10
भाइहरूहो, मेरो हृदयको चाहना र इस्राएलका लागि परमेश्वरप्रतिको प्रार्थना यो हो: तिनीहरूले मुक्ति पाऊन्। 2 किनकि म तिनीहरूको विषयमा गवाही दिन्छु: परमेश्वरका निम्ति तिनीहरूसित जोश त छ, तर ज्ञानअनुसार चाहिँ होइन। 3 किनकि परमेश्वरको धार्मिकताको विषयमा अनजान रहेर र आफ्नै धार्मिकता स्थापित गर्न खोजेर तिनीहरूले आफूलाई परमेश्वरको धार्मिकताको अधीनतामा सुम्पेनन्। 4 किनकि विश्वास गर्ने हरेक जनका लागि धार्मिकताका निम्ति ख्रीष्ट नै व्यवस्थाको अन्त हुनुहुन्छ। 5 किनकि मोशाले व्यवस्थाबाट हुने धार्मिकताको विषयमा लेख्दछन्: ‘जुन मानिसले ती कुराहरू गर्दछ, त्यो मानिस तीद्वारा नै जिउनेछ।’क 6 तर विश्वासद्वारा हुने धार्मिकताले यसो भन्दछ: ‘आफ्नो मनमाख नभन, “माथि स्वर्गमा को जाला र?” ’ग (अर्थात् ख्रीष्टलाई माथिबाट तल ल्याउनलाई) 7 अथवा “गहिरोमा को ओर्लेला र?”ग (अर्थात् ख्रीष्टलाई मरेकाहरूबाट माथि ल्याउनलाई) 8 तर यसले के भन्दछ? ‘वचन तिम्रै नजिकमा, तिम्रै मुखमा र तिम्रै हृदयमा छ;’ग (अर्थात् विश्वासको त्यो वचन, जुन वचन हामी प्रचार गर्दछौं); 9 यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्यौ भने, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिमीले मुक्ति पाउनेछौ। 10 किनकि धार्मिकताका निम्ति हृदयले विश्वास गरिन्छ, र मुक्तिका निम्ति मुखले स्वीकार गरिन्छ। 11 किनकि पवित्रशास्त्रले भन्दछ:‘उहाँमाथि विश्वास गर्ने हरेक शर्ममा पर्नेछैन।’घ
12 किनकि यहूदी र ग्रीकमा कुनै भिन्नता छैन; किनभने उहाँ जो सबैका प्रभु हुनुहुन्छ, उहाँ आफूलाई पुकार्नेहरू सबैका निम्ति धनवान् हुनुहुन्छ। 13 किनकि प्रभुको नाम पुकार्ने हरेकले मुक्ति पाउनेछ। 14 तब जसमाथि तिनीहरूले विश्वास गरेका छैनन्, उहाँलाई तिनीहरूले कसरी पुकार्लान् त? अनि जसको विषयमा तिनीहरूले सुनेकै छैनन्, उहाँमाथि तिनीहरूले कसरी विश्वास गर्लान् त? अनि प्रचारकविना तिनीहरूले कसरी सुन्लान् त? 15 अनि उनीहरू पठाइँदै पठाइएनन् भने उनीहरूले कसरी प्रचार गर्लान् त? जसरी लेखिएको छ:
‘शान्तिको सुसमाचार प्रचार गर्ने र असल कुराहरूको शुभ समाचार ल्याउनेहरूका पाउहरू कति सुन्दर!’ङ
16 तर सबैले सुसमाचार पालन गरेका छैनन्; किनकि यशैया भन्दछन्:
‘हे प्रभु, हाम्रो समाचार कसले विश्वास गरेको छ र?’च
17 यसकारण विश्वास सुनाइद्वाराछ आउँछ, र सुनाइचाहिँ परमेश्वरको वचनद्वारा आउँछ। 18 तर म भन्दछु: के तिनीहरूले सुनेका छैनन् र? अँ, साँच्चै तिनीहरूले सुनेकै छन्:
‘उनीहरूको सोर सारा पृथ्वीभरि र उनीहरूका वचनहरू संसारका छेउ-छेउसम्म फैलिएका छन्।’ज
19 तर म भन्दछु, के इस्राएललाई थाहा थिएन र? पहिले त मोशाले भन्दछन्:
‘जो जाति नै होइनन्, तिनीहरूद्वारा म तिमीहरूमा डाहा पैदा गरिदिनेछु, र एउटा मूर्ख जातिद्वारा म तिमीहरूलाई रिस उठाइदिनेछु।’झ
20 तर यशैया साह्रै साहसी छन्, र भन्दछन्:
‘जसले मलाई खोजेनन्, तिनीहरूद्वारा म भेट्टाइएँ; जसले मेरो विषयमा खोजीनिधी गरेनन्, तिनीहरूकहाँ म प्रकट भएँ।’ञ
21 तर इस्राएललाई चाहिँ उनी भन्दछन्: ‘दिनभरि मैले एउटा आज्ञापालन नगर्ने र विरोधी जातितिर आफ्ना हातहरू पसारेको छु।’ट