनाउनुभएको छ, 13 जसले हामीलाई अन्धकारको सामर्थ्यबाटक छुटकारा दिनुभएको छ र आफ्नो प्रिय पुत्रको राज्यभित्र सार्नुभएको छ; 14 उहाँमा हामीले उहाँको रगतद्वारा छुटकाराख अर्थात् पापहरूको क्षमा पाएका छौं;
15 उहाँ अदृश्य परमेश्वरको प्रतिरूप, सारा सृष्टिका जेठा हुनुहुन्छ; 16 किनभने स्वर्गमा भएका र पृथ्वीमा भएका कुराहरू, देखिने र नदेखिने कुराहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानहरू, चाहे अधिकारीहरू, यी सबै कुराहरू उहाँद्वारा नै सृष्टि गरिएका हुन्; सबै कुराहरू उहाँद्वारा र उहाँकै निम्ति सृष्टि गरिएका हुन्; 17 अनि सबै कुराहरूको अघि उहाँ हुनुहुन्छ, र सबै कुराहरू उहाँद्वारा नै स्थिर रहन्छन्। 18 अनि उहाँचाहिँ शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ; उहाँ शुरु अर्थात् मरेकाहरूबाट बिउँतनेहरूमा जेठा हुनुहुन्छ, यसैले कि सबै कुराहरूमा उहाँलाई नै पहिलो स्थान दिइयोस्।
ख्रीष्टमा मेलमिलाप
19 किनकि सारा परिपूर्णताले उहाँमा वास गरेकोमा पिता प्रसन्न हुनुभयो, 20 साथै उहाँको क्रूसको रगतद्वारा मेलमिलापग गरेर उहाँद्वारा नै सबै कुराहरू, चाहे पृथ्वीमा भएका कुराहरू होऊन्, चाहे स्वर्गमा भएका कुराहरू, उहाँद्वारा नै आफूसँग मिलाप गराएकोमा प्रसन्न हुनुभयो। 21 अनि बितेको समयमा तिमीहरू दुष्ट कामहरूले गर्दा पराई भएका र आफ्नो मनमा शत्रु भएका थियौ, 22 तर अब उहाँले मृत्युद्वारा आफ्नो मासुको शरीरमा तिमीहरूको मिलाप गराउनुभएको छ, तिमीहरूलाई आफ्नो सामु पवित्र, निष्कलङ्क र निर्दोष उपस्थित गराउनका निम्ति – 23 यदि तिमीहरू जग बसालेर र स्थिर भएर विश्वासमा लागिरह्यौ भने, र सुसमाचारको आशाबाट हटेनौ भने, जुन सुसमाचार तिमीहरूले सुनेका छौ, जुनचाहिँ स्वर्गमुनि भएको हरेक प्राणीलाईघ प्रचार गरियो, जसको सेवक म पावल बनाइएको छु।
मण्डलीका निम्ति प्रेरित पावलले सहेको कष्ट र गरेको परिश्रम
24 अब म तिमीहरूका निम्ति मेरा दु:खहरूमा आनन्द मनाउँछु; अनि उहाँको शरीरका निम्ति, जुनचाहिँ मण्डली हो, ख्रीष्टका कष्टहरूमा जे कमी छ, त्यो म आफ्नो शरीरमा पूरा गर्दछु। 25 तिमीहरूका निम्ति मलाई दिइएको परमेश्वरको प्रबन्धअनुसार म मण्डलीको सेवक बनाइएँ, परमेश्वरको वचन अर्थात् त्यो रहस्य पूरा गर्न, 26 जुन रहस्यचाहिँ युग-युगदेखि र पुस्तापुस्तादेखि लुकाइराखिएको थियो, तर अहिले उहाँका पवित्र जनहरूकहाँ प्रकट गरिएको छ; 27 उनीहरूलाई नै परमेश्वरले अन्यजातिहरूको बीचमा यहि रहस्यको महिमाको धन के हो, सो प्रकट गर्न चाहनुभयो अर्थात महिमाको त्यो आशा तिमीहरूभित्र हुनुहुने ख्रीष्ट हुनुहुन्छ। 28 हरेक मानिसलाई ख्रीष्ट येशूमा सिद्ध भएको अवस्थामा उपस्थित गराउने उद्देश्यले हामी हरेक मानिसलाई चेतावनी दिँदै र हरेक मानिसलाई सम्पूर्ण बुद्धिसित शिक्षा दिँदै उहाँलाई प्रचार गर्दछौं। 29 यसैका निम्ति म पनि, उहाँको त्यस प्रभावकारी कार्यअनुसार, जसले ममा सामर्थ्यसाथ काम गर्छ, संघर्ष गर्दै परिश्रम गर्दछु।