चुन्‍नुहुनेचाहिँ परमेश्‍वर स्‍वयम् हुनुहुन्‍छ
9
म ख्रीष्‍टमा साँचो भन्दछु, झूट बोल्दिनँ; मेरो विवेकले पनि पवित्र आत्मामा मसित गवाही दिन्छ, 2 कि मेरो हृदयमा भारी शोक र नटुङ्गिने पीड़ा छ। 3 किनकि मेरा भाइहरूका निम्ति, जो शरीरअनुसार मेरा आफन्तहरू हुन्, बरु म नै ख्रीष्‍टबाट श्रापित भएको भए हुन्थ्यो भन्‍ने इच्छा म गर्दथें; 4 उनीहरू इस्राएली हुन्; धर्मपुत्र हुने हक, महिमा, वाचाहरू, व्यवस्था दिने काम, परमेश्‍वरको सेवा र प्रतिज्ञाहरू उनीहरूकै हुन्; 5 पुर्खाहरू पनि उनीहरूकै हुन्, र उनीहरूबाट शरीरअनुसार ख्रीष्‍ट पनि आउनुभयो, जोचाहिँ सर्वोच्‍च, सदासर्वदै धन्य परमेश्‍वर हुनुहुन्छ। आमेन!
6 तर परमेश्‍वरको वचन व्यर्थ भयो भन्‍ने कुरा होइन; किनभने जो इस्राएलकै वंशका हुन्, उनीहरू सबै इस्राएली होइनन्; 7 उनीहरू अब्राहामकै वंशका भए तापनि उनीहरू सबै सन्तान होइनन्; तर ‘इसहाकमै तिम्रो वंशको नाम लिइनेछ।’ 8 अर्थात्‌ जो-जो शरीरका सन्तानहरू हुन्, तिनीहरू परमेश्‍वरका सन्तान होइनन्; तर प्रतिज्ञाका सन्तानहरूचाहिँ वंश ठहरिन्छन्। 9 किनकि प्रतिज्ञाको वचन यो हो: ‘यस समयमा म आउनेछु र साराको एउटा छोरा हुनेछ।’ 10 अनि यो मात्र होइन, तर रिबेक्‍का पनि जब एकजनाद्वारा अर्थात्‌ हाम्रा पिता इसहाकद्वारा गर्भवती भएकी थिइन्, 11 (किनकि बालकहरू नजन्मीकनै, कुनै असल वा खराब नगरीकनै परमेश्‍वरको मनसायचाहिँ चुनाउअनुसार स्थिर रहोस्, कामहरूबाट होइन, तर बोलाउनुहुनेबाट भएको होस्), 12 तब तिनलाई यो कुरा भनियो: ‘जेठाले कान्छाको सेवा गर्नेछ।’ 13 जसरी लेखिएको छ: ‘याकूबलाई मैले प्रेम गरेको छु, तर एसावलाई मैले घृणा गरेको छु।’
14 तब हामी के भनौं? के परमेश्‍वरसँग अधर्म छ त? कदापि छैन! 15 किनकि उहाँले मोशालाई भन्‍नुभयो: ‘जसलाई म कृपा गर्न चाहन्छु, उसलाई म कृपा गर्नेछु; जसलाई म दया देखाउन चाहन्छु, उसलाई म दया देखाउनेछु।’ 16 यसकारण अब यो कुरा न ता इच्छा गर्नेको, न ता दौड़ादौड़ी गर्नेको, तर कृपा देखाउनुहुने परमेश्‍वरको हो। 17 किनभने पवित्रशास्त्रले फाराओलाई भन्दछ: ‘मेरो सामर्थ्य म तँमा प्रकट गरूँ, र सारा पृथ्वीभरि मेरो नामको प्रचार होस् भन्‍ने उद्देश्यले मैले तँलाई उठाएको हुँ।’ 18 यसकारण जसलाई उहाँले कृपा दिन चाहनुहुन्छ, उसैलाई दिनुहुन्छ; अनि जसलाई उहाँले कठोर पार्न चाहनुहुन्छ, त्यसलाई पार्नुहुन्छ। 