परमेश्‍वरका निम्ति हामी जीवित बलिदान हुनुपर्छ
12
यसकारण भाइहरूहो, परमेश्‍वरका कृपाहरूद्वारा म तिमीहरूलाई विन्‍ती गर्दछु: तिमीहरूले आफ्ना शरीरहरू पवित्र, परमेश्‍वरलाई मनपर्ने, जिउँदो बलिदानको रूपमा चढ़ाइदेओ; यही तिमीहरूको समुचित सेवा हो। 2 अनि यस संसारसित एकनासे नहोओ, तर परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ, सो जाँचेर थाहा पाउनलाई आफ्नो मनको नयाँ हुवाइद्वारा तिमीहरू बदली हुँदै जाओ। 3 किनकि मलाई दिइएको अनुग्रहद्वारा म तिमीहरूको बीचमा भएको हरेक मानिसलाई भन्दछु: आफ्नो विषयमा जति सोच्‍नुपर्दछ, त्योभन्दा बढ़ी नसोच; तर परमेश्‍वरले हरेकलाई बाँड़िदिनुभएको विश्‍वासको नापअनुसार सचेत भएर सोच। 4 किनकि जसरी एउटा शरीरमा हाम्रा धेरै अङ्गहरू हुन्छन्, अनि सबै अङ्गहरूको एकै प्रकारको काम हुँदैन, 5 त्यसरी नै हामी धेरै भएर पनि ख्रीष्‍टमा एउटै शरीर हौं र हरेक एक-अर्काका अङ्ग हौं। 6 तब हामीलाई दिइएको अनुग्रहअनुसार हामीले बेग्ला-बेग्लै किसिमका दानहरू पाएका छौं; भविष्यवाणीको दान हो भने विश्‍वासको मात्राअनुसार हामी भविष्यवाणी गरौं; 7 अथवा सेवाको दान हो भने हामी सेवामा लागिरहौं; अथवा जसले सिकाउँछ, ऊ सिकाउनमा लागिरहोस्; 8 अथवा जसले अर्ती दिन्छ, ऊ अर्ती दिनमा लागिरहोस्; जसले दिन्छ, उसले मन खोलेर देओस्; जसले अगुवाइ गर्छ, उसले यत्‍नसित यसो गरोस्; जसले कृपा देखाउँछ, उसले हर्षसित यो देखाओस्!
ख्रीष्‍टीय आचार-व्यवहार
9 प्रेम निष्कपट होस्! खराब कुरालाई घृणा गर; जुन कुरा असल हो, त्यस कुरामा टाँसिरहो। 10 भ्रातृप्रेमले एक-अर्कालाई कोमलतापूर्वक माया गर; आदर गर्नमा एक-अर्कोलाई उछिन। 11 प्रयत्‍न गर्नमा अल्छे नहोओ; आत्मामा जोशिला होओ; प्रभुको सेवा गरिरहो; 12 आशामा आनन्दित होओ; सङ्कष्‍टमा स्थिर रहो; प्रार्थनामा दृढ़तापूर्वक लागिरहो। 13 पवित्र जनहरूका खाँचोहरूमा सहायता गर; पाहुनाहरूको अतिथि-सत्‍कार गर्नमा लागिरहो। 14 तिमीहरूलाई सताउनेहरूलाई आशिष देओ; आशिष देओ, र श्राप नदेओ। 15 आनन्द मनाउनेहरूसँग आनन्द मनाओ, र रुनेहरूसँग रोओ। 16 एक-अर्कासँग एकै मनका होओ। अल्गा कुराहरूमा मन नलगाओ, तर नम्रहरूतर्फ झुक। आफ्नो दृष्‍टिमा बुद्धिमान् नहोओ। 17 खराबको बदलामा कसैलाई खराब नगर। सबै मानिसहरूको दृष्‍टिमा भला देखिने कुराहरूको पहिलेदेखि चिन्ता गर। 18 सम्भव भए तिमीहरूबाट जहाँसम्म हुन सक्छ, सबै मानिसहरूसँग मेलमिलापमा बस। 19 हे प्रियहो, तिमीहरू आफैले बदला नलेओ, तर बरु क्रोधलाई ठाउँ देओ; किनकि लेखिएको छ: ‘बदला लिने काम मेरो हो, म नै बदला दिनेछु, परमप्रभु* भन्‍नुहुन्‍छ।’ 20 यसकारण ‘तिम्रो शत्रु भोकाउँछ भने त्यसलाई खान देऊ; यदि त्यो तिर्खाउँछ भने त्यसलाई पिउन देऊ; किनकि यसो गर्नाले तिमीले त्यसको टाउकोमाथि आगोको भुङ्ग्रोको रास लाउनेछौ।’ 21 खराबीसँग नहार, तर भलाइले खराबीलाई जित!