3
त्यसो हो भने त यहूदीलाई के लाभ रहेछ र? अथवा खतनाबाट के फाइदा हुन्छ र? 2 हर प्रकारले धेरै नै; विशेष गरी यो, कि उनीहरूलाई परमेश्‍वरका वचनहरू सुम्पिए। 3 यसकारण यदि कसै-कसैले विश्‍वास गरेनन् भने के भयो त? के उनीहरूको अविश्‍वासले परमेश्‍वरको विश्‍वासलाई व्यर्थको तुल्याउनेछ र? 4 त्यस्तो नहोस्! तर परमेश्‍वर सत्य ठहरिऊन्, र हरेक मानिस झूट ठहरिओस्; जस्तो लेखिएको छ:
‘तपाईं आफ्ना वचनहरूमा धर्मी ठहरिनुहुनेछ, र तपाईंको न्याय हुँदा विजयी बन्‍नुहुनेछ।’
5 तर यदि हाम्रो अधर्मले परमेश्‍वरको धार्मिकतालाई प्रकट गर्छ भने हामी के भनौं त? के क्रोध खन्याउनुहुने परमेश्‍वर अधर्मी हुनुहुन्छ? (म मानिसको रीतिअनुसार बोल्दछु।) 6 त्यसो नहोस्; नत्रभने कसरी परमेश्‍वरले संसारको न्याय गर्नुहुनेछ त? 7 किनकि मेरो झूटको कारणले परमेश्‍वरको सत्यता उहाँकै महिमाका निम्ति झन् प्रशस्त हुन्छ भने, किन अझै पनि म पापी भएझैं न्यायमा पर्दछु त? 8 अनि ‘खराब कुरा गरौं, र असल कुरा निस्कोस्’ भनी हामी किन नभनौं? आखिरमा हामीलाई त्यस्तै अपमानपूर्ण दोष लगाइएकै छ, र कतिले ‘यिनीहरूले यसो भन्छन् नै’ भनी ठोकुवा दिएर भनेका पनि छन्। यस्ताहरूले दण्ड पाउनु समुचित हो।
सबैले पाप गरेका छन्
9 तब के? के हामी उनीहरूभन्दा असल छौं त? कुनै रीतिले छैनौं; किनकि पहिल्यै हामीले यहूदीहरू र ग्रीकहरू दुवैलाई ‘यिनीहरू सबै पापको वशमा छन्’ भन्‍ने दोष लगाइसकेका छौं, 10 जस्तो लेखिएको छ:
‘धर्मी कोही छैन, एउटै पनि छैन; 11 बुझ्ने कोही छैन, परमेश्‍वरलाई खोज्‍ने कोही छैन। 12 तिनीहरू सबै बाटोदेखि भड़्किएका छन्, तिनीहरू एकैसाथ बेकम्मा भएका छन्; असल गर्ने कोही छैन, एउटै पनि छैन।’ 13 ‘तिनीहरूको घोक्रो खुला चिहान हो, तिनीहरूले आफ्ना जिब्राले छल गरेका छन्’; ‘तिनीहरूका ओठमुनि काला साँपहरूको विष छ।’ 14 ‘जसको मुख श्राप र तीता कुराले भरिएको छ।’ 15 ‘रगत बगाउनलाई तिनीहरूका खुट्टाहरू फुर्तिला छन्; 16 तिनीहरूको बाटोमा विनाश र विपत्ति छन्; 17 अनि शान्तिको बाटो तिनीहरूले जानेका छैनन्।’ 18 ‘तिनीहरूका आँखाहरूको सामु परमेश्‍वरको डर छैन।’
19 अब हामी जान्दछौं, व्यवस्थाले जे पनि भन्दछ, त्‍यो त्यसले व्यवस्थाको अधीनतामा बसेकाहरूलाई भन्दछ, कि हरेक मुख चुप रहोस् र सारा संसार परमेश्‍वरको सामु दोषी ठहरियोस्। 20 यसकारण व्यवस्थाका कामहरूद्वारा कुनै पनि प्राणी उहाँको दृष्‍टिमा धर्मी ठहरिनेछैन; किनकि व्यवस्थाद्वारा पापलाई चिन्‍ने ज्ञान हुन्छ।
विश्‍वासद्वारा परमेश्‍वरको धार्मिकता प्राप्‍त गरिन्‍छ
21 तर अब त विनाव्यवस्था नै परमेश्‍वरको धार्मिकता प्रकट भएको छ, जसको गवाही व्यवस्था र भविष्यवक्ताहरूले दिन्छन्; 22 अर्थात्‌ परमेश्‍वरको धार्मिकता, जुनचाहिँ येशू ख्रीष्‍टमाथि राखिएको विश्‍वासद्वारा विश्‍वास गर्ने सबैका लागि हो र सबैमाथि आउँछ; किनभने त्यहाँ कुनै भिन्‍नता छैन। 23 किनकि सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमारहित हुन गएका छन्; 24 तिनीहरू उहाँको अनुग्रहद्वारा ख्रीष्‍ट येशूमा भएको छुटकाराको कारणले सित्तैंमा धर्मी ठहरिन्छन्; 25 उहाँलाई परमेश्‍वरले प्रायश्‍चित ठहराउनुभयो, जुन प्रायश्‍चित उहाँको रगतमा गरिएको विश्‍वासद्वारा कार्यकारी हुन्छ; योचाहिँ परमेश्‍वरको सहनशीलतामा पहिले गरिएका पापहरूको क्षमाको विषयमा आफ्नो धार्मिकता प्रकट गर्नका निम्ति हो; 26 योचाहिँ आफू न्यायी हुन र येशूमाथि विश्‍वास गर्नेलाई धर्मी ठहराउनेहुने हुनलाई वर्तमान समयमा आफ्नो धार्मिकता प्रकट गर्नका निम्ति हो।
27 तब घमण्ड कहाँ रह्‍यो र? त्यसको ठाउँ नै रहेन। कुनचाहिँ व्यवस्थाद्वारा? के कामहरूको व्यवस्थाद्वारा? होइन, तर विश्‍वासको व्यवस्थाद्वारा। 28 यसकारण व्यवस्थाका कामहरूविना, विश्‍वासद्वारा नै मानिस धर्मी ठहरिन्छ भन्‍ने निष्कर्षमा हामी आइपुग्छौं। 29 के उहाँ यहूदीहरूका मात्र परमेश्‍वर हुनुहुन्छ? के अन्यजातिहरूका पनि हुनुहुन्‍न र? ज्यू, उहाँ अन्यजातिहरूका पनि परमेश्‍वर हुनुहुन्छ। 30 किनकि एउटै परमेश्‍वर हुनुहुन्छ, जसले खतना भएकाहरूलाई चाहिँ विश्‍वासद्वारा, र खतना नभएकाहरूलाई चाहिँ विश्‍वासद्वारा नै धर्मी ठहराउनुहुनेछ। 31 तब के हामी विश्‍वासद्वारा व्यवस्थालाई व्यर्थको तुल्याउँछौं त? त्यस्तो नहोस्! तर हामी त व्यवस्थालाई पो स्थिर पार्छौं।