सबै इस्राएलीहरू त्यागिँदैनन्
11
तब म भन्दछु: के परमेश्‍वरले आफ्ना जनहरूलाई त्याग्‍नुभएको हो? कदापि होइन! किनकि म पनि अब्राहामको वंशको, बेन्यामीन कुलको इस्राएली हुँ। 2 परमेश्‍वरले आफ्ना जनहरूलाई, जसलाई उहाँले पहिले जान्‍नुभएको थियो, त्याग्‍नुभएको छैन। एलियाको विषयमा पवित्रशास्त्रले के भन्दछ, के तिमीहरूलाई थाहा छैन? कसरी उनले इस्राएलको विरोधमा यसो भन्दै परमेश्‍वरलाई विन्‍ती गर्छन्:
3 ‘हे प्रभु, तिनीहरूले तपाईंका भविष्यवक्ताहरूलाई मारेका छन् र
तपाईंका वेदीहरू भत्काएका छन्; अनि म एकलै बाँकी रहेको छु, र तिनीहरू मेरो प्राणको खोजीमा छन्।’
4 तर परमेश्‍वरको जवाफले उनलाई के भन्दछ?
‘मैले मेरा निम्ति सात हजार मानिसहरूलाई जोगाइराखेको छु, जसले बालको सामु घुँडा टेकेका छैनन्।’
5 तब यही प्रकारले यस वर्तमान समयमा पनि अनुग्रहको चुनाउअनुसार बाँकी रहेको भाग छँदैछ। 6 तर अनुग्रहद्वारा हो भने यो कामहरूद्वारा हुँदै होइन, नत्र ता अनुग्रह अनुग्रह नै होइन। तर योचाहिँ कामहरूद्वारा हो भने यो अनुग्रह नै होइन; नत्र ता काम काम नै होइन। 7 तब के भयो त? इस्राएलले आफूले खोजेको कुरा पाएन; तर चुनाउले पायो, र अरूहरूचाहिँ अन्धा पारिए; 8 लेखिएको अनुसार:
‘आजको दिनसम्म परमेश्‍वरले तिनीहरूलाई निद्राको आत्मा, नदेख्‍नलाई आँखाहरू र नसुन्‍नलाई कानहरू दिनुभएको छ।’
9 अनि दाऊद भन्दछन्:
‘तिनीहरूको टेबल तिनीहरूका निम्ति पासो, धराप, ठक्‍करको कारण र बदला लिने वस्तु बनोस्। 10 तिनीहरूले नदेख्‍नलाई तिनीहरूका आँखाहरू अँध्यारा होऊन्, र तिनीहरूका पिठ्यूँ सधैं झुकाइराख्‍नुहोस्!’
कलमबाट इस्राएलीहरू त्यागिएको उद्देश्य बुझिन्‍छ
11 तब म भन्दछु: के लोटून् भनेर नै तिनीहरूले ठेस खाएका हुन् त? कदापि होइन! तर तिनीहरू लोटेका कारणले अन्यजातिहरूकहाँ मुक्ति आएको छ, तिनीहरूमा डाहा पैदा गर्नलाई। 12 अब यदि तिनीहरूको लोट्नुचाहिँ संसारको धन ठहरियो भने, र तिनीहरूको घट्तीचाहिँ अन्यजातिहरूको सम्पत्ति हुन गयो भने तिनीहरूको भरपूरीचाहिँ झन् कति बढ़ी हुनेथियो? 13 किनकि म तिमी अन्यजातिहरूसँग बोल्दछु, म अन्यजातिहरूको प्रेरित भएको हुनाले म आफ्‍नो सेवाको बढ़ाइ गर्दछु, 14 कुनै न कुनै प्रकारले मेरा आफ्नै शारीरिक दाजुभाइहरूमा डाहा पैदा गराउन र तिनीहरूमध्ये कतिलाई बचाउन सकूँ। 15 किनकि तिनीहरूको अफालिनुचाहिँ संसारको मेल हुनु ठहरियो भने तिनीहरूको ग्रहण गरिनुचाहिँ मरेकाहरूबाट जीवन नठहरिए अरू के होला त? 16 किनकि पहिलो फल पवित्र ठहरियो भने ढिका पनि पवित्र ठहरिन्छ; अनि जरा पवित्र ठहरियो भने हाँगाहरू पनि त्यस्तै ठहरिन्छन्। 