अरू प्रेरितहरूद्वारा पावललाई मान्यता दिइयो
2
तब चौध वर्षपछि बर्नबाससित म फेरि माथि यरूशलेम गएँ, अनि तीतसलाई पनि मैले साथमा लगें; 2 अनि प्रकाशअनुसार म माथि गएँ, र जुन सुसमाचार म अन्यजातिहरूको बीचमा प्रचार गर्दछु, त्यही सुसमाचार मैले उनीहरूलाई पेस गरें; तर एकान्तमा ती नाम चलेकाहरूलाई, कहीं कुनै प्रकारले म व्यर्थैमा पो दगुर्नुपर्ने हो कि, वा दगुरेको थिएँ कि भनेर। 3 तर मसँग हुने तीतसलाई, ग्रीक भए तापनि खतना गरिनुपर्छ भन्ने कर गरिएन। 4 अनि सुटुक्कै भित्र ल्याइएका झूटा भाइहरूले गर्दा, जो हामीलाई बन्धनभित्र हुल्नका निम्ति ख्रीष्ट येशूमा भएको हाम्रो स्वतन्त्रताको जासूसी गर्न सुटुक्कै भित्र आए; 5 सुसमाचारको सत्यता तिमीहरूसित रहिरहोस् भनेर तिनीहरूलाई हामीले एक घण्टा पनि अधीनतामा रहीकन ठाउँ दिएनौं।6 तर केही भएजस्तै देखा पर्नेहरूबाट (उनीहरू जोसुकै भए तापनि त्यस कुराले मलाई केही फरक पार्दैन; परमेश्वरले मानिसलाई मुख हेरेर ग्रहण गर्नुहुन्न); किनकि ती नाम चलेकाहरूले मलाई केही थप कुरा दिएनन्; 7 तर उल्टा, खतना हुनेहरूका निम्ति जसरी सुसमाचार पत्रुसलाई सुम्पिएको थियो, त्यसरी नै खतना नहुनेहरूका निम्ति सुसमाचार मलाई सुम्पिएको छ भन्ने कुरा जब उनीहरूले देखे, 8 (किनकि जसले खतना हुनेहरूको बीचमा प्रेरितको काम गर्नलाई पत्रुसमा प्रभावशाली काम गर्नुभयो, उहाँले अन्यजातिहरूका निम्ति ममा पनि प्रभावशाली काम गर्नुभयो), 9 र जब याकूब, केफास र यूहन्नाले, जो खाँबाहरू मानिन्थे, मलाई दिइएको अनुग्रह थाहा पाए, तब उनीहरूले, हामीचाहिँ अन्यजातिहरूकहाँ र उनीहरूचाहिँ खतना हुनेहरूकहाँ जाने उद्देश्यले मलाई र बर्नबासलाई सङ्गतिका दाहिने हातहरू दिए। 10 हामीले गरिबहरूको सम्झना गर्नुपर्छ भन्ने मात्र उनीहरूको इच्छा थियो; यही काम गर्नलाई म पनि उत्सुक थिएँ।
सबै मानिसहरू विश्वासद्वारा धर्मी ठहरिन्छन्
11 तर जब पत्रुस एन्टिओक आए, तब मैले आमुन्नेसामुन्ने उनलाई विरोध गरें; किनकि उनी दोषी ठहरिएका थिए। 12 किनभने याकूबकहाँबाट कति मानिसहरू आउनुभन्दा पहिले उनी अन्यजातिहरूसँग खान्थे; तर जब तिनीहरू आए, तब ती खतना हुनेहरूसँग डराएर उनी पछि हटे, र उनले आफूलाई अलग पारे; 13 अनि उनको साथमा अरू यहूदीहरूले पनि कपट गरे, यहाँसम्म कि बर्नबास पनि तिनीहरूको कपटद्वारा भड़्काइए। 14 तर जब मैले तिनीहरूलाई सुसमाचारको सत्यताअनुसार सठीकसँग नचलेका देखें, तब ती सबैजनाको सामु मैले पत्रुसलाई भनें: ‘तपाईं यहूदी भएर पनि यहूदीजस्तो होइन, तर अन्यजातिजस्तो चल्नुहुन्छ भने, किन तपाईं अन्यजातिहरूलाई यहूदीको चलनअनुसार चल्नू भनी कर लाउनुहुन्छ?’
15 हामी जन्मैका यहूदीहरू हौं, र अन्यजातिहरूबाटका पापी होइनौं, 16 तर मानिस व्यवस्थाका कामहरूद्वारा धर्मी ठहरिँदैन, तर येशू ख्रीष्टको विश्वासद्वारा मात्र धर्मी ठहरिन्छ भन्ने जानेर हामी आफैले पनि व्यवस्थाका कामहरूद्वारा होइन, तर ख्रीष्टको विश्वासद्वारा धर्मी ठहरिऔं भनेर येशू ख्रीष्टमाथि विश्वास गर्यौं; किनकि व्यवस्थाका कामहरूद्वारा कुनै पनि प्राणी धर्मी ठहरिनेछैन। 17 तर ख्रीष्टद्वारा धर्मी ठहरिन खोज्दा-खोज्दै हामी आफै पनि पापी फेला पर्यौं भने, तब के ख्रीष्ट पापको सेवक हुनुहुन्छ त? कदापि होइन! 18 किनकि जुन कुराहरू मैले भत्काइदिएँ, ती कुराहरू म फेरि बनाउँछु भने म आफैलाई अपराधी तुल्याउँछु। 19 किनकि परमेश्वरका निम्ति बाँचूँ भनेर म व्यवस्थाद्वारा व्यवस्थाका निम्ति मरेको छु। 20 म ख्रीष्टसित क्रूसमा टाँगिएको छु, तरै पनि म जिउँछु; त्यसो भए पनि म त होइन, तर ख्रीष्ट मभित्र जिउनुहुन्छ; अनि जुन जीवन म अहिले शरीरमा जिउँछु, त्यो जीवन म परमेश्वरको पुत्रको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिइहाल्नुभयो। 21 परमेश्वरको अनुग्रहलाई म व्यर्थको तुल्याउँदिनँ; किनकि व्यवस्थाद्वारा धार्मिकता आउँदो हो ता ख्रीष्ट व्यर्थमा मर्नुभयो।