कोरिन्थीहरूलाई पावल प्रेरितको पहिलो पत्र
1
परमेश्‍वरको इच्छाद्वारा येशू ख्रीष्‍टको प्रेरित हुनलाई बोलाइएको पावल र भाइ सोस्थेनेसबाट, 2 कोरिन्थमा भएको परमेश्‍वरको मण्डलीलाई अर्थात्‌ उनीहरूलाई, जो ख्रीष्‍ट येशूमा पवित्र पारिएका छन्, जो पवित्र जनहरू हुनलाई बोलाइएका छन्, ती सबैको साथमा, जसले हरेक ठाउँमा हाम्रा प्रभु, उनीहरू र हामी दुवैका प्रभु येशू ख्रीष्‍टको नाम पुकार्दछन्; 3 हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति!
4 तिमीहरूको विषयमा म येशू ख्रीष्‍टद्वारा तिमीहरूलाई दिइएको परमेश्‍वरको अनुग्रहका निम्ति मेरा परमेश्‍वरलाई सधैं धन्यवाद चढ़ाउँछु, 5 किनकि हरेक कुरामा तिमीहरू उहाँद्वारा धनवान्‌ बनाइएका छौ – सारा वचनमा र सारा ज्ञानमा, 6 जसरी ख्रीष्‍टको साक्षी पनि तिमीहरूमा पक्‍का पारिएको थियो; 7 यसैकारण तिमीहरू कुनै पनि अनुग्रहको वरदानमा कम छैनौ, र हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमनको बाटो हेरिरहन्छौ, 8 जसले हाम्रा प्रभु येशू ख्रीष्‍टको दिनमा तिमीहरू निर्दोष होओ भनेर तिमीहरूलाई अन्तसम्म स्थिर पार्नुहुनेछ पनि। 9 परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसद्वारा तिमीहरू उहाँको पुत्र हाम्रा प्रभु येशू ख्रीष्‍टको सङ्गतिमा बोलाइएका छौ।
फाटोसम्बन्धी चेताउनी
10 अब हे भाइहरूहो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नामद्वारा म तिमीहरूलाई आग्रहपूर्वक विन्‍ती गर्दछु, तिमीहरू सबै एउटै कुरा बोल, र तिमीहरूको बीचमा कुनै फाटो नहोस्; तर तिमीहरू एउटै मन र एउटै रायमा बिलकुल मिलेर बस। 11 किनकि हे मेरा भाइहरूहो, तिमीहरूको बीचमा झगड़ा छन् भनेर क्लोएका घरानाकाहरूद्वारा तिमीहरूको विषयमा मलाई बताइएको छ। 12 अब म यो भन्दछु: तिमीहरूमध्ये हरेकले ‘म पावलको हुँ’, ‘म अपोल्‍लोसको हुँ’, ‘म केफासको हुँ’, ‘म ख्रीष्‍टको हुँ’ भन्छौ रे। 13 के ख्रीष्‍ट टुक्रिनुभएको छ? के पावल तिमीहरूका निम्ति क्रूसमा टाँगिएका थिए र? अथवा के पावलको नाममा तिमीहरूको बप्‍तिस्‍मा भएको थियो र? 14 म परमेश्‍वरलाई धन्यवाद दिन्छु, किनकि मैले क्रिस्पस र गायसलाई बाहेक तिमीहरूमध्ये अरू कसैलाई पनि बप्‍तिस्‍मा दिइनँ; 15 नत्र ता कसै-कसैले ‌‘पावलले आफ्नै नाममा बप्‍तिस्‍मा दिएका छन्’ भनी भन्‍नेथियो। 16 अनि स्टिफनसको परिवारलाई पनि मैले बप्‍तिस्‍मा दिएँ; त्योबाहेक अरू कसैलाई मैले बप्‍तिस्‍मा दिएँ कि दिइँन, मलाई थाहा छैन।
क्रूसको प्रचार
17 किनभने ख्रीष्‍टले मलाई बप्‍तिस्‍मा दिन होइन, तर सुसमाचार प्रचार गर्न पठाउनुभयो; शब्दहरूको बुद्धिमा होइन, नत्र ता ख्रीष्‍टको क्रूस विनाकामको पारिनेछ। 18 किनकि क्रूसको प्रचारचाहिँ नष्‍ट हुनेहरूका निम्ति मूर्खता हो, तर हामी मुक्ति पाउनेहरूका निम्ति चाहिँ परमेश्‍वरको सामर्थ्य हो। 19 किनकि यो लेखिएको छ:
‘म बुद्धिमान्‌हरूको बुद्धि नष्‍ट गर्नेछु, र समझदारहरूको समझ शून्य पारिदिनेछु।’
20 खोइ, बुद्धिमान् कहाँ छ? शास्त्री कहाँ छ? यस संसारको तर्क गर्ने नि, कहाँ छ? के परमेश्‍वरले यस संसारको बुद्धिलाई मूर्ख तुल्याउनुभएन र? 21 किनकि परमेश्‍वरको बुद्धिअनुसार, जब संसारले परमेश्‍वरलाई बुद्धिद्वारा चिन्‍न सकेन, तब प्रचारको मूर्खताद्वारा विश्‍वास गर्नेहरूलाई मुक्ति दिनु परमेश्‍वरलाई असल लाग्यो। 22 किनकि यहूदीहरू चिन्ह माग्छन्, र ग्रीकहरू ज्ञान खोज्छन्; 23 तर हामी त क्रूसमा टाँगिनुभएको ख्रीष्‍टको प्रचार गर्दछौं, जो यहूदीहरूका निम्ति ठक्‍करको कारण र ग्रीकहरूका निम्ति मूर्खता हुनुहुन्छ। 24 तर बोलाइएकाहरूका निम्ति – दुवै यहूदीहरू र ग्रीकहरूका निम्ति ख्रीष्‍ट परमेश्‍वरको सामर्थ्य र परमेश्‍वरको बुद्धि हुनुहुन्छ; 25 किनभने परमेश्‍वरको मूर्खता मानिसहरूभन्दा बुद्धिमान् हुन्छ, र परमेश्‍वरको दुर्बलता मानिसहरूभन्दा बलवान् हुन्छ। 26 किनकि हे भाइहरूहो, तिमीहरूले आफ्नो बोलावट विचार गर, शरीरअनुसार धेरैजना बुद्धिमान्, धेरैजना बलवान्, धेरैजना खानदानी बोलाइएका छैनन्। 27 तर परमेश्‍वरले बुद्धिमान्‌हरूलाई शर्ममा पार्नका निम्ति संसारका मूर्ख कुराहरू चुन्‍नुभएको छ; अनि शक्तिशाली कुराहरूलाई शर्ममा पार्नका निम्ति परमेश्‍वरले संसारका कमजोर कुराहरू चुन्‍नुभएको छ; 28 अनि परमेश्‍वरले संसारका नीच कुराहरू र तुच्छ ठानिएका कुराहरू, साथै हुँदै नभएका कुराहरू चुन्‍नुभएको छ, भएका कुराहरूलाई बेकम्मा तुल्याउनका निम्ति; 29 यस हेतुले कि उहाँको सामु कुनै प्राणीले घमण्ड गर्न नपाओस्। 30 तर उहाँद्वारा नै तिमीहरू ख्रीष्‍ट येशूमा छौ, जो परमेश्‍वरपट्टिबाट हाम्रा निम्ति बुद्धि, धार्मिकता, पवित्रता र छुटकारा ठहरिनुभएको छ; 31 यसैले कि लेखिएअनुसार ‘जसले गर्व गर्दछ, उसले प्रभुमा गर्व गरोस्।’