ख्रीष्‍टको नम्रता र महिमा
2
यसकारण यदि ख्रीष्‍टमा कुनै उत्साह, यदि प्रेमको कुनै सान्‍त्‍वना, यदि आत्माको कुनै सङ्गति, यदि कुनै कोमल माया र कृपाहरू छन् भने 2 तिमीहरूले एकै मनको भएर, एउटै प्रेम राखेर, एकै चित्तको भएर, एउटै कुराको चिन्ता गरेर मेरो आनन्द पूरा गरिदेओ! 3 आपसी विरोध वा खोक्रो प्रशंसाको कारणले केही पनि नगर! तर मनको नम्रताको कारणले एकले अर्कोलाई आफूभन्दा असल ठानोस्। 4 हरेकले आफ्नै कुराहरू मात्र होइन, तर हरेकले अरूका कुराहरू पनि ध्यान देओस्।
5 ख्रीष्‍ट येशूमा जुन मन थियो, त्यही मन तिमीहरूमा पनि होस्, 6 जसले परमेश्‍वरकै स्वरूपमा हुनुभएकोले परमेश्‍वरसँग बराबरी हुने कुरा लुटको माल सम्झनुभएन, 7 तर उहाँले आफैलाई रित्त्याउनुभयो, र दासको रूप धारण गरेर उहाँ मानिसहरूको समानतामा हुनुभयो; 8 अनि मानिसजस्तो रूपमा प्रकट भएर उहाँले आफूलाई नम्र तुल्याउनुभयो; र मृत्युसम्म, अँ, क्रूसको मृत्युसम्म उहाँ आज्ञाकारी हुनुभयो।
9 यसैकारण परमेश्‍वरले पनि उहाँलाई अति उच्‍च पार्नुभयो र उहाँलाई त्यो नाम दिनुभयो, जुन नामचाहिँ हरेक नामभन्दा उच्‍च छ, 10 यस हेतुले कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि हुनेहरूको हरेक घुँड़ा येशूको नाममा टेकिनुपर्छ; 11 र पिता परमेश्‍वरको महिमाका लागि हरेक जिब्रोले ‘येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्छ’ भनी स्वीकार गर्नुपर्छ।
12 यसकारण मेरा प्रियहरूहो, जसरी तिमीहरूले सधैं आज्ञापालन गरेका छौ, त्यसरी नै मेरो उपस्थितिमा गरेजस्तो मात्र होइन, तर मेरो अनुपस्थितिमा झन् बढ़्ता गरी डराउँदै र काम्दै आ-आफ्नो मुक्तिको काम पूरा गर! 13 किनकि तिमीहरूभित्र आफ्नो शुभ अभिप्रायअनुसार इच्छा पनि गर्ने र काम पूरा पनि गर्ने मन दिनुहुने परमेश्‍वर नै हुनुहुन्छ।
14 गनगन र तर्क-वितर्क नगरीकन सबै कुरा गर! 15 कि तिमीहरू निर्दोष र सोझो होओ, टेढ़ा र भ्रष्‍ट पुस्ताको बीचमा परमेश्‍वरका निष्कलङ्क सन्तानहरू होओ, जुन पुस्ताको बीचमा जीवनको वचनलाई पक्रेर तिमीहरू संसारमा ज्योतिहरूजस्तै चम्कन्छौ, 16 र म व्यर्थमा दगुरेको रहेनछु र व्यर्थमा मेहनत गरेको रहेनछु भनी म ख्रीष्‍टको दिनमा आनन्द गर्न पाऊँ।
17 अँ, तिमीहरूको विश्‍वासको बलि र सेवामाथि म आफू अर्घझैं चढ़ाइएँ भने पनि म आनन्द गर्दछु, र तिमीहरू सबैसँग आनन्द मनाउँदछु। 18 अनि यही कारणले तिमीहरू पनि आनन्द गर, र मसँग आनन्द मनाओ!
तिमोथी र एपाफ्रोडिटसको प्रशंसा
19 तर तिमोथीलाई चाँड़ै तिमीहरूकहाँ पठाउँला भनी म प्रभु येशूमा आशा गर्दछु, ताकि तिमीहरूको अवस्था जानेर म पनि हर्षित होऊँ। 20 किनकि मसँग एकै मन भएको कोही पनि छैन, जसले साँचो मनले तिमीहरूको अवस्थाको चिन्ता गर्नेछ। 21 किनकि सबैले ख्रीष्‍ट येशूका कुराहरू होइन, तर आफ्नै स्वार्थ खोज्छन्। 22 तर तिमीहरू उनको इमानदारी जान्दछौ, बुबाको साथमा छोराले गरेझैं उनले मेरो साथमा सुसमाचारमा सेवा गरेका छन्। 23 यसकारण आफ्नो विषयमा के हुने हो, सो थाहा पाउनसाथ म उनलाई तुरुन्तै पठाउँला भन्‍ने आशा गर्दछु। 24 तर म आफै पनि चाँड़ै आउनेछु भनी म प्रभुमा भरोसा गर्दछु।
25 तरै पनि मैले एपाफ्रोडिटसलाई तिमीहरूकहाँ पठाइदिनु आवश्यक ठानें, जो मेरा भाइ, सहकर्मी र सङ्गी-सिपाही हुन्, तर तिमीहरूका चाहिँ दूत र मेरो खाँचोमा सेवा गर्ने सेवक हुन्। 26 किनकि तिनले तिमीहरू सबैका निम्ति तिर्सना गरिरहेका थिए, र अति व्याकुल भएका थिए; किनकि तिमीहरूले तिनको बिरामीको विषयमा सुनेका थियौ। 27 किनकि तिनी साँच्‍चै मृत्युकै मुखमा पुग्‍ने गरी बिरामी भएका थिए, तर परमेश्‍वरले तिनीमाथि कृपा राख्‍नुभयो; र तिनीमाथि मात्र होइन, तर ममाथि पनि, मलाई शोकमाथि शोक नपरोस् भनेर। 28 यसकारण जब तिमीहरूले तिनलाई फेरि भेटौला, तब तिमीहरूले आनन्द गरौला, र मेरो शोक पनि घट्ला भनी मैले तिनलाई धेरै उत्सुकतासाथ पठाइदिएँ। 29 यसकारण तिनलाई सारा आनन्दसित प्रभुमा ग्रहण गर र यस्ता मानिसहरूलाई आदर गर; 30 किनभने मप्रतिको सेवामा तिमीहरूको जे कमी थियो, त्यो पूरा गर्नलाई आफ्नो प्राणको पनि वास्ता नगरी तिनी ख्रीष्‍टको कामका निम्ति मृत्युको मुखैनिर पुगेका थिए।