त्‍यस व्यभिचारी मानिसलाई निकालिदेओ!
5
तिमीहरूको बीचमा व्यभिचार छ भन्‍ने कुरा जहाँतहीं सुनिँदैछ, र यस्तो व्यभिचार, जसको नाम अन्यजातिहरूको बीचमा पनि लिइँदैन, अर्थात्‌ कसैले आफ्ना बुबाकी स्वास्‍नीलाई राखेको छ रे। 2 अनि तिमीहरू घमण्डले फुलिएका छौ, यस्तो काम गर्ने तिमीहरूको बीचबाट निकालियोस् भनेर बरु तिमीहरूले विलाप गर्नुपर्थ्यो। 3 किनकि साँच्‍चै शरीरमा गैरहाजिर, तर आत्मामा हाजिर भएर, जसले यस्तो काम गरेको छ, त्यसको विषयमा, मानौं हाजिर भएर मैले अघि नै न्याय गरेको छु। 4 जब तिमीहरू मेरो आत्माको साथमा, हाम्रा प्रभु येशू ख्रीष्‍टको सामर्थ्यसाथ भेला हुन्छौ, तब हाम्रा प्रभु येशू ख्रीष्‍टको नाममा 5 त्यो मान्छे शरीरको विनाशका निम्ति शैतानको हातमा सुम्पियोस्, कि आत्माचाहिँ प्रभु येशूको दिनमा बचाइयोस्। 6 तिमीहरूको घमण्ड गराइ असल होइन। अलिकति खमीरले सारा ढिकालाई खमीर बनाइदिन्छ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? 7 यसकारण पुरानो खमीर निकालेर शुद्ध पार, कि तिमीहरू नयाँ ढिका हुन सक, जस्तै अखमीरी तिमीहरू छौ पनि। किनकि ख्रीष्‍ट पनि, जो हाम्रो निस्तारको पाठो हुनुहुन्छ, हाम्रा निम्ति बलिदान हुनुभएको छ। 8 यसकारण लौ, हामी पुरानो खमीरले होइन, न ता द्वेष र दुष्‍टताको खमीरले नै, तर इमानदारी र सत्यताका अखमीरी रोटीले यो चाड़ मनाऔं!
9 व्यभिचारीहरूसँग सङ्गत नगर्नू भनी मैले तिमीहरूलाई एउटा पत्रमा लेखें; 10 तरै पनि यस संसारका जम्मै व्यभिचारीहरू, वा लोभीहरू, वा धुताहाहरू, वा मूर्तिपूजा गर्नेहरूसँग सङ्गत नगर्नू भनेको चाहिँ होइन; किनकि त्यसो हो भने त तिमीहरूले यस संसारबाट नै निस्केर जानुपर्छ। 11 तर भाइ कहलिएर पनि यदि कोही व्यभिचारी, वा लोभी, वा मूर्तिपूजक, वा गाली बक्ने, वा मतवाला, वा धुताहा हो भने त्यससँग सङ्गत नगर्नू भनी अब मैले तिमीहरूलाई लेखेको छु; त्यस्तोसँग खाँदै नखानू पनि। 12 किनकि बाहिरकाहरूलाई पनि न्याय गर्ने मलाई के काम छ र? के तिमीहरू भित्रकाहरूलाई न्याय गर्दैनौ? 13 तर तिनीहरू जो बाहिर छन्, तिनीहरूलाई परमेश्‍वरले न्याय गर्नुहुन्छ। यसकारण तिमीहरूले आफ्नो बीचबाट त्यस दुष्‍ट मान्छेलाई निकालिदेओ!