परमेश्वरको धर्ममय न्याय
2
यसकारण हे न्याय गर्ने मानिस, तिमी जोसुकै भए तापनि तिम्रो कुनै बहाना छैन; किनभने जुन कुरामा तिमी अरूको न्याय गर्दछौ, त्यही कुरामा तिमीले आफैलाई दोषी ठहराउँदछौ; किनकि तिमी न्याय गर्ने आफैले ती कुराहरू गर्दछौ। 2 तर हामी जान्दछौं: यस्ता-यस्ता काम गर्नेहरूको विरोधमा परमेश्वरको न्याय सत्यताअनुसार हुन्छ। 3 अनि हे मानिस, तिमी यस्ता-यस्ता काम गर्नेहरूको न्याय गर्छौ र आफैले पनि त्यही गर्छौ, त के तिमी परमेश्वरको न्यायबाट उम्किनेछु भन्ने सम्झन्छौ? 4 अथवा परमेश्वरको दयाले तिमीलाई पश्चात्तापतिर डोर्याउँछ – यो नजानीकन के तिमी उहाँका कृपा, सहनशीलता र धीरजरूपी धनलाई तुच्छ ठान्दछौ? 5 तर तिम्रो कठोरता र अपश्चात्तापी हृदयअनुसार तिमीले आफ्ना निम्ति क्रोध थुपारिरहेका छौ, क्रोध र परमेश्वरको धर्ममय न्यायको प्रकट हुने त्यस दिनका लागि; 6 परमेश्वरले हरेकलाई उसका कामहरूअनुसार प्रतिफल दिनुहुनेछ: 7 धीरजसँग असल काममा लागिरहँदै महिमा, आदर र अमरताको खोजी गर्नेहरूलाई अनन्त जीवन; 8 तर जो झगड़ालु छन् र जसले सत्यता पालन गर्दैनन्, तर अधर्म पालन गर्दछन्, तिनीहरूमाथि रिस र क्रोध; 9 दुष्ट काम गर्ने मानिसको हरेक प्राणमाथि सङ्कष्ट र वेदना – पहिले यहूदीमाथि, र ग्रीकमाथि पनि। 10 तर असल काम गर्ने हरेक मानिसलाई महिमा, आदर र शान्ति – पहिले यहूदीलाई, र ग्रीकलाई पनि; 11 किनभने परमेश्वर पक्षपात गर्नुहुन्न।12 किनभने जतिले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नाश हुनेछन्; अनि जतिले व्यवस्थाको अधीनतामा पाप गरेका छन्, तिनीहरूको न्याय व्यवस्थाद्वारा गरिनेछ – 13 (किनकि परमेश्वरको सामु व्यवस्था सुन्नेहरू धर्मी गनिँदैनन्, तर व्यवस्था पालन गर्नेहरूचाहिँ धर्मी ठहरिनेछन्। 14 किनभने जब अन्यजातिहरूले जससँग व्यवस्था छैन, स्वभावैले व्यवस्थामा भएका कुराहरू गर्दछन्, तब तिनीहरूसँग व्यवस्था नभए तापनि तिनीहरू आफ्ना निम्ति आफै व्यवस्था हुन्छन्; 15 तिनीहरूले आफ्नै हृदयहरूमा व्यवस्थाको काम लेखिएको देखाउँछन्; तिनीहरूको विवेकले पनि गवाही दिन्छ, र तिनीहरूका विचारहरूले आपसमाक दोषी वा निर्दोष ठहराउँछन्।) – 16 त्यस दिनमा, जब परमेश्वरले मेरो सुसमाचारअनुसार येशू ख्रीष्टद्वारा मानिसहरूका गुप्त कुराहरूको न्याय गर्नुहुनेछ।
यहूदीहरू पनि अन्यजातिका मानिसहरूजस्तै दोषी छन्
17 हेर, तिमी यहूदी भनिँदछौ, र व्यवस्थामाथि भर पर्दछौ, अनि परमेश्वरमा गर्व गर्दछौ, 18 र उहाँको इच्छा जान्दछौ, अनि व्यवस्थाबाटको शिक्षा पाएकोले उत्तम-उत्तम कुराहरू मन्जुर गर्दछौ; 19 अनि ‘म अन्धाको अगुवा, अन्धकारमा हुनेहरूको ज्योति, 20 मूर्खहरूलाई तालिम दिने र बालकहरूलाई शिक्षा दिने हुँ’ भनेर तिमी आफूमाथि भरोसा राख्दछौ; किनकि तिमीसित व्यवस्थामा ज्ञान र सत्यताको रूप छ। 21 यसकारण तिमी अरूलाई सिकाउँछौ, त के आफैलाई चाहिँ सिकाउँदैनौ? तिमी ‘नचोर्नू’ भनी प्रचार गर्छौ, त के आफैचाहिँ चोर्छौ? 22 तिमी ‘व्यभिचार नगर्नू’ भनी भन्छौ, त के आफैचाहिँ व्यभिचार गर्छौ? तिमी मूर्तिहरूलाई घृणा गर्छौ, त के तिमी आफै मन्दिर लुट्छौ? 23 तिमी व्यवस्थामा गर्व गर्छौ, त के व्यवस्था भङ्ग गरेर परमेश्वरलाई अनादर गर्छौ? 24 किनभने तिमीहरूको कारणले अन्यजातिहरूको बीचमा परमेश्वरको नामको निन्दा भएको छ, जसरी लेखिएको छ।ख
25 किनकि तिमी व्यवस्था पालन गर्छौ भने खतनाले साँच्चै फाइदा दिन्छ; तर तिमी व्यवस्था भङ्ग गर्ने मानिस हौ भने तिम्रो खतना विनाखतना भएको हो। 26 यसकारण विनाखतनालेग व्यवस्थाको धार्मिकता पालन गर्छ भने के उसको विनाखतनाचाहिँ खतना ठहरिनेछैन र? 27 अनि शारीरिक हिसाबलेघ खतना नहुनेले व्यवस्था पूरा गर्यो भने के त्यसले तिमीलाई अर्थात् लेखिएको व्यवस्थाङ र खतना भए तापनि व्यवस्था भङ्ग गर्नेलाई न्याय गर्नेछैन र? 28 किनभने जो बाहिरी यहूदी हो, ऊ यहूदी होइन; न ता बाहिर, शरीरमा भएको खतना नै खतना हो। 29 तर जो भित्रबाटको यहूदी हो, ऊचाहिँ यहूदी हो, र हृदयको खतनाचाहिँ खतना हो, जुन खतना लेखिएको व्यवस्थामाच होइन, तर आत्मामा हुन्छ; जसको प्रशंसाचाहिँ मानिसहरूबाट होइन, तर परमेश्वरबाट हुन्छ।