एक-अर्काको न्याय नगरौं!
14
जो विश्वासमा कमजोर छ, उसलाई ग्रहण गर, तर शङ्कापूर्ण कुराहरूको विषयमा वादविवाद गर्नलाई होइन; 2 किनकि म सबै कुराहरू खान सक्छु भनी एकजनाले विश्वास गर्दछ; तर अर्कोले, जो कमजोर छ, सागपात खान्छ। 3 जसले खान्छ, त्यसले नखानेलाई तुच्छ नठानोस्; अनि जसले खाँदैन, त्यसले खानेलाई न्याय नगरोस्; किनकि परमेश्वरले त्यसलाई ग्रहण गर्नुभएको छ। 4 अर्काको नोकरलाई न्याय गर्ने तिमी को हौ? ऊ आफ्नै मालिकका निम्ति खड़ा हुन्छ कि पतित हुन्छ। तर ऊ खड़ा गराइने नै छ, किनकि उसलाई खड़ा गराउनका निम्ति परमेश्वर सामर्थी हुनुहुन्छ। 5 कसैले एउटा दिन अर्को दिनभन्दा ठूलो मान्छ; अर्कोले सबै दिनहरू एकनास ठान्छ। हरेक आफ्नै मनमा पूरा निश्चित होस्। 6 जसले दिन मान्छ, उसले प्रभुकै निम्ति मान्छ; अनि जसले दिन मान्दैन, उसले प्रभुकै निम्ति मान्दैन। जसले खान्छ, उसले प्रभुकै निम्ति खान्छ; किनकि उसले परमेश्वरलाई धन्यवाद चढ़ाउँछ; अनि जसले खाँदैन, उसले प्रभुकै निम्ति खाँदैन, र परमेश्वरलाई धन्यवाद चढ़ाउँछ। 7 किनभने हामीमध्ये कोही पनि आफ्नै निम्ति जिउँदैन र कोही पनि आफ्नै निम्ति मर्दैन। 8 किनकि हामी जिउँछौं भने प्रभुकै निम्ति जिउँछौं; अनि हामी मर्छौं भने प्रभुकै निम्ति मर्छौं; यसकारण चाहे बाँचौं, चाहे मरौं, हामी प्रभुकै हौं। 9 किनकि मरेका र जिउँदा दुवैका प्रभु हुनका निम्ति नै ख्रीष्ट मर्नुभयो, बौरी उठ्नुभयो र फेरि जीवित हुनुभयो। 10 तर तिमी किन आफ्नो भाइको न्याय गर्दछौ? अथवा तिमी किन आफ्नो भाइलाई तुच्छ ठान्दछौ? किनकि हामी सबैजना ख्रीष्टको न्यायआसनको सामु उभिनेछौं। 11 किनकि लेखिएको छ:‘परमप्रभु भन्नुहुन्छ, “म जीवित छुक, यसकारण मेरो सामु हरेक घुँड़ा टेकिनेछ, र हरेक जिब्रोले परमेश्वरलाई स्वीकार गर्नेछ।” ’ख
12 यसैकारण हामीमध्ये हरेकले परमेश्वरलाई आ-आफ्नो लेखा दिनेछ।
एक-अर्कालाई ठक्कर नखुवाऔं!
13 यसकारण अबदेखि उसो एक-अर्काको न्याय नगरौं, तर बरु आफ्नो भाइको बाटोमा कुनै ठेस लाग्ने कुरा वा कुनै ठक्कर दिने कारण राख्दैनौं भन्ने संकल्प गरौं। 14 म जान्दछु, र प्रभु येशूमा म निश्चित छु, कि कुनै पनि कुरा आफै-आफ अशुद्ध हुँदैन; तर जसले कुनै कुरा अशुद्ध ठान्छ, उसैका लागि मात्र त्यो अशुद्ध हुन्छ। 15 तर यदि तिम्रो भाइ तिम्रो खानेकुराको कारणले दुःखित हुन्छ भने तिमी प्रेममा हिँड़िरहेका हुँदैनौ। जसका निम्ति ख्रीष्ट मर्नुभयो, उसलाई आफ्नो खानेकुराद्वारा नष्ट नगर! 16 यसकारण तिमीहरूको भलाइको निन्दा हुन नदेऊ! 17 किनकि परमेश्वरको राज्य खानु-पिउनु होइन, तर पवित्र आत्मामा धार्मिकता, मेलमिलापग र आनन्द हो। 18 किनकि जसले यी कुराहरूमा ख्रीष्टको सेवा गर्दछ, ऊ परमेश्वरका निम्ति मनपर्दो र मानिसहरूका निम्ति स्वीकारयोग्य हुन्छ। 19 यसकारण हामी मेलमिलापकाघ कुराहरू र एक-अर्काको उन्नति गर्ने कुराहरूको पछि लागौं! 20 खानेकुराका लागि परमेश्वरको काम नष्ट नगर! वास्तवमा सबै कुराहरू शुद्ध हुन्छन्, तर त्यस मानिसका निम्ति खराब हो, जसले खाँदाखेरि ठेस खान्छ। 21 मासु नखानु, वा दाखमद्य नपिउनु, वा त्यस किसिमको कुनै काम नगर्नु नै असल हो, जसद्वारा तिम्रो भाइलाई ठेस लाग्छ, पतित हुन्छ, वा कमजोर पारिन्छ। 22 के तिमीसँग विश्वास छ? यसलाई परमेश्वरको सामु आफैसँग राख! त्यो मानिस धन्य हो, जसले आफूले स्वीकार गरेको कुरामा आफूलाई दोषी ठहराउँदैन। 23 अनि शङ्का गर्नेले खायो भने ऊ दोषी ठहरिन्छ, किनभने उसले विश्वाससित खाएन; किनकि हरेक कुरा, जुनचाहिँ विश्वासबाटको होइन, त्यो पाप हो।