फिलिप्पीहरूलाई पावल प्रेरितको पत्र
1
येशू ख्रीष्‍टका दासहरू पावल र तिमोथीबाट फिलिप्पीमा भएका ख्रीष्‍ट येशूमा सबै पवित्र जनहरूलाई, अध्यक्षहरू र सेवकहरूलाई लगायत: 2 परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति!
प्रेरित पावलको धन्यवाद र प्रार्थना
3 तिमीहरूको हरेक सम्झनामा मेरा परमेश्‍वरलाई म धन्यवाद चढ़ाउँछु, 4 सधैंभरि मेरो हरेक प्रार्थनामा म आनन्दसाथ तिमीहरू सबैका लागि विन्‍ती गर्दछु; 5 किनकि पहिलो दिनदेखि अहिलेसम्म तिमीहरू सुसमाचारमा सहभागी भएका छौ; 6 र यस कुरामा म निश्‍चित छु: उहाँ जसले तिमीहरूमा एउटा असल काम शुरु गर्नुभएको छ, उहाँले येशू ख्रीष्‍टको दिनसम्म त्यो पूरा गर्नुहुने नै छ। 7 जसरी तिमीहरू सबैको विषयमा यो कुरा सोच्‍नु मेरा निम्ति उचित छ; किनकि मैले तिमीहरूलाई मेरो हृदयमा राखेको छु; किनकि मेरो बन्धनमा, साथै सुसमाचारका प्रतिरक्षा र पुष्‍टिकरणमा तिमीहरू सबै मसँग यस अनुग्रहका सहभागीहरू हौ। 8 किनकि परमेश्‍वर मेरो साक्षी हुनुहुन्छ, येशू ख्रीष्‍टको कोमल प्रेममा म तिमीहरू सबैको कति साह्रै तिर्सना गर्दछु। 9 अनि म यही प्रार्थना गर्दछु: ज्ञानमा र सबै प्रकारको विवेचनामा तिमीहरूको प्रेम झन्-झन् प्रशस्त हुँदै जाओस्; 10 फलस्वरूप उत्तम कुराहरू तिमीहरूले जाँचेर थाहा पाउन सक, र धार्मिकताका फलहरूले भरिँदै तिमीहरू ख्रीष्‍टको दिनसम्म इमानदार र निर्दोष रहन सक, 11 जुन फलहरूचाहिँ येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको महिमा र प्रशंसाका निम्ति हुन्छन्।
पावल कैदी भएकोले सुसमाचारको वृद्धि
12 तर भाइहरूहो, जुन कुराहरू ममाथि आइपरे, ती कुराहरू सुसमाचारको प्रगतिको कारण हुन गएका छन्, तिमीहरूलाई यो थाहा होस् भन्‍ने म चाह गर्दछु; 13 यहाँसम्म कि सम्पूर्ण दरवार र अरू सबै ठाउँहरूमा मेरो बन्धनचाहिँ ख्रीष्‍टका निम्ति भएको हो भन्‍ने कुरा प्रकट भएको छ; 14 अनि प्रभुमा जो भाइहरू छन्, तीमध्ये अनेकौं मेरो बन्धनद्वारा भरोसा पाएर विनाडर वचन बोल्नका निम्ति झन् बढ़ी हिम्मती भएका छन्।
15 साँच्‍चै कतिले चाहिँ डाहा र झगड़ाको कारणले अनि कतिले चाहिँ भलो मनसायले ख्रीष्‍टलाई प्रचार गर्दछन्; 16 यिनीहरूले चाहिँ साँच्‍चै चोखो मनले होइन, आपसी विरोधको कारणले मेरो बन्धनमाथि कष्‍ट थपिदिने विचार राखेर ख्रीष्‍टलाई प्रचार गर्दछन्; 17 तर अरूले चाहिँ म सुसमाचारको प्रतिरक्षाका निम्ति नियुक्त गरिएको जानेर प्रेमले यसो गर्दछन्।
18 तब के? जेजस्तो भए तापनि, हर प्रकारले चाहे बहानामा होस् चाहे सत्यतामा, ख्रीष्‍ट प्रचारिनुहुन्छ; अनि यस कुरामा म आनन्द मनाउँछु, अँ, आनन्द मनाउने नै छु। 19 किनकि म जान्दछु: तिमीहरूको अन्तर्विन्‍ती र येशू ख्रीष्‍टको आत्माको सहायताद्वारा यो स्थिति मेरा निम्ति छुटकारामा परिणत हुनेछ, 20 र मेरो उत्कट चाहना र आशाअनुसार म कुनै कुरामा पनि शर्ममा पर्नेछैनँ; तर सम्पूर्ण साहसमा अहिले पनि, सधैं झैं चाहे जीवनद्वारा होस् चाहे मृत्युद्वारा, मेरो शरीरमा ख्रीष्‍टको महिमा हुनेछ। 21 किनकि मेरा निम्ति जिउनु ख्रीष्‍ट हुनुहुन्छ र मर्नुचाहिँ लाभ हो। 22 तर शरीरमा जिउनु हो भने मेरा लागि यो परिश्रमको फल हो, तरै पनि म के चुनूँ, म जान्दिनँ। 23 किनभने म दोधारमा परेको छु: इच्छा त हुन्छ, बिदा लिऊँ र ख्रीष्‍टसँग रहूँ; किनकि यो अति नै राम्रो हो; 24 तरै पनि शरीरमा रहनुचाहिँ तिमीहरूका निम्ति धेरै खाँचो छ। 25 अनि यो निश्‍चयता भएको हुनाले म जान्दछु, तिमीहरूका प्रगति र विश्‍वासको आनन्दका निम्ति म रहनेछु, र तिमीहरू सबैसित रहिरहनेछु, 26 यसैले कि तिमीहरूकहाँ म फेरि आएकोले मेरो विषयमा तिमीहरूको आनन्द येशू ख्रीष्‍टमा प्रशस्त भएको होस्।
सुसमाचारका निम्ति एकसाथ संघर्ष गर!
27 केवल तिमीहरूको चालचलन ख्रीष्‍टको सुसमाचारको योग्य होस्; चाहे म आएर तिमीहरूलाई देखूँ, चाहे अनुपस्थित रहूँ, सुसमाचारको विश्‍वासका निम्ति एउटै मनको भएर एकसाथ संघर्ष गर्दै एउटै आत्मामा तिमीहरू बलियो गरी उभिन्छौ भन्‍ने कुरा तिमीहरूको विषयमा म सुन्‍न पाऊँ; 28 र तिमीहरू कुनै कुरामा पनि आफ्ना विरोधीहरूसँग डराउँदैनौ – योचाहिँ तिनीहरूका निम्ति विनाशको स्पष्‍ट चिन्ह हो, तर तिमीहरूका निम्ति चाहिँ मुक्तिको; अनि यो परमेश्‍वरपट्टिबाट हो। 29 किनभने ख्रीष्‍टको सम्बन्धमा उहाँमाथि विश्‍वास गर्न मात्र होइन, तर उहाँका निम्ति दुःख भोग्‍न पनि तिमीहरूलाई अनुग्रह दिइएको छ, 30 त्यही प्रकारको संघर्ष गर्दै, जुन संघर्षचाहिँ तिमीहरूले ममा देख्यौ, र अहिले पनि ममा भइरहेको सुन्दैछौ।