17 अनि हाँगाहरूमध्ये कति भाँचिए, र तिमी जङ्गली जैतुनको रूख भएर तिनीहरूमा कलम गाँसियौ भने, र तिनीहरूसित त्यस जैतुनको रूखका जरा र पोषिलो रसको भागी भयौ भने, 18 ती हाँगाहरूको विरोधमा घमण्ड नगर! तर तिमी विरोधमा घमण्ड गर्दछौ भने याद राख: तिमीले जरालाई होइन, तर जराले पो तिमीलाई सम्हाल्छ!! 19 तब तिमीले भन्‍नेछौ: ‘म कलम गाँसिन सकूँ भनेर नै ती हाँगाहरू भाँचिए।’ 20 ठीक हो; अविश्‍वासको कारणले तिनीहरू भाँचिए, र तिमीचाहिँ विश्‍वासद्वारा उभिन्छौ। अभिमानी नहोऊ, तर डराऊ; 21 किनभने परमेश्‍वरले यी स्वाभाविक हाँगाहरू बाँकी राख्‍नुभएन भने होशियार होऊ, कहीं उहाँले तिमीलाई पनि बाँकी राख्‍नुहुन्‍न नि! 22 यसकारण परमेश्‍वरको कृपा र कठोरतालाई हेर! ती लोट्नेहरूमाथि कठोरता पर्‍यो, तर तिमीमाथि कृपा, यदि तिमी उहाँको दयामा लागिरह्‍यौ भने; नत्रभने तिमी पनि काटिनेछौ। 23 अनि तिनीहरू अविश्‍वासमा रहेनन् भने तिनीहरू पनि कलम गाँसिनेछन्; किनकि तिनीहरूलाई फेरि कलम गाँस्‍नलाई परमेश्‍वर सामर्थी हुनुहुन्छ। 24 किनकि तिमी पनि स्वभावअनुसार जङ्गली जैतुनको रूखबाट काटिएर स्वभावको विपरीत त्यस असल जैतुनको रूखमा कलम गाँसियौ भने, झन् यी स्वाभाविक हाँगाहरू यिनीहरूको आफ्नै जैतुनको रूखमा कति बढ़्‍ता गरी कलम भएर गाँसिएलान् त?
इस्राएलको त्याग अस्थायी हो
25 किनकि भाइहरूहो, तिमीहरूले कहिं आफूलाई आफ्नो दृष्‍टिमा बुद्धिमान् ठानौला भनेर यस रहस्यको विषयमा तिमीहरू अनजान रहो भन्‍ने इच्छा म गर्दिनँ। जबसम्म अन्यजातिहरूको पूरा संख्या भित्र आउँदैन, तबसम्म इस्राएलमाथि केही मात्रामा अन्धापना आएको हो। 26 अनि यसरी सारा इस्राएलले मुक्ति पाउनेछ, जसरी लेखिएको छ:
‘छुटकारा दिनुहुने सियोनबाट आउनुहुनेछ, र उहाँले याकूबबाट अभक्ति हटाउनुहुनेछ; 27 अनि तिनीहरूसित मेरो वाचा यही हो, जब म तिनीहरूका पापहरू हटाउँला।’
28 सुसमाचारको सम्बन्धमा चाहिँ तिमीहरूको खातिर तिनीहरू शत्रु हुन्; तर चुनाउको सम्बन्धमा चाहिँ पुर्खाहरूको खातिर तिनीहरू प्रिय हुन्। 29 किनकि परमेश्‍वरको अनुग्रहका दानहरू र उहाँको बोलावट नउल्टिने हुन्छन्। 30 किनकि जसरी बितेको समयमा तिमीहरूले परमेश्‍वरलाई विश्‍वास गरेका थिएनौ, तरै पनि अहिले तिनीहरूको अविश्‍वासको कारणले तिमीहरूले कृपा पाएका छौ; 31 त्यसरी नै तिमीहरूले पाएको कृपाको कारणले तिनीहरूले पनि कृपा पाऊन् भनेर तिनीहरूले पनि अहिले विश्‍वास गरेका छैनन्। 32 किनकि सबैलाई दया देखाउने उद्देश्यले नै परमेश्‍वरले सबैलाई अविश्‍वासभित्र थुनेर राख्‍नुभएको छ।
33 आहा, परमेश्‍वरको बुद्धि र ज्ञानरूपी धन कति गहिरो छ! उहाँका न्यायहरू कति अथाह छन् र उहाँका मार्गहरू कति अगम्य! 34 ‘किनकि कसले पो परमप्रभुको मन जानेको छ र? अथवा को पो उहाँको सल्‍लाहकार भएको छ र?’ 35 अथवा कसले पो उहाँलाई पहिले दिएको छ, र फेरि उसलाई फिर्ता दिइएला? 36 किनभने सबै कुराहरू उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन्; उहाँलाई नै सदासर्वदा महिमा होस्! आमेन!