विश्‍वासद्वारा पवित्र आत्मा प्राप्‍त गरिन्छ
3
हे बुद्धिहीन गलातीहरूहो, सत्यता पालन नगर्नू भनेर कसले तिमीहरूलाई मोहमा पार्‍यो? तिमीहरूको बीचमा त, तिमीहरूका आँखाहरूकै सामु येशू ख्रीष्‍ट क्रूसमा टाँगिनुभएको सफासँग देखाइनुभएको थियो। 2 तिमीहरूबाट म यो मात्र जान्‍न चाहन्छु: तिमीहरूले आत्मालाई व्यवस्थाका कामहरूद्वारा पायौ कि विश्‍वासको सुनाइद्वारा? 3 के तिमीहरू यति बुद्धिहीन छौ? आत्मामा शुरु गरेर के तिमीहरू अब शरीरमा सिद्ध्याउँछौ? 4 के तिमीहरूले यति धेरै दुःख व्यर्थैमा खप्यौ त? हो भने साँच्‍चै व्यर्थैमा खप्यौ। 5 यसकारण जसले तिमीहरूलाई आत्मा दिनुहुन्छ र तिमीहरूको बीचमा सामर्थ्यका कामहरू गर्नुहुन्छ, के यो उहाँले व्यवस्थाकै कामहरूद्वारा गर्नुहुन्छ कि विश्‍वासको सुनाइद्वारा? 6 जसरी अब्राहामले पनि परमेश्‍वरलाई विश्‍वास गरे, र यो उनका निम्ति धार्मिकता गनियो। 7 यसकारण तिमीहरूले यो कुरा जान: जो-जो विश्‍वासबाटका हुन्, यिनीहरू नै अब्राहामका सन्तान हुन्; 8 अनि परमेश्‍वरले अन्यजातिहरूलाई विश्‍वासद्वारा धर्मी ठहराउनुहुन्छ भन्‍ने कुरा अघिबाटै जानेर पवित्र शास्त्रले पहिले नै अब्राहामलाई ‘तिमीमा सबै जातिहरू आशिषित हुनेछन्’ भन्‍ने सुसमाचार सुनायो। 9 यसकारण जो-जो विश्‍वासबाटका हुन्, यिनीहरूचाहिँ विश्‍वासी अब्राहामसँगै आशिषित हुन्छन्।
व्यवस्थाको बन्धनमा रहनेहरू श्रापित छन्
10 किनकि जतिजना व्यवस्थाका कामहरूबाटका हुन्, तिनीहरू श्रापमुनि छन्; किनकि लेखिएको छ:
‘व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुराहरूमा तिनलाई पालन गर्नलाई लागिनरहने हरेक जन श्रापित होस्!’
11 तर परमेश्‍वरको दृष्‍टिमा व्यवस्थाद्वारा कोही पनि धर्मी ठहरिँदैन, यो कुरा स्पष्‍ट छ; किनभने ‘धर्मी जन विश्‍वासद्वारा जिउनेछ।’ 12 तर व्यवस्थाचाहिँ विश्‍वासबाटको होइन; तर ‘जुन मान्छेले तिनलाई पालन गर्छ, ऊ तीद्वारा जिउनेछ।’ 13 हाम्रा निम्ति श्राप बनेर ख्रीष्‍टले हामीलाई व्यवस्थाको श्रापबाट दाम तिरी छुटकारा दिनुभएको छ; किनकि लेखिएको छ:
‘हरेक जो रूखमा झुन्डिन्छ, त्यो श्रापित हो;’
14 यसैले कि येशू ख्रीष्‍टद्वारा अब्राहामको आशिष्‌ अन्यजातिहरूकहाँ आओस्, र विश्‍वासद्वारा हामीले आत्माको प्रतिज्ञा प्राप्‍त गर्न सकौं।
