पापका निम्ति मरेको, तर परमेश्‍वरका निम्ति जिउँदो भएको
6
तब हामी के भनौं त? अनुग्रह प्रशस्त होस् भनेर के हामी पापमा लागिरहौं? 2 कदापि हुँदैन! हामी, जो पापका निम्ति मरिसकेका छौं, अब उसो कसरी त्यसैमा जिऔं र? 3 अथवा हामीहरूमध्ये जतिजनाले येशू ख्रीष्‍टभित्र बप्‍तिस्‍मा लियौं, हामीले उहाँकै मृत्युभित्र बप्‍तिस्‍मा लिएका थियौं भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? 4 यसकारण बप्‍तिस्‍माद्वारा हामी उहाँसँगै मृत्युभित्र गाड़ियौं, कि जसरी पिताको महिमाद्वारा ख्रीष्‍ट मरेकाहरूबाट बौराइनुभयो, त्यसरी नै हामी पनि जीवनको नयाँपनामा हिँड़्‍नुपर्दछ। 5 किनकि यदि हामी उहाँको मृत्युको समानतामा एकैसाथ जोरिएका छौं भने उहाँको बौरिउठाइको समानतामा पनि जोरिएका हुनेछौं; 6 पापको शरीर बेकम्मा होस् भन्‍ने हेतुले हाम्रो पुरानो मान्छे उहाँसँगै क्रूसमा टाँगियो भन्‍ने कुरा थाहा गर्दै अबदेखि उसो हामी पापको दास हुनुहुँदैन। 7 किनकि जो मरेको छ, त्यसले पापबाट छुटकारा पाएको छ 8 अब यदि हामी ख्रीष्‍टसँग मरेका छौं भने उहाँसँगै हामी जिउने पनि छौं भनी हामी विश्‍वास गर्दछौं। 9 हामी जान्दछौं, ख्रीष्‍ट मरेकाहरूबाट बौराइनुभएपछि फेरि कहिल्यै मर्नुहुन्‍न; अबदेखि उसो उहाँमाथि मृत्युको कुनै अधिकार छैन नै। 10 किनकि जुन मृत्यु उहाँ मर्नुभयो, त्यो मृत्यु उहाँ पापका निम्ति एकैपल्टका लागि मर्नुभयो; तर जुन जीवन उहाँ जिउनुहुन्छ, यो जीवन उहाँ परमेश्‍वरका निम्ति जिउनुहुन्छ। 11 यही प्रकारले तिमीहरूले पनि आफूलाई पापका निम्ति साँच्‍चै मरेका, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरका निम्ति जिउँदा भएका ठान! 12 यसकारण पापलाई तिमीहरूको मरणशील शरीरमा राज्य गर्न नदेओ, नत्र तिमीहरूले त्यसका कुकामनाहरूमा त्यसको आज्ञापालन गर्नुपर्छ। 13 न ता आफ्ना अङ्गहरू नै अधर्मका हतियारहरूको रूपमा पापको वशमा सुम्प; तर मरेकाहरूबाट जिउँदा भएझैं गरी तिमीहरूले आफूलाई परमेश्‍वरको वशमा सुम्प, र तिमीहरूका अङ्गहरूचाहिँ धार्मिकताका हतियारहरूको रूपमा परमेश्‍वरको वशमा सुम्प! 14 किनकि पापले तिमीहरूमाथि राज्य गर्नेछैन; किनभने तिमीहरू व्यवस्थाको अधीनतामा होइन, तर अनुग्रहको अधीनतामा हुन्‍छौ।
पापको दासत्वबाट छुटकारा पाएर परमेश्‍वरको दास भएको
15 तब के? हामी व्यवस्थाको अधीनतामा होइन, तर अनुग्रहको अधीनतामा छौं भनेर के हामी पाप गरौं त? कदापि हुँदैन! 16 के तिमीहरूलाई थाहा छैन? जसको वशमा आज्ञापालन गर्नका निम्ति तिमीहरूले आफूलाई दास भई सुम्पिदिन्छौ, तिमीहरू उसैका दास हौ, जसको आज्ञापालन तिमीहरू गर्दछौ; कि ता मृत्युका निम्ति पापका दास, कि ता धार्मिकताका निम्ति आज्ञापालनका दास। 17 तर परमेश्‍वरलाई धन्यवाद होस्! तिमीहरू पापका दास थियौ, तापनि तिमीहरूले हृदयबाट चाहिँ शिक्षाको त्यो रूप पालन गरेका छौ, जसको जिम्मामा तिमीहरू सुम्पिएका छौ। 18 तब पापबाट छुटकारा पाएर तिमीहरू धार्मिकताका दास भएका छौ। 19 तिमीहरूको शरीरको दुर्बलताले गर्दा म मानिसको रीतिअनुसार बोल्दछु; किनकि जसरी तिमीहरूले आफ्ना अङ्गहरू दासको रूपमा अधर्मका निम्ति अशुद्धता र अधर्मको वशमा सुम्पिदियौ, त्यसरी नै अब आफ्ना अङ्गहरू दासको रूपमा पवित्रताका निम्ति धार्मिकताको वशमा सुम्प! 20 किनकि जब तिमीहरू पापका दास थियौ, तब धार्मिकतापट्टीबाट तिमीहरू स्वतन्‍त्र थियौ। 21 जुन कुराहरूको विषयमा तिमीहरू अहिले लाज मान्दछौ, ती कुराहरूमा तिमीहरूले त्यस बेलामा के फल पायौ र? किनकि ती कुराहरूको अन्तचाहिँ मृत्यु हो। 22 तर अब त पापबाट स्वतन्‍त्र पारिएपछि र परमेश्‍वरका दासहरू भएपछि तिमीहरूले पवित्रताका निम्ति आफ्ना फल फलाउँछौ, अनि अन्तचाहिँ अनन्त जीवन हो। 23 किनकि पापको ज्याला मृत्यु हो; तर परमेश्‍वरको अनुग्रहको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्‍टमा अनन्त जीवन हो।