प्रेरित पावलको अभिवादन र अन्तिम चेताउनीहरू
16
हाम्री बहिनी फिबीलाई, जो केंख्रेयामा भएको मण्डलीकी सेविका हुन्, म तिमीहरूको सामु सिफारिस गर्दछु, 2 पवित्र जनहरूलाई सुहाउँदो प्रकारले तिनलाई प्रभुमा स्वागत गर र जुनसुकै कुराको सम्बन्धमा तिनलाई तिमीहरूको खाँचो पर्ला, त्यस कुरामा तिनलाई सहायता गर; किनकि साँच्चै तिनी धेरैजनाकी, साथै मेरी पनि सहायिका भएकी छिन्।3 ख्रीष्ट येशूमा मेरा सहकर्मीहरू प्रिस्किल्ला र अक्विलालाई सलाम भनिदेओ, 4 जसले मेरो प्राणका निम्ति आफ्नै गर्दन दिएका छन्, जसलाई म मात्र धन्यवाद दिँदिनँ, तर सबै अन्यजातिहरूका मण्डलीहरूले पनि दिन्छन्। 5 यही प्रकारले उनीहरूको घरमा भएको मण्डलीलाई पनि सलाम भनिदेओ! मेरा प्रिय एपाइनेतुसलाई पनि सलाम छ, जो ख्रीष्टका निम्ति अखैयाको पहिलो फल हुन्। 6 मरियमलाई सलाम भनिदेओ, जसले हाम्रा निम्ति खूबै मेहनत गरेकी छिन्। 7 मेरा आफन्तहरू, साथै मसँगै झ्यालखानामा बस्नेहरू एन्ड्रोनिकस र युनियसलाई सलाम भनिदेओ, जो प्रेरितहरूको बीचमा नामी छन्, जोचाहिँ मभन्दा पहिल्यै ख्रीष्टमा थिए। 8 प्रभुमा मेरा प्रिय अम्प्लियसलाई सलाम भनिदेओ! 9 ख्रीष्टमा हाम्रा सहकर्मी उर्बानुसलाई, अनि मेरा प्रिय स्टाखुसलाई सलाम भनिदेओ! 10 ख्रीष्टमा योग्य ठहरिएका अपेल्लेसलाई सलाम भनिदेओ! अरिस्तोबुलसका घरकाहरूलाई सलाम भनिदेओ! 11 मेरा आफन्त हेरोदियनलाई सलाम भनिदेओ! नर्किस्ससका घरकाहरूलाई, जो प्रभुमा छन्, सलाम भनिदेओ! 12 ट्रिफैना र ट्रिफोसालाई, जो प्रभुमा मेहनत गर्दछन्, सलाम भनिदेओ! प्रिया पर्सिसलाई, जसले प्रभुमा खूबै मेहनत गरेकी छिन्, सलाम भनिदेओ! 13 प्रभुमा चुनिएका रूफसलाई, अनि उनकी र मेरी आमालाई सलाम भनिदेओ! 14 असिन्क्रिटस, फ्लेगोन, हेर्मास, पत्रोबास, हेर्मेस र उनीहरूसँग भएका भाइहरूलाई सलाम भनिदेओ! 15 फिलोलोगस, युलिया, नेरेयस र उनकी बहिनी, अनि ओलुम्पास र उनीहरूसँग भएका सबै पवित्र जनहरूलाई सलाम भनिदेओ! 16 एक-अर्कालाई पवित्र चुम्बनले अभिवादन गर! ख्रीष्टका मण्डलीहरूले तिमीहरूलाई सलाम पठाएका छन्।
17 अब हे भाइहरूहो, म तिमीहरूलाई विन्ती गर्दछु, जुन शिक्षा तिमीहरूले सिकेका छौ, त्यस शिक्षाको विपरीत फाटो ल्याउने र ठक्कर खुवाउनेहरूलाई चिनिराख र तिनीहरूबाट टाढ़ा बस! 18 किनकि त्यस्ता मानिसहरूले हाम्रा प्रभु येशू ख्रीष्टको सेवा गर्दैनन्, तर तिनीहरूले आफ्नै पेटको सेवा गर्दछन्; अनि मीठा बोलीवचन र चिप्ला कुराहरूद्वारा तिनीहरूले सीधा-सोझाहरूका हृदयहरू धोका दिन्छन्। 19 किनकि तिमीहरूको आज्ञापालनको कुरा सबैकहाँ फैलिएको छ। यसकारण तिमीहरूको विषयमा म आनन्दित छु; तर अझै पनि म चाहन्छु: तिमीहरू असल कुराका निम्ति बुद्धिमान् र खराबका निम्ति सोझा बन! 20 अनि शान्तिका परमेश्वरले चाँड़ै शैतानलाई तिमीहरूका पाउहरूमुनि कुल्चाउनुहुनेछ। हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस्! आमेन।
21 मेरा सहकर्मी तिमोथीले र मेरा आफन्तहरू लुसियस, यासोन र सोसिपाटरले तिमीहरूलाई सलाम पठाउँदैछन्। 22 यो पत्र लेख्ने म, टेर्टियसले पनि तिमीहरूलाई प्रभुमा सलाम पठाउँछु। 23 सम्पूर्ण मण्डलीलाई र मलाई सत्कार गर्ने गायसले तिमीहरूलाई सलाम पठाउँदैछन्। शहरका भण्डारी एरास्टस र भाइ कुआर्टसले सलाम पठाउँदैछन्। 24 हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैसँग रहोस्! आमेन।
25 अब उहाँलाई नै, जोचाहिँ मेरो सुसमाचार र येशू ख्रीष्टको प्रचारअनुसार तिमीहरूलाई स्थिर पार्नलाई सामर्थी हुनुहुन्छ, त्यस रहस्यको प्रकाशअनुसार, जुन प्रकाश संसारको उत्पत्तिदेखिक गुप्त राखिएको थियो, 26 तर अहिले प्रकट भएको छ र अनन्तका परमेश्वरको आज्ञाअनुसार भविष्यवक्ताहरूकाख पवित्रशास्त्रहरूद्वारा विश्वासप्रति आज्ञाकारी बनाउने उद्देश्यले सबै जातिहरूलाई बताइएको छ, 27 यही एक मात्र बुद्धिमान् परमेश्वरलाई नै येशू ख्रीष्टद्वारा सदासर्वदा महिमा भइरहोस्! आमेन।