फाटोसम्बन्धी दोस्रो चेताउनी
3
अनि हे भाइहरूहो, आत्मिक मानिसहरूसँग बोलेझैं मैले तिमीहरूसँग बोल्न सकिनँ, तर शारीरिकहरूसँग अर्थात् ख्रीष्टमा दूधे बालकहरूसँग झैं गरी बोलें। 2 मैले तिमीहरूलाई दूध खुवाएँ, खँदिलो खानेकुरा होइन; किनकि यस समयसम्म तिमीहरूले यो खान सकेनौ, न ता अहिले नै सक्छौ। 3 किनभने तिमीहरू अझै पनि शारीरिक छौ; किनकि जब तिमीहरूको बीचमा डाहा, झगड़ा र फूटहरू छन्, त के तिमीहरू शारीरिक होइनौ र? र मानिसको चालमा हिँड़्दैनौ र? 4 किनकि जब एकजनाले ‘म पावलको हुँ’ भन्दछ, र अर्कोले ‘म अपोल्लोसको हुँ’ भन्दछ, तब के तिमीहरू शारीरिक होइनौ? 5 तब पावल को हो र? अनि अपोल्लोस को हुन् र? केवल सेवकहरू हुन्, जसद्वारा तिमीहरूले विश्वास गर्यौ, जसरी नै प्रभुले हरेकलाई दिनुभएको छ। 6 मैले रोपें, अपोल्लोसले पानी लगाए, तर परमेश्वरले बढ़ाउनुभयो। 7 यसकारण न ता रोप्ने केही हो, न ता पानी हाल्ने, तर परमेश्वर नै हुनुहुन्छ, जसले बढ़ाउनुहुन्छ। 8 अब रोप्ने र पानी हाल्ने एकै हुन्; अनि हरेक मानिसले उसको आफ्नै मेहनतअनुसार उसको आफ्नै इनाम पाउनेछ। 9 किनकि हामी परमेश्वरका सहकर्मीहरू हौं; तिमीहरू परमेश्वरको खेत हौ, तिमीहरू परमेश्वरको भवन हौ।10 मलाई दिइएको परमेश्वरको अनुग्रहअनुसार एक बुद्धिमान् घर बनाउने नाइकेले झैं मैले जग बसालेको छु, र अर्कोले त्यसमाथि बनाउँदै लैजान्छ। तर त्यसमाथि उसले कसरी बनाउँदै लैजान्छ, त्यस विषयमा हरेक होशियार बसोस्। 11 किनकि त्यस बसालिएको जगलाई छोड़ेर, जो येशू ख्रीष्ट हुनुहुन्छ, कसैले पनि अर्को जग बसाल्न सक्दैन। 12 अब कसैले त्यस जगमाथि सुन, चाँदी, रत्नहरू, काठ, घाँस, परालले बनाउँदै लैजान्छ भने हरेकको काम प्रकट हुनेछ; 13 किनकि त्यस दिनले त्यो काम देखाउनेछ, किनकि त्यो आगोद्वारा प्रकट गरिनेछ; अनि हरेकको काम, त्यो कस्तो किसिमको रहेछ भनी आगोले जाँच गर्नेछ। 14 कसैको काम, जुन काम उसले त्यस जगमाथि बनाएको छ, रहिरह्यो भने उसले इनाम पाउनेछ। 15 कसैको काम जलिजान्छ भने उसले हानि भोग्नेछ; तर ऊ आफैचाहिँ बाँच्नेछ, तर आगोबाट भएर उम्केजस्तो। 16 तिमीहरू परमेश्वरको मन्दिर हौ, र परमेश्वरको आत्मा तिमीहरूभित्र वास गर्नुहुन्छ, के यो कुरा तिमीहरूलाई थाहा छैन? 17 कसैले परमेश्वरको मन्दिर नष्ट गर्दछ भने त्यसलाई परमेश्वरले नष्ट गर्नुहुनेछ; किनभने परमेश्वरको मन्दिर पवित्र हुन्छ, जुन मन्दिरचाहिँ तिमीहरू हौ।
18 कसैले आफैलाई धोका नदेओस्। यस संसारमा तिमीहरूको बीचमा कुनै मानिसले आफूलाई बुद्धिमान् छु भनी सम्झन्छ भने, बुद्धिमान् हुनका निम्ति ऊ मूर्ख बनोस्। 19 किनकि यस संसारको बुद्धि परमेश्वरको सामु मूर्खता हो। किनभने यस्तो लेखिएको छ:
‘उहाँले बुद्धिमान्हरूलाई तिनीहरूकै धूर्ततामा पक्रनुहुन्छ।’क
20 अनि फेरि,
‘परमप्रभुले बुद्धिमान्हरूका तर्कहरू व्यर्थका हुन् भनी जान्नुहुन्छ।’ख