विश्‍वासद्वारा परमेश्‍वरसित हाम्रो मेलमिलाप भएको छ
5
यसकारण विश्‍वासद्वारा धर्मी ठहरिएका हुनाले हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरसँग हाम्रो मेलमिलाप भएको छ। 2 उहाँद्वारा नै विश्‍वासको कारणले हामीले यस अनुग्रहभित्र प्रवेश पाएका छौं, यही अनुग्रहभित्र हामी खड़ा छौं, र परमेश्‍वरको महिमाको आशामा हामी आनन्द मनाउँछौं 3 अनि यो मात्र होइन, तर हामी सङ्कष्‍टहरूमा पनि आनन्द मनाउँछौं, यो कुरा जानेर कि सङ्कष्‍टले धीरज, 4 अनि धीरजले खारिएको गुण र खारिएको गुणले आशा उत्‍पन्‍न गर्छ; 5 अनि आशाले चाहिँ शर्ममा पर्न दिँदैन; किनभने हामीलाई दिइनुभएको पवित्र आत्माद्वारा परमेश्‍वरको प्रेम हाम्रा हृदयहरूमा खन्याइएको छ। 6 किनकि हामी कमजोर हुँदाखेरि नै, ठीक समयमा ख्रीष्‍ट भक्तिहीनहरूका निम्ति मर्नुभयो। 7 किनभने धर्मी मानिसका निम्ति मुस्किलले कोही मर्ला; असल मानिसका निम्ति सायद कसैले मर्ने पनि आँट गर्ला कि! 8 तर परमेश्‍वरले हामीप्रति आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ: हामी पापी हुँदा-हुँदै ख्रीष्‍ट हाम्रा निम्ति मर्नुभयो। 9 यसकारण अब उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले हामी उहाँद्वारा झन् बढ़्‍ता गरी क्रोधबाट बचाइनेछौं। 10 किनकि शत्रु हुँदाखेरि उहाँको पुत्रको मृत्युद्वारा परमेश्‍वरसित हाम्रो मिलाप भयो भने मिलाप भएपछि त उहाँको जीवनद्वारा हामी झन् बढ़्‍ता गरी बचाइनेछौं। 11 अनि यति मात्र होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा हामी परमेश्‍वरमा आनन्द पनि मनाउँछौं, उहाँद्वारा अब हामीले मिलाप पाएका छौं।
आदममा मृत्यु, तर ख्रीष्‍टमा जीवन छ
12 यसकारण जसरी एकजना मानिसद्वारा संसारमा पाप पस्यो, र पापद्वारा मृत्यु आयो, अनि त्यसरी नै मृत्यु सबै मानिसहरूमा फैलियो; किनकि सबैले पाप गरेका छन्। 13 (किनकि व्यवस्था आउन्जेल संसारमा पाप त थियो; तर जहाँ व्यवस्था छैन, त्यहाँ पापको हिसाब लाग्दैन। 14 तरै पनि मृत्युले आदमदेखि मोशासम्म राज्य गर्‍यो, तिनीहरूमाथि पनि गर्‍यो, जसले आदमको अपराधसरह पाप गरेका थिएनन्; यी आदमचाहिँ आउनुहुनेको छाया हुन्। 15 तर अपराध जस्तो छ, अनुग्रहको वरदान त्यस्तो छैन; किनकि एकजनाको अपराधको कारणले धेरैजना मरे भने परमेश्‍वरको अनुग्रह र त्यही एकजना मानिस अर्थात्‌ येशू ख्रीष्‍टको अनुग्रहद्वाराको दानचाहिँ धेरैजनाका निम्ति झन् बढ़्‍ता गरी प्रशस्त भएको छ। 16 अनि त्यस पाप गर्ने एउटाद्वारा जे आयो, दान त्यस्तो हुँदैन; किनकि एउटै अपराधबाट दण्डको आज्ञाका लागि न्याय आयो; तर अनेकौं अपराधहरूबाट धर्मीकरणका लागि अनुग्रहको वरदान आयो। 17 किनकि एकै मानिसको अपराधको कारणले मृत्युले एकजनाद्वारा राज्य गर्‍यो भने अनुग्रहको र धार्मिकताको दानको प्रशस्तता पाउनेहरूले झन् बढ़्‍ता गरेर त्यही एकजना अर्थात येशू ख्रीष्‍टद्वारा जीवनमा राज्य गर्नेछन्।) 18 यसकारण जसरी एकजनाको अपराधद्वारा दण्डको आज्ञाका लागि सबै मानिसहरूमाथि न्याय आयो, त्यसरी नै एकजनाको धार्मिकताद्वारा सबै मानिसहरूकहाँ जीवनको धर्मीकरणका लागि अनुग्रहको दान आयो। 19 किनकि जसरी एकजना मानिसले आज्ञा भङ्ग गरेकोले धेरैजना पापी बनिए, त्यसरी नै एकजनाले आज्ञापालन गरेकोले धेरैजना धर्मी तुल्‍याइनेछन्। 20 अनि अपराध प्रशस्तै होस् भनेर व्यवस्था आयो; तर जहाँ पाप प्रशस्त भयो, त्यहाँ अनुग्रह झन् बढ़ी प्रशस्त भयो, 21 र जसरी पापले मृत्युमा राज्य गर्‍यो, त्यसरी नै हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा अनुग्रहले पनि धार्मिकताद्वारा अनन्त जीवनका लागि राज्य गरोस्।