2
अनि भाइहरूहो, जब म तिमीहरूकहाँ तिमीहरूलाई परमेश्वरको साक्षीको प्रचार गर्दै आएँ, तब म वचनको वा बुद्धिको उत्तमतामा आइनँ। 2 किनकि मैले तिमीहरूको बीचमा येशू ख्रीष्ट र उहाँ क्रूसमा टाँगिनुभएको कुराबाहेक अरू कुनै कुरा नजान्ने निर्णय गरेको थिएँ। 3 अनि म कमजोर भएर, डराएर र साह्रै काम्दै तिमीहरूसँग रहें। 4 अनि मेरो वचन र मेरो प्रचार मानिसको बुद्धिका फुस्ल्याउने कुरामा थिएनन्, तर आत्मा र सामर्थ्यको प्रदर्शनमा थिए; 5 कि तिमीहरूको विश्वास मानिसहरूको बुद्धिमाथि होइन, तर परमेश्वरको सामर्थ्यमाथि बसालिएको होस्।आत्मिक बुद्धि
6 तरै पनि सिद्ध भएकाहरूको बीचमा हामी बुद्धिको कुरा गर्दछौं; तरै पनि यस संसारको बुद्धिचाहिँ होइन, न ता यस संसारका नाश भइजाने शासकहरूको बुद्धि नै; 7 तर हामी परमेश्वरको बुद्धि रहस्यमा भन्दछौं – त्यो गुप्त राखिएको बुद्धि, जुन बुद्धि परमेश्वरले हाम्रो महिमाका निम्ति संसारको अघि नै ठहराउनुभयो; 8 जुन बुद्धिचाहिँ यस संसारका शासकहरूमध्ये कसैले पनि जान्न सकेनन्; किनकि तिनीहरूले जानेका हुँदा हुन् ता तिनीहरूले महिमाका प्रभुलाई क्रूसमा टाँग्नेथिएनन्। 9 तर जसरी लेखिएको छ:
‘आँखाले नदेखेका, कानले नसुनेका र मानिसको चित्तमा पनि नपसेका कुराहरू परमेश्वरले आफूलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ।’क
10 तर परमेश्वरले हामीलाई यी कुराहरू उहाँको आत्माद्वारा प्रकट गर्नुभएको छ; किनकि आत्माले सबै कुराहरू, अँ, परमेश्वरका गहिरा-गहिरा कुराहरू तलाश गर्नुहुन्छ। 11 किनकि मानिसभित्र भएको उसको आत्माले बाहेक अरू कसले मानिसका कुराहरू जान्दछ र? त्यही प्रकारले परमेश्वरका कुराहरू पनि परमेश्वरकै आत्माले बाहेक अरू कसैले जान्दैन। 12 अनि हामीले यस संसारको आत्मा होइन, तर परमेश्वरबाटको आत्मा पाएका छौं, यसैले कि परमेश्वरबाट हामीलाई सित्तैंमा दिइएका कुराहरू हामीले जान्न सकौं। 13 यी कुराहरूचाहिँ मानिसको बुद्धिले सिकाएका शब्दहरूमा होइन, तर पवित्र आत्माले सिकाउनुभएका शब्दहरूमा आत्मिक कुराहरू आत्मिक कुराहरूसँग तुलना गर्दै हामी बोल्दछौं। 14 तर शारीरिकख मानिसले परमेश्वरको आत्माका कुराहरू ग्रहण गर्दैन; किनकि यी कुराहरू उसका निम्ति मूर्खता हुन्; न ता उसले यी कुराहरू जान्न नै सक्छ, किनकि यी कुराहरू आत्मिक रीतिले जाँचिन्छन्। 15 तर आत्मिक मानिसले सबै कुराहरू जाँच्दछ, तर पनि ऊ आफैचाहिँ कसैद्वारा जाँचिँदैन। 16 किनकि ‘कसले प्रभुको मन जानेको छ र? कसले उहाँलाई शिक्षा दिनेछ र?’ग तर हामीसँग ख्रीष्टको मन छ।