आत्मामा हिँड़्नाले पुरानो स्वभावबाट छुटकारा भएको
8
यसकारण अब ख्रीष्ट येशूमा हुनेहरूलाई कुनै दण्डको आज्ञा छैन, जो शरीरअनुसार होइन, तर आत्माअनुसार हिँड़्दछन्। 2 किनकि ख्रीष्ट येशूमा जीवनको आत्माको व्यवस्थाले मलाई पाप र मृत्युको व्यवस्थाबाट छुटकारा दिएको छ। 3 किनकि जुन कुरा व्यवस्थाले शरीरद्वारा कमजोर भएको हुनाले गर्न सकेन, त्यही कुरा परमेश्वरले आफ्नो पुत्रलाई पापमय शरीरको समानतामा र पापका निम्ति पठाईकन गर्नुभयो र शरीरमा पापलाई दण्डको आज्ञा दिनुभयो; 4 यसैले कि व्यवस्थाको धार्मिकता हामीमा पूरा होस्, जो शरीरअनुसार होइन, तर आत्माअनुसार हिँड़्दछौं। 5 किनकि शारीरिक हुनेहरू शरीरकै कुराहरूमा मन लगाउँछन्, तर आत्मिक हुनेहरू आत्माकै कुराहरूमा मन लगाउँछन्। 6 किनकि शरीरमा मन लगाउनुचाहिँ मृत्यु हो, तर आत्मामा मन लगाउनुचाहिँ जीवन र शान्ति हो। 7 किनभने शरीरमा मन लगाउनुचाहिँ परमेश्वरसँग दुस्मनी गर्नु हो; किनकि शारीरिक मन परमेश्वरको व्यवस्थाको अधीनतामा छैन; किनकि यो हुन नै सक्दैन। 8 यसकारण जो शरीरमाक छन्, तिनीहरूले परमेश्वरलाई खुशी पार्न सक्दैनन्। 9 तर साँच्चै परमेश्वरको आत्मा तिमीहरूभित्र वास गर्नुहुन्छ भने तिमीहरू शरीरमा होइन, तर आत्मामा हुन्छौ। तर कुनै मानिससँग ख्रीष्टको आत्मा हुनुहुन्न भने त्यो उहाँको होइन। 10 तर ख्रीष्ट तिमीहरूभित्र हुनुहुन्छ भने शरीर पापको कारणले मरेकोख हुन्छ, तर आत्मा धार्मिकताको कारणले जीवन हुनुहुन्छ। 11 तर जसले येशूलाई मरेकाहरूबाट बौराएर उठाउनुभयो, उहाँको आत्मा तिमीहरूभित्र वास गर्नुहुन्छ भने ख्रीष्टलाई मरेकाहरूबाट बौराई उठाउनुहुनेले तिमीहरूभित्र वास गर्नुहुने उहाँको आत्माद्वारा तिमीहरूका मरणशील शरीरहरू पनि जीवित पार्नुहुनेछ।12 यसकारण अब भाइहरूहो, शरीरअनुसार जिउनलाई हामी शरीरका ऋणी होइनौं। 13 किनकि तिमीहरू शरीरअनुसार जियौ भने तिमीहरू मर्नेछौ, तर तिमीहरूले आत्माद्वारा शरीरका कामहरू मार्यौ भने तिमीहरू जिउनेछौ। 14 किनकि जतिजना परमेश्वरको आत्माद्वारा डोर्याइँन्छन्, तिनीहरू परमेश्वरका पुत्रहरू हुन्। 15 किनकि फेरि डराउनका निम्ति तिमीहरूले बन्धनको आत्मा पाएका होइनौ, तर तिमीहरूले धर्मपुत्र तुल्याउनुहुने आत्मा पाएका छौ, जसद्वारा हामी ‘हे अब्बा! हे पिता!’ भनी पुकार्दछौं। 16 आत्मा आफैले हाम्रो आत्मासँग ‘तिमीहरू परमेश्वरका सन्तान हौ’ भनी गवाही दिनुहुन्छ; 17 अनि सन्तान हौं भने हकवालाहरू पनि हौं; साँच्चै परमेश्वरका हकवालाहरू र ख्रीष्टसँग साझा-हकवालाहरू; उहाँसँगै हामीले दुःख भोग्यौं भनेचाहिँ उहाँसँगै हामीले महिमा पनि पाउनेछौं।
सङ्कष्टबाट महिमामा
18 किनकि म ठान्दछु, यस वर्तमान समयका दु:खकष्टहरू त्यस महिमासँग तुलना गरिने योग्यका छैनन्, जुन महिमा हामीमाथि प्रकट हुनेछ। 19 किनकि सृष्टिको उत्कट आशाले पनि परमेश्वरका पुत्रहरूको प्रकट हुवाइलाई पर्खिरहेको छ। 20 किनकि सृष्टि व्यर्थताको अधीनतामा राखिएको छ; आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले त्यसलाई अधीनतामा राख्नुभएको छ, यस आशामा; 21 किनभने सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाएर परमेश्वरका सन्तानहरूकोग महिमापूर्ण स्वतन्त्रताभित्र प्रवेश गर्नेछ। 