ख्रीष्‍ट येशूको प्रेरितचाहिँ परमेश्‍वरका रहस्यहरूको भण्डारी हुन्
4
मानिसले हामीलाई ख्रीष्‍टका सेवकहरू र परमेश्‍वरका रहस्यहरूका भण्डारीहरू सम्झोस्। 2 अब भण्डारीहरूमा यो कुरा हुनुपरेको छ: मानिस विश्‍वासयोग्य पाइयोस्। 3 तर तिमीहरूद्वारा वा मानिसको न्यायद्वारा मेरो जाँच गरिनुचाहिँ मेरा निम्ति एकदमै सानो कुरा हो; अँ, म आफै पनि आफूलाई जाँच गर्दिनँ। 4 किनकि कुनै पनि विषयमा आफू दोषी भएको मलाई थाहा हुँदैन, तरै पनि यस कुराले म धर्मी ठहरिँदिनँ; तर मलाई जाँच गर्नुहुनेचाहिँ प्रभु हुनुहुन्छ। 5 यसकारण प्रभु नआउन्जेल समयभन्दा पहिले कुनै कुराको न्याय नगर! उहाँले अन्धकारमा लुकेका कुराहरू उज्यालोमा निकाल्नुहुनेछ र हृदयहरूका विचारहरू प्रकट गरिदिनुहुनेछ; अनि तब हरेकले परमेश्‍वरबाट प्रशंसा पाउनेछ।
6 अनि हे भाइहरूहो, लेखिएको भन्दा बढ़ी कसैको विषयमा नसोच्‍नुपर्ने रहेछ भन्‍ने पाठ तिमीहरूले हामीमा सिक्न सक, र तिमीहरूमध्ये कसैले पनि एकजनाको विरोध गर्दै दोस्रोको पक्षमा घमण्डले नफुलोस् भनेर नै मैले तिमीहरूका निम्ति यी कुराहरू दृष्‍टान्‍तको रूपमा आफू र अपोल्‍लोसमाथि लागू गराएको छु। 7 किनकि कसले तिमीलाई बेग्लै हुन लगायो? अनि तिमीसँग के छ र, जुनचाहिँ तिमीले अरूबाट पाएका छैनौ? तर तिमीले पाएकै हौ भने, मानो तिमीले पाएकै होइनौ जस्तो गरी किन घमण्ड गर्दछौ त? 8 तिमीहरू तृप्‍त भइसकेका छौ, तिमीहरू धनवान्‌ भइसकेका छौ; हामीविना नै तिमीहरूले राजाले झैं राज्य गरेका छौ; अनि साँच्‍चै तिमीहरूले राज्य गरेका म चाहन्छु, र हामी पनि तिमीहरूसँग राज्य गर्नेथियौं। 9 किनकि मलाई यस्तो लाग्छ, परमेश्‍वरले हामी प्रेरितहरूलाई मृत्युका निम्ति ठहराइएकाहरूलाई जस्तो गरी सबैभन्दा पछिल्तिर राख्‍नुभएको छ; किनकि हामी संसारका निम्ति, स्वर्गदूतहरूका निम्ति र मानिसहरूका निम्ति तमाशा बनाइएका छौं। 10 हामी ख्रीष्‍टका निम्ति मूर्ख छौं, तर तिमीहरू ख्रीष्‍टमा बुद्धिमान् छौ; हामी कमजोर छौं, तर तिमीहरू बलिया छौ; तिमीहरूले आदर पाएका छौ, तर हामी तुच्छ गनिएका छौं। 11 यही घड़ीसम्म पनि हामी भोकाउँछौं, तिर्खाउँछौं, नाङ्गा छौं, मुक्‍का खान्छौं र घरविहीन भएका हुन्छौं। 12 अनि आफ्नै हातले काम गर्दै हामी परिश्रम गर्दछौं। गिल्‍ला गरिँदा हामी आशिष्‌ दिन्छौं; सतावटमा पर्दा हामी सहन्छौं; 13 निन्दित हुँदा हामी विन्‍ती गर्दछौं; अहिलेसम्म हामी यस संसारको कसिङ्गर र सबैको फोहोर-मैलासरह भएका छौं। 14 तिमीहरूलाई लाजमा पार्नका निम्ति म यी कुराहरू लेख्दिनँ, तर मेरा प्रिय छोराछोरीहरूलाई जस्तै गरी म तिमीहरूलाई चेताउनी दिन्छु। 15 किनकि ख्रीष्‍टमा तिमीहरूका दस हजार तालिम दिने शिक्षकहरू भए तापनि तिमीहरूका धेरै बुबाहरूचाहिँ छैनन्; किनकि सुसमाचारद्वारा मैले तिमीहरूलाई ख्रीष्‍ट येशूमा जन्माएको हुँ। 16 यसकारण म तिमीहरूलाई विन्‍ती गर्दछु: तिमीहरू मेरो देखासिकी गर्नेहरू होओ! 17 यसैकारण मैले तिमीहरूकहाँ तिमोथीलाई पठाएँ, जो प्रभुमा मेरा प्रिय र विश्‍वासयोग्य छोरा हुन्; उनैले तिमीहरूलाई ख्रीष्‍टमा भएका मेरा चालहरूको सम्झना गराइदिनेछन्, जसरी म जहाँतहीं हरेक मण्डलीमा शिक्षा दिन्छु। 18 अब म तिमीहरूकहाँ आउँदै आउँदिनँ झैं गरी कतिजना घमण्डले फुलिएका छन्। 19 तर प्रभुको इच्छा भयो भने म चाँड़ै तिमीहरूकहाँ आउनेछु, र घमण्डले फुलिएकाहरूको बोली होइन, तर सामर्थ्य थाहा गर्नेछु। 20 किनकि परमेश्‍वरको राज्य शब्दमा होइन, तर सामर्थ्यमा छ। 21 तिमीहरू के इच्छा गर्दछौ? के म तिमीहरूकहाँ छड़ी लिएर आऊँ कि के म प्रेममा र नम्रताको आत्मामा आऊँ?