अन्तिम चेताउनीहरू
13
अब तेस्रोपल्ट म तिमीहरूकहाँ आइरहेको छु। दुईजना वा तीनजना साक्षीहरूको मुखबाट प्रत्येक कुरा ठहराइनेछ। 2 मैले तिमीहरूलाई पहिल्यै भनें, र दोस्रोपटक मानो उपस्थित भएर अघिबाट म तिमीहरूलाई भन्छु; अनि अहिले अनुपस्थित भएर म ती पहिले पाप गर्नेहरूलाई र अरू सबैजनालाई लेख्दछु: म फेरि आएँ भने म छोड़्‍नेछैनँ; 3 किनकि मद्वारा ख्रीष्‍ट बोल्नुहुन्छ भन्‍ने प्रमाण तिमीहरू खोज्छौ; उहाँ तिमीहरूप्रति कमजोर हुनुहुन्‍न, तर तिमीहरूमा सामर्थी हुनुहुन्छ। 4 किनकि दुर्बलताको कारणले उहाँ क्रूसमा टँगाइनुभएको भए तापनि परमेश्‍वरको सामर्थ्यको कारणले उहाँ जिउनुहुन्छ। किनकि हामी पनि उहाँमा कमजोर छौं, तर परमेश्‍वरको सामर्थ्यद्वारा हामी तिमीहरूप्रति उहाँसँगै जिउनेछौं।
5 तिमीहरू विश्‍वासमा छौ कि छैनौ, आफैलाई जाँच, आफैलाई प्रमाण गर! येशू ख्रीष्‍ट तिमीहरूभित्र हुनुहुन्छ भनी के तिमीहरू आफ्नै विषयमा जान्दैनौ? जान्दैनौ भने तिमीहरू निकम्मा हौ। 6 तर म आशा गर्दछु, हामीचाहिँ निकम्मा होइनौं भनी तिमीहरूले जान्‍नेछौ। 7 अनि तिमीहरूले कुनै खराबी नगर भनी म परमेश्‍वरलाई प्रार्थना गर्दछु; हामी योग्य देखा परौं भनेर होइन, तर हामी निकम्मा ठहरिए तापनि जुन कुरा आदरणीय छ, त्यो तिमीहरूबाट गरियोस् भनेर। 8 किनकि सत्यताको विरोधमा हामी केही गर्न सक्दैनौं, तर सत्यताको पक्षमा सक्छौं। 9 जब हामी कमजोर छौं र तिमीहरू बलिया छौ, तब हामी आनन्दित हुन्छौं। अनि यो पनि हामी इच्छा गर्दछौं, कि तिमीहरू सिद्ध होओ 10 यसकारण उपस्थित हुँदाखेरि प्रभुले मलाई विनाशका निम्ति होइन, तर उन्‍नतिका निम्ति दिनुभएको अधिकारअनुसार कड़ा व्यवहार काममा लाउनु नपरोस् भनेर उपस्थित नहुँदा नै म यी कुराहरू लेख्दछु।
11 अन्तमा भाइहरूहो, आनन्दित होओ, सिद्ध होओ, साहसी होओ, एउटै मनका होओ, मेलमिलापमा बस, र प्रेम र शान्तिका परमेश्‍वर तिमीहरूको साथमा रहनुहुनेछ।
12 पवित्र चुम्बनले एक-अर्कालाई अभिवादन गर! 13 सबै पवित्र जनहरूले तिमीहरूलाई सलाम पठाउँदैछन्।
14 प्रभु येशू ख्रीष्‍टको अनुग्रह, परमेश्‍वरको प्रेम र पवित्र आत्माको सङ्गति तिमीहरू सबैसँग रहून्! आमेन।