22 किनकि हामी जान्दछौं, अहिलेसम्म पनि सारा सृष्टि एकसाथ ऐया-आत्था गरिरहेको र प्रसूति-वेदनामा तड़्पिरहेको हुन्छ। 23 अनि तिनीहरूले मात्र होइनन्, तर हामीहरूले पनि, जससँग आत्माको पहिलोफल छ, अँ, हामी आफैले पनि धर्मपुत्र-ग्रहणको अर्थात् हाम्रो शरीरको छुटकाराको बाटो हेर्दै आफूभित्र-भित्रै ऐया-आत्था गर्दछौं। 24 किनकि आशाद्वारा हामीले मुक्ति पाएका छौं, तर जुन आशा देखिन्छ, त्यो आशा नै होइन; किनकि जुन कुरा मानिसले देख्छ, त्यसका लागि उसले अझै किन आशा गर्दछ र? 25 तर जुन कुरा हामी देख्दैनौं, त्यस कुराको आशा गर्दछौं भने हामी धीरजसँग त्यसको बाटो हेर्दछौं। 26 अनि यही प्रकारले आत्माले पनि हाम्रा कमजोरीहरूमा सहायता गर्नुहुन्छ; किनकि हामीले के प्रार्थना, कसरीघ गर्नुपर्ने हो, सो हामी जान्दैनौं, तर आत्मा आफैले बयान गर्न नसकिने व्यथा पोख्दै हाम्रा निम्ति अन्तर्विन्ती गर्नुहुन्छ। 27 अनि हृदयहरूलाई तलाश गर्नुहुनेले आत्माको मन के हो, जान्नुहुन्छ; किनभने परमेश्वरको इच्छामुताबिक उहाँले पवित्र जनहरूका निम्ति अन्तर्विन्ती गर्नुहुन्छ। 28 अनि हामी जान्दछौं: परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुराहरू मिलेर भलाइ नै उत्पन्न गर्दछन् – उनीहरूका निम्ति, जो उहाँकै मनसायअनुसार बोलाइएका छन्। 29 किनभने जसलाई उहाँले पहिले नै जान्नुभएको थियो, उनीहरूचाहिँ आफ्नै पुत्रको रूपमा ढालिऊन् भनेर उहाँले उनीहरूलाई पहिले नै ठहराउनु पनि भयो, यसैले कि उहाँचाहिँ अनेकौं भाइहरूको बीचमा जेठा होऊन्। 30 अनि जसलाई उहाँले पहिल्यै ठहराउनुभयो, उनीहरूलाई उहाँले बोलाउनु पनि भयो; अनि जसलाई उहाँले बोलाउनुभयो, उनीहरूलाई उहाँले धर्मी पनि ठहराउनुभयो; अनि जसलाई उहाँले धर्मी ठहराउनुभयो, उनीहरूलाई उहाँले महिमा पनि दिनुभयो।
हामी विजेताहरूभन्दा पनि बढ़ी छौं
31 तब हामी यी कुराहरूको विषयमा के भनौं त? परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरोधमा को हुन सक्ला? 32 उहाँले आफ्नै पुत्रलाई पनि बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति उहाँलाई अर्पिदिनुभयो; त कसरी उहाँले उहाँको साथमा सबै कुराहरू पनि हामीलाई सित्तैंमा दिनुहुनेछैन र? 33 परमेश्वरका चुनिएकाहरूको विरोधमा कसले दोष लाउला? धर्मी ठहराउनुहुने त परमेश्वर हुनुहुन्छ। 34 दण्डको आज्ञा दिने को हो? मर्नुहुने त ख्रीष्ट हुनुहुन्छ, तर उहाँ झन् बौरिउठ्नु पनि भएको हो, जो परमेश्वरको दाहिने हातपट्टि पनि हुनुहुन्छ, जसले हाम्रा निम्ति अन्तर्विन्ती पनि गर्नुहुन्छ। 35 कसले हामीलाई ख्रीष्टको प्रेमदेखि अलग पार्ला? के सङ्कष्टले, वा क्लेशले, वा सतावटले, वा अनिकालले, वा नाङ्गो अवस्थाले, वा खतराले, वा तरवारले? 36 जस्तो लेखिएको छ:
‘तपाईंका निम्ति हामी दिनभरि मारिएका छौं; हामी काटिने भेड़ाहरूजस्तै गनिएका छौं।’ङ
37 तर यी सबै कुराहरूमा हामी उहाँद्वारा, जसले हामीलाई प्रेम गर्नुभयो, विजेताहरूभन्दा पनि बढ़ी छौं। 38 किनकि मलाई पूरा निश्चयता भएको छ: न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न प्रधानताहरूले, न अधिकारहरूले, न अहिलेका कुराहरूले, न पछि आउने कुराहरूले, 39 न उचाइले, न गहिराइले, न अरू कुनै सृष्टिले नै हामीलाई हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्वरको प्रेमदेखि अलग पार्न सक्नेछ।