गलातीहरूलाई पावल प्रेरितको पत्र
1
पावल प्रेरित (न ता मानिसहरूबाट, न ता मानिसद्वारा, तर येशू ख्रीष्ट र उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनुहुने परमेश्वर पिताद्वारा) 2 र मसित भएका सबै भाइहरूबाट गलातियामा भएका मण्डलीहरूलाई: 3 परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति! 4 परमेश्वर र हाम्रा पिताको इच्छाअनुसार यस वर्तमान दुष्ट संसारबाट हामीलाई छुटकारा दिनका लागि उहाँले आफैलाई हाम्रा पापहरूका निम्ति दिइहाल्नुभयो; 5 उहाँलाई नै सदासर्वदा महिमा भइरहोस्! आमेन।अर्को सुसमाचार छँदैछैन
6 म छक्क पर्दछु, किनकि जसले तिमीहरूलाई ख्रीष्टको अनुग्रहमा बोलाउनुभयो, उहाँबाट तिमीहरू यति चाँड़ै अर्को सुसमाचारतिर फर्क्यौ, 7 जुन सुसमाचार अर्को होइन, तर तिमीहरूलाई विचलित पार्नेहरू र ख्रीष्टको सुसमाचार उल्टापुल्टा पार्न चाहनेहरू कोही-कोही छन्। 8 तर हामीले वा स्वर्गबाटको कुनै दूतले पनि हामीले तिमीहरूलाई प्रचार गरेको सुसमाचारबाहेक अरू कुनै सुसमाचार तिमीहरूलाई सुनायो भने त्यो श्रापित होस्! 9 जस्तो हामीले पहिले भन्यौं, त्यस्तै अब म फेरि भन्दछु: कुनै मानिसले जुन सुसमाचार तिमीहरूले ग्रहण गरेका छौ, त्योभन्दा बेग्लै सुसमाचार तिमीहरूलाई सुनायो भने त्यो श्रापित होस्! 10 किनकि अब म मानिसहरूलाई मनाउँदैछु कि परमेश्वरलाई? अथवा के म मानिसहरूलाई खुशी पार्न खोज्दैछु? किनकि अझै पनि मैले मानिसहरूलाई खुशी पारेको छु भने म ख्रीष्टको दास हुनेथिइनँ।
ख्रीष्टको सुसमाचार सीधै परमेश्वरबाट आएको हो
11 तर भाइहरूहो, म तिमीहरूलाई जनाउँदछु: जुन सुसमाचार मद्वारा सुनाइयो, त्यो मानिसअनुसारको होइन। 12 किनकि न ता मैले त्यो मानिसबाट पाएँ, न ता त्यो मलाई सिकाइएको हो, तर येशू ख्रीष्टको प्रकाशद्वारा मैले त्यो पाएँ। 13 किनभने बितेको समयमा यहूदी धर्ममा हुँदा मेरो चालचलन कस्तो थियो, सो तिमीहरूले सुनेका छौ; मैले परमेश्वरको मण्डलीलाई साह्रै सताएँ र त्यसलाई नष्टभ्रष्ट पारें। 14 अनि मेरा पितापुर्खाहरूका रीतिविधिहरूमा एकदमै जोशिलो भएर मेरो आफ्नै जातिमा मेरा दौंतरीहरूमध्ये अनेकौंलाई उछिन्दै म यहूदी धर्ममा अघि बढ़ें।
15 तर जुन परमेश्वरले मलाई मेरी आमाकै गर्भबाट अलग पार्नुभयो र आफ्नो अनुग्रहद्वारा मलाई बोलाउनुभयो, 16 जब ती परमेश्वरलाई आफ्नो पुत्र ममा प्रकट गर्न असल लाग्यो – मैले उहाँलाई अन्यजातिहरूको बीचमा प्रचार गरूँ भनेर, तब तुरुन्तै मैले मासु र रगतसँग सल्लाह लिइनँ, 17 न ता म माथि यरूशलेममा उनीहरूकहाँ गएँ, जो मभन्दा पहिले प्रेरितहरू थिए, तर म त अरब गएँ, र फेरि दमस्कस फर्कें। 18 तब तीन वर्षपछि म पत्रुससँग भेट गर्नलाई माथि यरूशलेम गएँ, र उनीसँग पन्ध्र दिनसम्म बसें; 19 तर प्रभुको भाइ याकूबलाई बाहेक प्रेरितहरूमध्ये अरू कसैलाई मैले भेटिनँ।
20 अनि हेर, जे कुराहरू म तिमीहरूलाई लेख्छु, परमेश्वरको सामु म झूट बोल्दिनँ।
21 त्यसपछि म सिरिया र सिलिसियाका इलाकाहरूमा आएँ; 22 अनि ख्रीष्टमा भएका यहूदियाका मण्डलीहरूले मेरो मुख देखेका थिएनन्; 23 तर ‘जसले बितेको समयमा हामीलाई सताएका थिए, उनैले अहिले आफूले अघि नष्ट पारेको विश्वासलाई प्रचार गर्दा रहेछन्’ भनी उनीहरूले सुनेका मात्र थिए। 24 अनि ममा उनीहरूले परमेश्वरको महिमा गरे।