15
तब हामी बलियाहरूले कमजोरहरूका दुर्बलताहरू सहनुपर्दछ र आफैलाई खुशी पार्नुहुँदैन। 2 हामीमध्ये हरेकले आफ्नो छिमेकीलाई, उसको भलाइका निम्ति उन्नति गराउने हिसाबले खुशी पारौं! 3 किनकि ख्रीष्टले पनि आफैलाई खुशी पार्नुभएन, तर यस्तो लेखिएको छ:‘तपाईंलाई निन्दा गर्नेहरूका निन्दाहरू ममाथि परे।’क
4 किनकि जे-जे कुराहरू पहिल्यै लेखिए, ती कुराहरू हाम्रै शिक्षाका निम्ति लेखिएका थिए, हामीले धीरज र पवित्रशास्त्रहरूको सान्त्वनाद्वारा आशा पाउनख सकौं भनेर। 5 अब धीरज र सान्त्वनाका परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूअनुसार एक-अर्कासित एकै मनका हुने दान दिएका होऊन्, 6 यसैले कि तिमीहरूले एउटै मन र एउटै मुखले परमेश्वरको अर्थात् हाम्रा प्रभु येशू ख्रीष्टका पिताको महिमा गर्न सक। 7 यसकारण तिमीहरूले एक-अर्कालाई ग्रहण गर, जसरी ख्रीष्टले पनि हामीलाई परमेश्वरको महिमाका निम्ति ग्रहण गर्नुभयो।
8 अब म भन्दछु, पितापुर्खाहरूलाई दिइएका प्रतिज्ञाहरू पुष्टि गर्नलाई परमेश्वरको सत्यताका निम्ति येशू ख्रीष्ट खतनाको सेवक हुनुभयो, 9 र अन्यजातिहरूले पनि उहाँको दयाका निम्ति परमेश्वरको महिमा गरून् भनेर, जसरी लेखिएको छ:
‘यसैकारण म अन्यजातिहरूको बीचमा तपाईंलाई स्वीकार गर्नेछु र तपाईंको नामको भजन गाउनेछु।’ग
‘हे सबै अन्यजातिहरूहो, परमप्रभुको प्रशंसा गर; हे सबै मानिसहरूहो, उहाँको तारिफ गर!’ङ
12 अनि फेरि यशैयाले भन्दछन्:
‘यिशाईको एउटा जरा हुनेछ; अनि उहाँ अन्यजातिहरूमाथि राज्य गर्नलाई खड़ा हुनुहुनेछ; उहाँमाथि अन्यजातिहरूले आशा राख्नेछन्।’च
13 अब आशाका परमेश्वरले तिमीहरूलाई विश्वास गरेकोमा सारा आनन्द र शान्तिले भरिदिएका होऊन्, र तिमीहरू पवित्र आत्माको सामर्थ्यद्वारा आशाले प्रशस्त होओ।
14 अनि हे मेरा भाइहरूहो, तिमीहरूको विषयमा म आफू पनि पूरा निश्चित भएको छु, कि तिमीहरू पनि भलाइले भरपूर भएका छौ, सबै ज्ञानले भरिएका छौ, एक-अर्कालाई चेताउनी दिन सक्षम पनि भएका छौ। 15 तर पनि भाइहरूहो, परमेश्वरद्वारा मलाई दिइएको अनुग्रहले गर्दा तिमीहरूलाई सम्झना गराउँदै धेरै साहसिलो भएर मैले तिमीहरूलाई कुनै-कुनै विषयमा लेखेको छु, 16 र अन्यजातिरूपी भेटीचाहिँ पवित्र आत्माद्वारा पवित्र गरिएकोमा ग्रहणयोग्य भएको होस् भनेर पूजाहारीले जस्तो परमेश्वरको सुसमाचारको सेवा गर्दै म अन्यजातिहरूका निम्ति येशू ख्रीष्टको सेवक बनें। 17 यसकारण परमेश्वरसम्बन्धी कुराहरूको विषयमा प्रभु येशू ख्रीष्टमा मलाई गर्व छ। 