15 भाइहरूहो, मानिसको रीतिअनुसार म भन्दछु: वाचा मान्छेकै भए तापनि त्यो पक्‍का भएपछि त्यसलाई कसैले न रद्द गर्दछ, न त्यसमा थप्दछ। 16 अब अब्राहाम र उनको वंशलाई प्रतिज्ञाहरू दिइए। उहाँले धेरैजनाको विषयमा भनेझैं गरी ‘र वंशहरूलाई’ भन्‍नुहुन्‍न, तर एकैजनाको विषयमा भनेझैं गरी ‘र तिम्रो वंशलाई’ भन्‍नुहुन्‍छ, जुन वंश ख्रीष्‍ट हुनुहुन्छ। 17 अनि म यो भन्दछु: परमेश्‍वरद्वारा ख्रीष्‍टमा पहिले नै पक्‍का गरिएको वाचालाई चार सय तीस वर्षपछि आएको व्यवस्थाले त्यस प्रतिज्ञालाई बेकम्मा तुल्याउनका निम्ति रद्द गर्न सक्दैन। 18 किनकि पैतृक-सम्पत्ति व्यवस्थाद्वारा पाइने हो भने प्रतिज्ञाद्वारा हुँदै होइन; तर परमेश्‍वरले प्रतिज्ञाद्वारा अब्राहामलाई त्यो दिनुभयो।
19 तब व्यवस्था केका लागि हो? यो त जुन वंशलाई प्रतिज्ञा दिइएको थियो, त्यो वंश आउन्जेल अपराधहरूले गर्दा थपिएको थियो, र स्वर्गदूतहरूद्वारा एक मध्यस्थको हातमा ठहराइएयो। 20 अब मध्यस्थचाहिँ एकजनाको मध्यस्थ हुँदैन, तर परमेश्‍वर एकैजना हुनुहुन्छ।
21 तब के व्यवस्था परमेश्‍वरका प्रतिज्ञाहरूको विरोधमा छ त? कदापि छैन! किनकि जीवन दिन सक्ने व्यवस्था दिइएको हुँदो हो ता साँच्‍चै धार्मिकता व्यवस्थाद्वारा हुनेथियो। 22 तर प्रतिज्ञाचाहिँ येशू ख्रीष्‍टमाथि राखिएको विश्‍वासद्वारा विश्‍वास गर्नेहरूलाई दिइयोस् भनेर पवित्र शास्त्रले सबैलाई पापको अधीनतामा थुनेर राखेको छ। 23 तर विश्‍वास आउनुभन्दा पहिले यही व्यवस्थाको अधीनतामा हाम्रो रखवाली भयो, र पछिबाट प्रकट हुने विश्‍वासका निम्ति हामी थुनामा राखियौं 24 यसकारण व्यवस्थाचाहिँ, हामी विश्‍वासद्वारा धर्मी ठहरिऔं भनेर हामीलाई ख्रीष्‍टकहाँ ल्याउने हाम्रो शिक्षक थियो। 25 तर विश्‍वास आइसकेपछि चाहिँ हामी अबदेखि उसो त्यस शिक्षकको अधीनतामा छैनौं।
ख्रीष्‍ट-विश्‍वासीहरूचाहिँ परमेश्‍वरका सन्तान हुन्
26 किनकि ख्रीष्‍ट येशूमाथि राखिएको विश्‍वासद्वारा तिमीहरू सबै परमेश्‍वरका सन्तान हौ। 27 किनकि तिमीहरू जतिले ख्रीष्‍टभित्र बप्‍तिस्‍मा लिएका छौ, तिमीहरूले ख्रीष्‍टलाई पहिरेका छौ। 28 अब त्यहाँ न यहूदी रह्‍यो न ग्रीक, न कमारा न स्वतन्‍त्र, न पुरुष न स्त्री; किनकि ख्रीष्‍ट येशूमा तिमीहरू सबै एक हौ। 29 अनि तिमीहरू ख्रीष्‍टका हौ भने तिमीहरू अब्राहामको वंश हौ र प्रतिज्ञाअनुसार हकवालाहरू हौ।