19 तब तिमीले मलाई भन्‍नेछौ: ‘उहाँले अझै किन दोष लाउनुहुन्छ त? किनकि कसले उहाँको इच्छाको सामना गरेको छ र?’ 20 तर हे मानिस, परमेश्‍वरको विरोधमा जवाफ दिने तिमी को हौ? के बनाइएको चीजले बनाउनेवालालाई ‘किन तिमीले मलाई यस प्रकारले बनायौ?’ भनी भन्ला र? 21 के माटोमाथि कुमालेको अधिकार छैन र? एउटै ढिकाबाट एउटा भाँड़ा आदरका निम्ति र अर्कोलाई अनादरका निम्ति बनाउने? 22 यदि परमेश्‍वरले आफ्नो क्रोध देखाउने र आफ्नो सामर्थ्य प्रकट गर्ने इच्छा गरेर विनाशका निम्ति बनाइएका क्रोधका भाँड़ाहरूप्रति खूबै धीरजसाथ सहनशीलता देखाउनुभयो भने के भयो त? 23 अनि यसमा उहाँले पहिलेदेखि नै महिमाका निम्ति तयार पार्नुभएका दयाका भाँड़ाहरूप्रति आफ्नो महिमाको धन के हो, सो प्रकट गर्ने उद्देश्य थियो, 24 अर्थात्‌ हामीहरूप्रति, जसलाई उहाँले यहूदीहरूबाट मात्र होइन, तर अन्यजातिहरूबाट पनि बोलाउनुभयो। 25 जसरी होशेको पुस्तकमा पनि उहाँ भन्‍नुहुन्‍छ:
‘जो मेरो प्रजा थिएनन्, उनीहरूलाई म मेरो प्रजा भन्‍नेछु; जो प्रिया थिइन, उसलाई प्रिया भन्‍नेछु।’ 26 ‘अनि यस्तो हुनेछ: जुन ठाउँमा तिनीहरूलाई “तिमीहरू मेरो प्रजा होइनौ” भनिएको थियो, त्यही तिनीहरूलाई “जीवित परमेश्‍वरका छोराछोरीहरू” भनिनेछन्।’
27 यशैयाले पनि इस्राएलको सम्बन्धमा कराएर भन्दछन्:
‘इस्राएलका सन्तानहरूको संख्या समुद्रका बालुवाझैं भए तापनि बाँकी रहेको भाग मात्र बचाइनेछ। 28 किनकि उहाँले काम समाप्‍त गर्नुहुनेछ र धार्मिकतामा यसलाई छोटो पार्नुहुनेछ; किनभने परमप्रभुले पृथ्वीमाथि छोटो काम गर्नुहुनेछ।’
29 अनि जसरी यशैयाले पहिल्यै भने:
‘सेनाहरूका परमप्रभुले हाम्रा निम्ति वंश नछोड़्नुभएको भए हामी सदोमजस्ता हुनेथियौं र गमोरासमान बनिनेथियौं।’
वर्तमान समयमा इस्राएल त्यागिएको छ
रोमी ९:३०-१०:२१
30 तब हामी के भनौं त? धार्मिकताको पछि नलाग्‍ने अन्यजातिहरूले धार्मिकता अर्थात्‌ विश्‍वासबाट हुने धार्मिकता प्राप्‍त गरेका छन्। 31 तर इस्राएलचाहिँ धार्मिकताको व्यवस्थाको पछि लागेर पनि धार्मिकताको व्यवस्थासम्म आइपुगेको छैन। 32 किन? किनभने तिनीहरूले यसको खोजी विश्‍वासद्वारा होइन, तर मानूँ व्यवस्थाका कामहरूद्वारा गरे; किनकि ठेस लाग्‍ने ढुङ्गामा तिनीहरूले ठेस खाए, 33 जस्तो लेखिएको छ:
‘हेर, म सियोनमा ठेस लाग्‍ने ढुङ्गा र ठक्‍करको चट्टान राख्‍नेछु; अनि उहाँमाथि विश्‍वास गर्ने हरेक शर्ममा पर्नेछैन।’