स्वतन्‍त्रताको सुरक्षा
5
यसकारण जुन स्वतन्‍त्रताद्वारा ख्रीष्‍टले हामीलाई स्वतन्‍त्र पार्नुभयो, त्यसैमा बलियो गरी खड़ा होओ, र फेरि दासत्वको जुवामुनि नजेलिओ! 2 हेर, म पावल तिमीहरूलाई भन्दछु: यदि तिमीहरूले खतना गरायौ भने ख्रीष्‍टबाट तिमीहरूलाई केही लाभ हुनेछैन। 3 किनकि म फेरि खतना भएको हरेक मानिसलाई चेताउनी दिन्छु: सारा व्यवस्था पालन गर्नका निम्ति ऊ ऋणी हुन्छ 4 तिमीहरू जसले व्यवस्थाबाट धर्मी हुन चाहन्छौ, तिमीहरू ख्रीष्‍टबाट अलग भएका छौ, तिमीहरू अनुग्रहबाट खसेका छौ। 5 किनकि आत्माद्वारा हामी विश्‍वासले धार्मिकताको आशाको बाटो हेर्दछौं। 6 किनकि ख्रीष्‍ट येशूमा न खतना न ता विनाखतना केही कामको छ, तर विश्‍वास, जसले प्रेमद्वारा काम गर्छ।
7 तिमीहरू राम्ररी दगुरिरहेका थियौ; सत्यतालाई नमान्‍नू भनेर कसले तिमीहरूलाई बाधा दियो? 8 तिमीहरूलाई बोलाउनुहुनेबाट यो ललाइ-फकाइ भएको होइन। 9 अलिकति खमीरले जम्मै ढिकालाई खमीरी बनाइदिन्छ। 10 तिमीहरू अर्कै मनका हुनेछैनौ भनेर प्रभुमा तिमीहरूमाथि मेरो भरोसा छ; तर जसले तिमीहरूलाई गड़बड़ीमा पार्छ, त्यो जोसुकै होस्, त्यसले दण्ड भोग्‍नेछ।
11 तर भाइहरूहो, म अझै पनि खतनाको प्रचार गर्छु भने म किन अझै सतावटमा पर्छु त? तब क्रूसको ठक्‍करको कारण समाप्‍त हुन्छ। 12 तिमीहरूलाई गड़बड़ीमा पार्नेहरू त बरु काटिएका भए हुनेथियो!
13 किनभने भाइहरूहो, स्वतन्‍त्रताका निम्ति तिमीहरू बोलाइएका छौ; तर यति होस्: यो स्वतन्‍त्रता शरीरका लागि मौका नबनोस्, तर प्रेमद्वारा एक-अर्काको सेवा गर! 14 किनकि सारा व्यवस्था एउटै वचनमा अर्थात्‌ ‘तिमीले आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर’ भन्‍ने कुरामा पूरा हुन्छ। 15 तर यदि तिमीहरू एक-अर्कालाई टोक्छौ र निल्छौ भने होशियार, नत्र ता तिमीहरू एक-अर्काद्वारा नष्‍ट होऔला! 16 तर म यो भन्दछु: आत्मामा हिँड़, र तिमीहरूले शरीरको अभिलाषा कुनै रीतिले पूरा गर्नेछैनौ।
शरीरका कामहरू र आत्माको फल
17 किनकि शरीरले आत्माको विरोधमा अभिलाषा गर्दछ, र आत्माले शरीरको विरोधमा; अनि तिमीहरू जे इच्छा गर्दछौ, ती कुराहरू गर्न नसक भनेर यिनीहरू एक-अर्काको विरोधमा छन्। 18 तर तिमीहरू आत्माद्वारा डोर्‍याइँदछौ भने तिमीहरू व्यवस्थाको अधीनतामा छैनौ।
19 अब शरीरका कामहरू प्रकट छन्, ती यी हुन्: परस्त्रीगमन, व्यभिचार, अशुद्धता, कामुकता, 20 मूर्तिपूजा, टुनामुना, शत्रुता, झगड़ा, डाहा, क्रोध, विरोध, फूट, दलबन्दी, 21 द्वेष, हत्या, मतवालापन, मोजमज्जा र यही प्रकारका कुराहरू; जुन कुराहरूको विषयमा म तिमीहरूलाई पहिल्यै भन्दछु, जसरी मैले अघि नै भनिसकेको पनि छु: यस्ता-यस्ता काम गर्नेहरू परमेश्‍वरको राज्यका हकवाला हुनेछैनन्।
22 तर आत्माको फल हो: प्रेम, आनन्द, मेलमिलाप, सहनशीलता, कृपा, भलाइ, विश्‍वास, नम्रता, संयम; 23 यस्ता कुराहरूको विरोधमा कुनै व्यवस्था नै छैन। 24 अनि जो ख्रीष्‍टका हुन्, उनीहरूले शरीरलाई वासना र लालसाहरूसँगै क्रूसमा टाँगेका छन्। 25 यदि हामी आत्मामा जिउँछौं भने हामी आत्मामै हिँड़ौं पनि। 26 एक-अर्कासित जोरी खोज्दै, एक-अर्काप्रति द्वेष राख्दै हामी खोक्रो प्रशंसाको अभिलाषी नबनौं!