अब्राहाम विश्‍वासद्वारा धर्मी ठहरिए
4
तब हामी के भनौं? शरीरअनुसार हाम्रा पिता अब्राहामले के पाएका छन् त? 2 किनकि कामहरूद्वारा अब्राहाम धर्मी ठहरिएका भएदेखि उनको घमण्ड गर्ने कारण हुनेथियो, तर परमेश्‍वरको सामु होइन। 3 किनकि पवित्रशास्त्रले के भन्दछ?
‘अब्राहामले परमेश्‍वरलाई विश्‍वास गरे, र यो उनका निम्ति धार्मिकता गनियो।’
4 अब जसले काम गर्दछ, त्यसका निम्ति ज्याला अनुग्रह होइन, तर हक ठहरिन्छ। 5 तर जसले काम गर्दैन, तर भक्तिहीनलाई धर्मी ठहराउनुहुनेमाथि विश्‍वास राख्छ, उसका निम्ति उसको विश्‍वास धार्मिकता ठहरिन्छ। 6 जुन मानिसको हिसाबमा परमेश्‍वरले कामहरूविना धर्मिकता लगाउनुहुन्छ, त्यस मानिसको धन्यता दाऊदले पनि यसरी बयान गरेका छन्:
7 ‘जसका अधर्महरू क्षमा भएका छन् र जसका पापहरू ढाकिएका छन्, तिनीहरू धन्य हुन्। 8 जुन मानिसलाई परमप्रभुले पापी ठहराउनुहुनेछैन, त्यो मानिस धन्य हो।’
9 तब यो धन्यता खतना भएकाहरूका लागि मात्र हो कि खतना नभएकाहरूका लागि पनि हो? किनकि हामी भन्दछौं: अब्राहामका निम्ति विश्‍वास नै धार्मिकता ठहरियो। 10 तब त्यो कसरी ठहरियो त – उनको खतना भएको अवस्थामा कि खतना नभएको अवस्थामा? खतना भएको अवस्थामा होइन, तर खतना नभएको अवस्थामा। 11 अनि खतना नभएको अवस्थामा उनले जुन विश्‍वासको धार्मिकता पाएका थिए, त्यही धार्मिकताको छापको रूपमा उनले खतनाको चिन्ह पाए; यसकारण उनी खतना नभईकन विश्‍वास गर्नेहरू सबैका पिता भए, यस हेतुले कि उनीहरूका निम्ति पनि त्यो धार्मिकता गनिएको होस्। 12 अनि तिनीहरूका निम्ति उनी खतनाका पिता भए, जसको खतना मात्र भएको होइन, तर जो हाम्रा पिता अब्राहामको त्यस विश्‍वासका पाइलाहरूमा पनि हिँड़्छन्, जुन विश्‍वास खतना नभएको समयमा उनीसँग थियो।
विश्‍वासद्वारा प्रतिज्ञा गरिएको कुरा प्राप्‍त गरिन्‍छ
13 किनभने ‘तिमी संसारको हकवाला हुनेछौ’ भन्‍ने प्रतिज्ञा अब्राहाम वा उनका सन्तानलाई व्यवस्थाद्वारा होइन, तर विश्‍वासको धार्मिकताद्वारा दिइएको थियो। 14 किनकि यदि ती व्यवस्थाबाटकाहरू हकवाला हुन्छन् भने विश्‍वास व्यर्थै भयो र त्यो प्रतिज्ञा विनाकामको भयो; 15 किनभने व्यवस्थाले क्रोध उत्‍पन्‍न गर्दछ; किनकि जहाँ व्यवस्था छैन, त्यहाँ अपराध पनि छैन। 16 यसैकारण यो अनुग्रहअनुसार होस् भनेर यो विश्‍वासद्वारा दिइएको हो; यसरी नै त्यो प्रतिज्ञा सबै सन्तानहरूका निम्ति पक्‍का हुन्छ – व्यवस्थाबाटका सन्तानहरूका निम्ति मात्र होइन, तर अब्राहामको विश्‍वासबाटका सन्तानहरूका निम्ति पनि हो, जो हामी सबैका पिता हुन्; 17 (जसरी लेखिएको छ: ‘मैले तिमीलाई धेरै जातिहरूका पिता तुल्‍याएको छु’); उही परमेश्‍वरको सामु, जुन परमेश्‍वरलाई उनले विश्‍वास गरे, जुन परमेश्‍वरले मरेकाहरूलाई जीवित पार्नुहुन्छ र हुँदै नभएका चीजहरूलाई मानूँ भएझैं गरी बोलाउनुहुन्छ। 18 ‘तिम्रा सन्तान यस्तै हुनेछन्’ भनी भनिएको वचनअनुसार धेरै जातिहरूको पिता हुनका निम्ति उनले निराशामा पनि आशा राखेर विश्‍वास गरे; 19 अनि विश्‍वासमा कमजोर नभईकन, उनी प्राय: सय वर्षका हुनाले पहिल्यै मरिसकेको आफ्नो शरीर र साराको कोखको मरिसकेको हालतलाई उनले ध्यान दिएनन्; 20 अनि परमेश्‍वरको प्रतिज्ञाको सम्बन्धमा अविश्‍वास गरेर उनी लड़खड़ाएनन्, तर परमेश्‍वरलाई महिमा दिँदै उनी विश्‍वासमा बलियो रहे; 21 अनि उहाँले जे प्रतिज्ञा गर्नुभएको छ, सो पूरा गर्नलाई उहाँ सामर्थी पनि हुनुहुन्छ भनी उनी पूरा निश्‍चयतामा रहे। 22 अनि यसैकारण उनका निम्ति यो कुरा धार्मिकता गनियो। 23 अनि ‘उनका निम्ति यो धार्मिकता गनियो’ भन्‍ने कुराचाहिँ उनका निम्ति मात्र लेखिएको होइन, 24 तर हाम्रा निम्ति पनि लेखिएको हो; हामीले हाम्रा प्रभु येशूलाई मरेकाहरूबाट बौराएर उठाउनुहुनेमाथि विश्‍वास गर्‍यौं भने हाम्रा निम्‍ति पनि यो धार्मिकता गनिनेछ; 25 जुन प्रभु येशू हाम्रा अपराधहरूका निम्ति सुम्पिइनुभयो र हाम्रो धार्मिकताका निम्ति बौराइनुभयो।