सरकारी अधिकारीहरूको अधीनतामा बस!
13
हरेक मानिस उच्च अधिकारीहरूको अधीनतामा रहोस्। किनकि कुनै अधिकारी नै छैन, जो परमेश्वरबाटको होइन; अनि जुन अधिकारीहरू छन्, ती अधिकारीहरू परमेश्वरद्वारा नियुक्त गरिएका हुन्। 2 यसकारण जसले अधिकारीको विरोध गर्दछ, त्यसले परमेश्वरकै विधिलाई विरोध गर्दछ; अनि विरोध गर्नेहरूले आफूमाथि दण्ड ल्याउनेछ। 3 किनकि शासकहरू असल कामहरूका निम्ति होइन, तर खराब कामहरूका निम्ति डरका कारण हुन्। के तिमी अधिकारीसँग डराउन चाहँदैनौ? असल काम गर, र तिमीले अधिकारीबाट प्रशंसा पाउनेछौ। 4 किनकि तिनी भलाइका निम्ति तिम्रा लागि परमेश्वरको सेवक हुन्। तर तिमी खराब काम गर्दछौ भने डराऊ; किनकि तिनले व्यर्थमा तरवार भिर्दैनन्; किनकि तिनी त खराब काम गर्नेमाथि क्रोध प्रकट गरी बदला लिने परमेश्वरको सेवक हुन्। 5 यसकारण तिमीहरू क्रोधको कारणले मात्र होइन, तर विवेकको कारणले पनि अधीनतामा रहनुपर्छ। 6 किनभने यही कारणले गर्दा तिमीहरूले कर पनि तिर्दछौ, किनकि तिनीहरू यही काममा निरन्तर लागिरहने परमेश्वरका सेवकहरू हुन्। 7 यसकारण सबैलाई, तिनीहरूलाई दिनुपर्ने कुरा देओ: जसलाई कर दिनुपर्दछ, कर; जसलाई भन्सार दिनुपर्दछ, भन्सार; जसलाई डर दिनुपर्दछ, डर; जसलाई आदर दिनुपर्दछ, आदर देओ!प्रेम व्यवस्थाको पूर्ति हो
8 एक-अर्कालाई प्रेम गर्नुबाहेक अरू कुनै पनि कुरामा कसैको ऋणी नहोओ; किनकि जसले अर्कालाई प्रेम गर्दछ, उसैले व्यवस्था पूरा गरेको हुन्छ। 9 किनकि ‘व्यभिचार नगर्नू’, ‘हत्या नगर्नू’, ‘चोरी नगर्नू’, ‘झूटो गवाही नदिनू’, ‘लोभ नगर्नू’ भन्ने आज्ञा र अरू कुनै आज्ञा छ भने ती सबैको सार यही कुरामा अर्थात् ‘तिमीले आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर्नू’क भन्ने कुरामा पाइन्छ। 10 प्रेमले आफ्नो छिमेकीको कुनै खराबी गर्दैन; यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो।
11 अनि समयलाई चिन! अब त निद्राबाट बिउँझने घड़ी आइसकेको छ; किनकि अहिले हाम्रो मुक्ति हामीले विश्वास गरेको समयभन्दा नजिकै छ। 12 रात धेरै बितिसक्यो, दिन नजिकै आइपुगेको छ; यसकारण अन्धकारका कामहरू फालौं र ज्योतिका हतियार भिरौं। 13 दिनमा जस्तै गरेर हामी इमानदार भएर हिँड़ौं; मोजमज्जा र मतवालापनमा होइन, व्यभिचार र कामुकतामा पनि होइन, न ता झगड़ा र डाहामा नै। 14 तर प्रभु येशू ख्रीष्टलाई पहिर; अनि कुकामनाहरूख पूरा गर्नलाईग शरीरका लागि कुनै प्रबन्ध नगर!