दार्शनिक ज्ञान होइन, तर ख्रीष्‍ट
2
किनकि तिमीहरूका निम्ति र लाओडिसियामा भएकाहरूका निम्ति, साथै जतिजनाले शरीरमा मेरो मुख देखेका छैनन्, तिनीहरूका निम्ति मेरो कत्रो भारी संघर्ष छ, सो कुरा तिमीहरूलाई थाहा होस् भन्‍ने म चाहन्छु; 2 कि प्रेममा एकसाथ बाँधिएर तिनीहरूका हृदयहरूले सान्‍त्‍वना पाऊन् र समझको सम्पूर्ण निश्‍चयताको सारा धन प्राप्‍त गरून्; अँ, परमेश्‍वरको, पिताको र ख्रीष्‍टको रहस्यको ज्ञान प्राप्‍त गरून्, 3 जसमा बुद्धि र ज्ञानका सारा सम्पत्तिहरू लुकेका छन्। 4 अनि कसैले तिमीहरूलाई फकाउने कुराहरूद्वारा धोकामा पार्ला कि भनी म यो भन्दछु। 5 किनकि शरीरमा म अनुपस्थित भए तापनि तिमीहरूको तह मिलेको चाल र ख्रीष्‍टमा भएको तिमीहरूको विश्‍वासको दृढ़ता हेर्दै र आनन्द मनाउँदै म आत्मामा तिमीहरूसँगै छु।
6 यसकारण जसरी तिमीहरूले ख्रीष्‍ट येशू प्रभुलाई ग्रहण गरेका छौ, त्यसरी नै तिमीहरू उहाँमा हिँड़, 7 र उहाँमा नै जरा हाल्दै र बनिँदै जाओ; अनि जसरी तिमीहरूले शिक्षा पाएका छौ, त्यसरी नै यसमा धन्यवादले प्रशस्त हुँदै विश्‍वासमा स्थिर हुँदै जाओ!
8 होशियार होओ, नत्र कसैले तत्वज्ञान र व्यर्थको धोकाद्वारा तिमीहरूलाई शिकार बनाउला! ती कुराहरू मानिसको रीतिथिति र संसारका प्राथमिक शिक्षाहरूअनुसार छन्, तर ख्रीष्‍टअनुसार होइन। 9 किनकि उहाँमा नै ईश्‍वरत्वको सारा परिपूर्णताले शारीरिक रूपमा वास गर्छ, 10 र उहाँमा नै तिमीहरू परिपूर्ण छौ; उहाँ सबै प्रधानता र अधिकारको शिर हुनुहुन्छ।
रीतिविधि होइन, तर ख्रीष्‍ट
11 उहाँमा नै विनाहातले गरिएको खतनाद्वारा तिमीहरूको खतना भएको छ – शरीरका पापहरूको देहलाई ख्रीष्‍टको खतनाद्वारा फालेर; 12 बप्‍तिस्‍मामा तिमीहरू उहाँसित गाड़ियौ, जसमा उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनुहुने परमेश्‍वरको कार्यमाथि राखिएको विश्‍वासद्वारा तिमीहरू पनि उहाँसित बिउँताइयौ। 13 अनि तिमीहरू आफ्ना पापहरू र आफ्नो शरीरको बेखतनाको अवस्थामा मरेका हुँदा उहाँले तिमीहरूका सबै अपराधहरू क्षमा गरेर तिमीहरूलाई उहाँसित जीवित पार्नुभएको छ; 14 र हाम्रो नाममा लेखिएको धर्मविधिहरूरूपी त्यो लेख मेटाइदिनुभयो, जुनचाहिँ हाम्रो विरोधमा थियो, र त्यसलाई क्रूसमा कीला ठोकेर त्यसलाई बीचबाट हटाइदिनुभयो; 15 अनि प्रधानहरू र अधिकारहरूलाई हातहतियाररहित पारेर उहाँले तिनीहरूलाई खुल्‍लमखुल्‍ला तमाशा बनाइदिनुभयो, र यसैमा उहाँ तिनीहरूमाथि विजयी बन्‍नुभयो।
16 यसकारण खानेकुरा वा पिउने कुराको विषयमा, वा चाड़को विषयमा, वा औंसी वा विश्रामदिनहरूको विषयमा कसैले तिमीहरूको न्याय नगरोस्; 17 यीचाहिँ आउन लागेका कुराहरूको छाया हुन्, तर शरीर त ख्रीष्‍टको हो। 18 दीनता र स्वर्गदूतहरूको पूजामा आफ्नो इच्छाअनुसार गरेर कसैले तिमीहरूलाई आफ्नो इनाम गुमाउने नबनाओस्; आफूले नदेखेका कुराहरूमा लागेर त्यो आफ्नो शारीरिक मनद्वारा व्यर्थमा फुलिएको हुन्छ; 19 र त्यसले शिरलाई पक्रिराखेको हुँदैन, जसबाट जोर्नीहरू र बन्धनहरूद्वारा पोषण पाएर र एकसाथ बाँधिएर सम्पूर्ण शरीर परमेश्‍वरको वृद्धिले बढ़्दै जान्छ।
20 यसकारण यदि तिमीहरू संसारका प्राथमिक शिक्षाहरूबाट ख्रीष्‍टसँग मरेका छौ भने संसारमा बाँचिरहेझैं गरी तिमीहरू किन मानिसहरूका आज्ञाहरू र शिक्षाहरूअनुसार विधिविधानहरूको अधीनतामा रहन्छौ? जस्तै: 21 ‘नछोऊ, नचाख, हातमा नलेऊ!’ 22 यी सबै कुराहरू काममा लगाउँदा-लगाउँदै नष्‍ट भएर जान्छन्; 23 जुन कुराहरूमा साँच्‍ची नै आफ्नो इच्छाअनुसारको पूजा, दीनता र शरीरलाई कष्‍ट दिने काममा बुद्धिको झलक त देखा पर्छ, तापनि तिनमा केही मोल छैन, तर शरीरका लालसाहरू पूरा गर्ने काम मात्र हुन्छ।