4
अनि म भन्दछु: हकवाला जबसम्म बालक रहन्छ, तबसम्म ऊ सबै कुराहरूको मालिक भए तापनि दासमा र उसमा केही भिन्नता हुँदैन। 2 तर बुबाले ठहराएको समयसम्म ऊ हेरचाह गर्नेहरू र प्रबन्ध गर्नेहरूको अधीनतामा रहन्छ। 3 यही प्रकारले हामी पनि, जब हामी बालकहरू थियौं, तब संसारका प्राथमिक शिक्षाहरूको दासत्वमा थियौं। 4 तर जब समय पूरा भयो, तब परमेश्वरले आफ्ना पुत्रलाई पठाउनुभयो, जो स्त्रीद्वारा जन्मनुभयो, व्यवस्थाको अधीनतामा जन्मनुभयो – 5 यस हेतुले कि हामी धर्मपुत्र हुने अधिकार पाऔं भनेर उहाँले यस व्यवस्थाको अधीनतामा भएकाहरूलाई दाम तिरी छुटकारा दिन सकून्। 6 अनि तिमीहरू पुत्र भएका हुनाले परमेश्वरले ‘हे अब्बा, हे पिता’ भन्दै पुकार्ने आफ्नै पुत्रको आत्मा तिमीहरूका हृदयभित्र पठाउनुभएको हो। 7 यसर्थ अबदेखि उसो तिमी दास होइनौ, तर पुत्र हौ; अनि पुत्र हौ भने ख्रीष्टद्वारा परमेश्वरको हकवाला पनि हौ।गलातीहरूप्रति प्रेरित पावलको फिक्री
8 तर त्यस बेला परमेश्वरलाई नचिनेर तिमीहरूले तिनीहरूको सेवा गर्यौ, जो स्वभावैले ईश्वरहरू होइनन्। 9 तर अब तिमीहरूले परमेश्वरलाई चिनेपछि, तर बरु परमेश्वरद्वारा चिनिएपछि तिमीहरू कसरी फेरि दुर्बल र निकम्मा प्राथमिक शिक्षाहरूकहाँ फर्कन्छौ? फेरि पनि त्यसको दास हुने इच्छा गर्दछौ? 10 तिमीहरू दिन, महिना, समय र वर्षहरू मान्दछौ। 11 व्यर्थैमा मैले तिमीहरूका लागि मेहनत गरें कि भनी मलाई तिमीहरूसँग डर लागेको छ।
12 भाइहरूहो, मजस्तो छु, त्यस्तै होओ भनी म तिमीहरूलाई विन्ती गर्दछु; किनकि म पनि तिमीहरूजस्तै छु। तिमीहरूले मेरो कुनै खराबी गरेका छैनौ। 13 तिमीहरू जान्दछौ, शारीरिक दुर्बलताको कारणलेक पहिलो पल्ट मैले तिमीहरूलाई सुसमाचार सुनाएँ। 14 अनि मेरो परीक्षा, जुनचाहिँ मेरो शरीरमा थियो, तिमीहरूले तुच्छ ठानेनौ, र लत्याएनौ; तर तिमीहरूले मलाई परमेश्वरको दूतलाई झैं, अँ, ख्रीष्ट येशूलाई झैं ग्रहण गर्यौ। 15 तब तिमीहरूको आनन्द-मनाइख कहाँ छ? किनकि तिमीहरूको विषयमा म गवाही दिन्छु: सम्भव भएको भए तिमीहरूले आफ्नै आँखाहरू निकालेर मलाई दिनेथियौ। 16 यसकारण मैले तिमीहरूसँग सत्य बोलेकोमा के म तिमीहरूको शत्रु भएको छु त?
17 तिनीहरूले तिमीहरूप्रति जोशसित चासो राख्छन्, तर सठीकसँग होइन; अँ, तिमीहरूले पनि तिनीहरूप्रति चासो राखौ भनेर तिनीहरूले तिमीहरूलाई मबाट अलग पार्न चाहन्छन्। 18 तर सधैंभरि असल कुरामा जोशसित चासो लिनु असल हो, र म तिमीहरूको साथमा रहेको बेलामा मात्र होइन।
19 हे मेरा साना बालकहरूहो, जबसम्म ख्रीष्ट तिमीहरूमा बनिनुहुन्न, तबसम्म म फेरि तिमीहरूका लागि प्रसूति-वेदनामा हुन्छु; 20 म अहिले नै तिमीहरूको साथमा हुने र आफ्नो सोर बदली गर्ने इच्छा गर्दछु; किनकि तिमीहरूको विषयमा मलाई शङ्का छ।
हागार र साराको दृष्टान्त
21 तिमी व्यवस्थाको अधीनतामा रहन चाहनेहरूले मलाई भन, के तिमीहरू व्यवस्थाको कुरा सुन्दैनौ? 22 किनकि यो लेखिएको छ: अब्राहामका दुईजना छोराहरू थिए – एकजनाचाहिँ दासीबाट, अर्कोचाहिँ स्वतन्त्र स्त्रीबाट। 23 तर दासीबाटकोचाहिँ शरीरअनुसार जन्मेको थियो, तर स्वतन्त्र स्त्रीबाटकोचाहिँ प्रतिज्ञाद्वारा जन्म्यो। 24 यी कुराहरू दृष्टान्तको रूपमा छन्, किनकि यिनीहरू दुई वाचाहरू हुन्; एउटाचाहिँ सिनाई पर्वतबाट हो, जसले दासत्वका निम्ति जन्माउँछ, जो हागार हो। 25 किनकि यो हागारचाहिँ अरबमा भएको सिनाई पर्वत हो, र आजकालको यरूशलेमसँग मिल्छे, अनि आफ्ना छोराछोरीहरूसित दासत्वमा छे। 26 तर माथिको यरूशलेम स्वतन्त्र छ; ऊचाहिँ हामी सबैकी आमा हो। 27 किनकि यो लेखिएको छ:
‘हे सन्तान नजन्माउने बाँझी, आनन्द गर; हे प्रसूति-वेदना नहुने, मन खोलेर चिच्च्याऊ; किनकि त्यागिएकी स्त्रीका सन्तानहरूचाहिँ पति भएकी स्त्रीका भन्दा धेरै बढ़्ता छन्।’ग
28 अब भाइहरूहो, हामीचाहिँ इसहाकजस्तो प्रतिज्ञाका सन्तानहरू हौं। 29 तर जसरी त्यस समयमा शरीरअनुसार जन्मेकोले आत्माअनुसार जन्मेकोलाई सताउँथ्यो, त्यस्तै अहिले पनि हुन्छ। 30 तैपनि पवित्र शास्त्रले के भन्छ?
‘दासीलाई र त्यसको छोरालाई निकालिदिनुहोस्, किनकि दासीको छोरो स्वतन्त्र स्त्रीको छोराको साथमा हकवाला हुनेछैन।’घ
31 यसर्थ हे भाइहरूहो, हामी दासीका सन्तानहरू होइनौं, तर स्वतन्त्र स्त्रीका हौं।