एफेसीहरूलाई पावल प्रेरितको पत्र
1
परमेश्‍वरको इच्छाद्वारा येशू ख्रीष्‍टको प्रेरित पावलबाट एफेससमा भएका पवित्र जनहरू र ख्रीष्‍ट येशूमा विश्‍वासयोग्यहरूलाई: 2 हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति!
सबै आत्‍मिक आशिष्‌हरू ख्रीष्‍ट येशूमा छन्
3 हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिता धन्य होऊन्, जसले ख्रीष्‍टमा हामीलाई स्वर्गीय स्थानहरूमा सबै आत्मिक आशिष्‌हरूले आशिषित पार्नुभएको छ; 4 त्यसरी नै हामी उहाँको सामु प्रेममा पवित्र र निर्दोष होऔं भनेर उहाँले हामीलाई संसारको उत्पत्तिभन्दा पहिल्यै ख्रीष्‍टमा चुन्‍नुभयो; 5 अनि आफ्नो इच्छाको शुभ अभिप्रायअनुसार उहाँले ख्रीष्‍ट येशूद्वारा हामीलाई आफ्ना निम्ति पहिल्यै धर्मपुत्रहरू ठहराउनुभयो, 6 उहाँको अनुग्रहको महिमाको प्रशंसाका निम्ति, जुन अनुग्रहमा उहाँले हामीलाई उही प्रियमा ग्रहणयोग्य तुल्याउनुभयो। 7 उहाँमा हामीले, उहाँको अनुग्रहको धनअनुसार उहाँको रगतद्वारा छुटकारा अर्थात्‌ पापहरूको क्षमा पाएका छौं, 8 जुन अनुग्रह उहाँले सारा बुद्धि र समझमा हामीलाई प्रशस्त गरी दिनुभयो; 9 र आफैभित्र संकल्प गर्नुभएको आफ्नो शुभ अभिप्रायअनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीकहाँ प्रकट गर्नुभयो: 10 समयहरू पूरा भएपछि प्रबन्धमुताबिक उहाँले सबै कुराहरू अर्थात स्‍वर्गमा भएका कुराहरू र पृथ्‍वीमाथि भएका कुराहरू ख्रीष्‍टमा एकत्र गर्नुहुन्छ, अँ, उहाँमा; 11 हामी जो सबै कुराहरू आफ्नै इच्छाको सल्‍लाहमुताबिक गर्नुहुनेको संकल्‍पअनुसार पहिल्‍यै ठहराइएका थियौं, हामीले उहाँमा पैतृक सम्पत्ति पनि पाएका छौं, 12 यस उद्देश्‍यले कि हामी जसले ख्रीष्‍टमा पहिल्यै भरोसा राखेका छौं, हामीचाहिँ उहाँको महिमाको प्रशंसाको कारण होऔं।
13 उहाँमा नै तिमीहरूले सत्यताको वचन अर्थात्‌ तिमीहरूको मुक्तिको सुसमाचार सुनेपछि भरोसा गर्‍यौ; उहाँमा नै तिमीहरूले विश्‍वास गरेपछि प्रतिज्ञाको पवित्र आत्माले तिमीहरू छाप मारियौ। 14 जुन आत्‍माचाहिँ किनिएको सम्पत्तिको छुटकाराको समयसम्म हाम्रो पैतृक-सम्पत्तिको बैना हुनुहुन्छ, उहाँकै महिमाको प्रशंसाको लागि।
ख्रीष्‍ट-विश्‍वासीहरूका लागि प्रेरित पावलको पहिलो प्रार्थना
15 यसैकारण प्रभु येशूमा भएको तिमीहरूको विश्‍वास र सबै पवित्र जनहरूप्रति भएको तिमीहरूको प्रेमको विषयमा सुनेर 16 म पनि आफ्ना प्रार्थनाहरूमा तिमीहरूको सम्झना गर्दै तिमीहरूका निम्ति धन्यवाद चढ़ाउन छोड़्दिनँ; 17 कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाको पिताले तिमीहरूलाई उहाँको पहिचानमा बुद्धिको र प्रकाशको आत्मा दिएका होऊन्, 18 र तिमीहरूको मनका आँखाहरू उज्याला पारिएका होऊन्, जसले गर्दा उहाँको बोलावटको आशा के रहेछ, पवित्र जनहरूमा उहाँको पैतृक-सम्पत्तिको महिमाको धन के रहेछ 19 र उहाँको शक्तिशाली सामर्थ्यको कामअनुसार हामी विश्‍वास गर्नेहरूप्रति उहाँको सामर्थ्यको अपार महान्‌ता के रहेछ, सो जान्‍न सक; 20 जुन सामर्थ्य यहाँले ख्रीष्‍टमा काममा लाउनुभयो, जब यहाँले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनुभयो, 21 र आफ्नै दाहिने हातपट्टि सबै प्रधानता, अधिकार, सामर्थ्य, प्रभुत्व र यस संसारमा मात्र होइन, तर आउने युगमा पनि लिइने हरेक नामभन्दा धेरै माथि स्वर्गीय स्थानहरूमा बसाल्नुभयो, 22 र सबै कुराहरू उहाँका पाउहरूमुनि पारिदिनुभयो र उहाँलाई सबै कुराहरूमाथि शिर हुनका निम्ति मण्डलीलाई दिनुभयो, 23 जुनचाहिँ उहाँको शरीर हो अर्थात्‌ उहाँको परिपूर्णता, जसले सबैजनामा सबै कुराहरू भरिदिनुहुन्छ।