मोशाको व्यवस्थाबाट मुक्त भएको
7
हे भाइहरूहो, के तिमीहरूलाई थाहा छैन? (किनभने म व्यवस्था जान्‍नेहरूसँग कुरा गरिरहेको छु); जबसम्म मानिस जिउँदो हुन्छ, तबसम्म व्यवस्थाले त्यसमाथि राज्य गर्दछ। 2 किनकि पति भएकी स्त्री, जबसम्म पति जिउँदो रहन्छ, तबसम्म ऊ व्यवस्थाद्वारा आफ्नो पतिसँग बाँधिएकी हुन्छे; तर पतिचाहिँ मर्‍यो भने ऊ पतिको व्यवस्थाबाट मुक्त हुन्छे। 3 यसकारण पति जिउँदो हुँदा-हुँदै ऊ अर्को पुरुषकी भई भने ऊ व्यभिचारिणी भनिनेछे; तर उसको पति मर्‍यो भने ऊ त्यस व्यवस्थाबाट मुक्त हुन्छे; यसकारण ऊ अर्को पुरुषकी भई भने पनि ऊ व्यभिचारिणी हुँदिन। 4 यसकारण हे मेरा भाइहरूहो, परमेश्‍वरका निम्ति फल फलाऔं भनेर अर्का व्यक्तिका अर्थात्‌ उहाँका हुनलाई, जो मरेकाहरूबाट बौरेर उठ्नुभएको छ, तिमीहरू पनि ख्रीष्‍टको शरीरद्वारा व्यवस्थाका निम्ति मरेका भयौ। 5 किनकि जब हामी शरीरमा थियौं, तब व्यवस्थाद्वारा जगाइएका पापहरूका वासनाहरूले मृत्युका निम्ति फल फलाउनलाई हाम्रा अङ्गहरूमा काम गर्दथे। 6 तर अब लेखिएको व्यवस्थाको पुरानोपनामा होइन, तर आत्माको नयाँपनामा सेवा गर्न सकौं भनेर जसको बन्धनमा हामी थियौं, त्यसका निम्ति मरीकन हामी व्यवस्थाबाट मुक्त भएका छौं।
7 तब हामी के भनौं त? के व्यवस्था पाप हो? कदापि होइन! तर विनाव्यवस्था पाप भनेको के हो, सो म जान्‍नेथिइनँ; किनकि ‘तिमीले लोभ नगर्नू’ भनी व्यवस्थाले मलाई नभनेको भए लोभलालच के हो, सो म जान्‍नेथिइनँ। 8 तर पापले यस आज्ञाद्वारा मौका छोपेर ममा सबै प्रकारको लोभलालच उत्‍पन्‍न गरिदियो। किनकि व्यवस्थाविना पाप मरेको थियो। 9 किनकि एक समयमा म व्यवस्थाविना जिउँदो थिएँ; तर जब आज्ञा आयो, तब पाप जाग्यो, र म मरें। 10 जुन आज्ञा जीवनका निम्ति दिइएको थियो, त्यसलाई मैले मृत्युको कारण भएको भेट्टाएँ। 11 किनकि यस आज्ञाद्वारा पापले मौका छोपेर मलाई धोका दियो र यसैद्वारा मलाई मार्‍यो। 12 यसकारण व्यवस्था पवित्र छ, र आज्ञा पनि पवित्र, न्यायपूर्ण र असल छ।
13 तब के, जे असल छ, त्यही मेरा लागि मृत्यु बन्यो त? कदापि होइन! तर पापले आफू पाप नै देखा परोस् भनेर जे असल छ, त्यहीद्वारा ममा मृत्यु उत्‍पन्‍न गरिरहेको थियो, आज्ञाद्वारा पाप ज्यादै पापमय बनोस् भनेर। 14 किनकि हामी जान्दछौं, व्यवस्था आत्मिक हो; तर मचाहिँ शारीरिक हुँ, र पापको हातमा बेचिएको छु। 15 किनभने म जे गर्दछु, सो म बुझ्दिनँ; किनकि जे म चाहन्छु, त्यो म गर्दिनँ; तर जे म घृणा गर्दछु, त्यही म गर्दछु। 16 तर जे म चाहँदिनँ, त्यही गर्दछु भने व्यवस्था असल रहेछ भनी म त्यससँग सहमत हुन्छु। 17 तब त त्यो गर्नेचाहिँ म होइनँ रहेछु, तर पाप पो रहेछ, जसले मभित्र वास गर्दछ। 18 किनकि म जान्दछु, मभित्र अर्थात्‌ मेरो शरीरभित्र कुनै असल कुराले वास गर्दैन; किनकि इच्छा गर्नेचाहिँ मसित हाजिर छ, तर जे असल छ, त्यसलाई पूरा गर्नेचाहिँ म पाउँदिनँ। 19 किनकि जुन असल कुरा म चाहन्छु, त्यो म गर्दिनँ; तर जुन खराब कुरा म चाहँदिनँ, त्यही म गर्दछु। 20 अब जुन कुरा म चाहँदिनँ, त्यही गर्दछु भने त्यो गर्नेचाहिँ म होइनँ रहेछु, तर पाप पो रहेछ, जसले मभित्र वास गर्दछ। 21 यसकारण जब म असल गर्ने इच्छा गर्दछु, तब खराब मसित हाजिर हुन्छ, त यहाँ म एउटा व्यवस्था पाउँछु। 22 किनकि भित्रको मानिसअनुसार परमेश्‍वरको व्यवस्थामा म आनन्दित हुन्छु। 23 तर मेरा अङ्गहरूमा म अर्कै व्यवस्था देख्दछु, जसले मेरो मनको व्यवस्थाको विरोधमा लड़ाइँ गर्छ र मलाई मेरा अङ्गहरूमा हुने पापको व्यवस्थाको वशमा ल्याउँछ। 24 हाय, म कति अभागी मानिस! कसले मलाई यस मृत्युको शरीरबाट छुटकारा देला? 25 हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा म परमेश्‍वरलाई धन्यवाद चढ़ाउँछु। यसैले अब मनले चाहिँ म आफै परमेश्‍वरको व्यवस्थाको सेवा गर्दछु, तर शरीरले चाहिँ पापको व्यवस्थाको सेवा गर्दछु।