18 किनकि अन्यजातिहरूलाई आज्ञाकारी बनाउनका निम्ति वचन र कर्मद्वारा, सामर्थी चिन्हहरू र अचम्मका कामहरूद्वारा परमेश्वरको आत्माको सामर्थ्यमा ख्रीष्टले मद्वारा जुन कुराहरू गर्नुभएको छ, ती कुराहरूबाहेक म अरू कुनै कुरा गर्ने साहस गर्नेछैनँ; 19 यसकारण यरूशलेमदेखि र चारैतिर इल्लुरिकुमसम्म मैले ख्रीष्टको सुसमाचार पूरा प्रचार गरेकै हुँ। 20 तर अरूको जगमाथि घर नबनाऊँ भन्ने हेतुले जहाँ-जहाँ ख्रीष्टको नाम लिइएको छैन, त्यहाँ नै मैले सुसमाचार प्रचार गर्ने प्रयत्न गरेको छु; 21 तर जसरी लेखिएको छ: ‘जसलाई उहाँको विषयमा बताइएको थिएन, तिनीहरूले देख्नेछन्; अनि जसले सुनेका छैनन्, तिनीहरूले बुझ्नेछन्।’छ
प्रेरित पावलको रोम जाने योजना
22 यही कारणले नै तिमीहरूकहाँ आउनुदेखि म धेरै पल्ट रोकिएँ। 23 तर अबचाहिँ यी इलाकाहरूमा कुनै ठाउँ नरहेको हुनाले, साथै धेरै वर्षदेखि तिमीहरूकहाँ आउने ठूलो इच्छा भएको हुनाले, 24 जब म स्पेनको यात्रा गरुँला, तब म तिमीहरूकहाँ आउनेछु; किनकि मेरो यात्रामा तिमीहरूलाई भेट्ने र तिमीहरूको सङ्गतिद्वारा पहिले केही मात्रामा तृप्त भएपछि तिमीहरूद्वारा त्यहाँसम्म पुर्याइने आशा गर्दछु। 25 तर अहिलेचाहिँ पवित्र जनहरूको सेवा गर्नलाई म यरूशलेम जान्छु। 26 किनकि म्यासिडोनिया र अखैयामा भएकाहरूलाई यरूशलेममा भएका गरिब पवित्र जनहरूका निम्ति केही चन्दा दिन असल लागेको छ। 27 यस कुरामा यिनीहरू साँच्चै खुशी छन्, र यिनीहरू तिनीहरूका ऋणी पनि हुन्; किनकि अन्यजातिहरू तिनीहरूका आत्मिक कुराहरूका भागी भएका छन् भने शारीरिक कुराहरूमा तिनीहरूको सेवा गर्नु पनि उनीहरूको कर्तव्य हो। 28 यसकारण यो काम पूरा गरेपछि र यो फलज तिनीहरूलाई सुम्पिसकेपछिझ म तिमीहरूकहाँबाट भएर स्पेन जानेछु। 29 अनि म निश्चित छु, तिमीहरूकहाँ आउँदा म ख्रीष्टको सुसमाचारको आशिषको भरपूरीमा आउनेछु।
30 अब हे भाइहरू, हाम्रा प्रभु येशू ख्रीष्टद्वारा र आत्माको प्रेमद्वारा म तिमीहरूलाई विन्ती गर्दछु: मेरा निम्ति परमेश्वरलाई प्रार्थना गर्नमा मसँगै मिलेर यस हेतुले संघर्ष गर, 31 कि म यहूदियामा भएका विश्वास नगर्नेहरूको हातबाट उम्कूँ, र यरूशलेमका निम्ति मेरो जुन सेवा छ, त्यो सेवा पवित्र जनहरूका लागि ग्रहणयोग्य भएको होस्, 32 र म परमेश्वरको इच्छाद्वारा आनन्दसाथ तिमीहरूकहाँ आउन सकूँ र तिमीहरूसँग-सँगै ताजा हुन सकूँ। 33 अब शान्तिका परमेश्वर तिमीहरू सबैसँग रहून्। आमेन!