आपसमा मुद्दा नलड़!
6
कसैको विरोधमा केही कुरा हुन गएकोमा न्याय पाउनका निम्ति पवित्र जनहरूको सामु नगएर अधर्मीहरूको सामु जाने के तिमीहरूमध्ये कसैले साहस गर्दछ? 2 पवित्र जनहरूले संसारको न्याय गर्नेछन्, के यो कुरा तिमीहरूलाई थाहा छैन? अनि तिमीहरूद्वारा संसारको न्याय गरिनेछ भने सबैभन्दा साना कुराहरूको न्याय गर्न पनि के तिमीहरू अयोग्य छौ? 3 हामी स्वर्गदूतहरूको न्याय गर्नेछौं, के यो तिमीहरूलाई थाहा छैन? यस जीवनसम्बन्धी कुराहरूको त झन् कति बढ़ी गर्नेछौं? 4 यसकारण तिमीहरूले यस जीवनसम्बन्धी कुराहरूको न्याय गर्नुपरेको छ भने तिमीहरूले न्याय गर्नका लागि मण्डलीमा केही आदर नभएकाहरूलाई बसाओ! 5 म तिमीहरूलाई शर्ममा पार्नलाई यसो भन्दछु। के साँच्‍चै तिमीहरूको बीचमा बुद्धिमान् मानिस छैन? आफ्ना दाजुभाइहरूको बीचमा न्याय गर्न सक्ने एकैजना पनि छैन? 6 तर भाइले भाइको विरोधमा मुद्दा लड़्छ, र त्यो पनि अविश्‍वासीहरूको सामु। 7 यसकारण अब तिमीहरूको बीचमा साँच्‍चै एउटा ठूलो दोष भएको छ; किनकि तिमीहरू एउटाले अर्काको विरोधमा मुद्दा गर्दछौ। तिमीहरू किन बरु अन्याय सहँदैनौ? किन बरु ठगिएर बस्दैनौ? 8 तर तिमीहरू त अन्याय पो गर्दछौ, र ठग्दछौ! त्यो पनि आफ्नै भाइहरूलाई! 9 के यो तिमीहरूलाई थाहा छैन? अधर्मीहरू परमेश्‍वरको राज्यका हकवाला हुनेछैनन्। धोका नखाओ! व्यभिचारीहरू, मूर्तिपूजकहरू, परस्त्रीगामीहरू, पुरुषगामीहरू, 10 चोरहरू, लोभीहरू, मतवालाहरू, गाली बक्नेहरू र धुताहाहरू परमेश्‍वरको राज्यका हकवाला हुनेछैनन्। 11 अनि तिमीहरूमध्ये कतिजना यस्तै थियौ; तर तिमीहरू धोइएका छौ, तर तिमीहरू पवित्र पारिएका छौ, तर तिमीहरू प्रभु येशूको नाममा र हाम्रा परमेश्‍वरको आत्माद्वारा धर्मी ठहरिएका छौ।
हाम्रो शरीर प्रभुको महिमाका निम्ति हो
12 सबै कुराहरू मेरा निम्ति उचित त छन्, तर सबै कुराहरू फाइदा दिने हुँदैनन्। सबै कुराहरू मेरा निम्ति उचित त छन्, तर म कुनैको वशमा पनि पर्नेछैनँ। 13 खानेकुराहरू पेटका निम्ति र पेट खानेकुराहरूका निम्ति हो; तर परमेश्‍वरले यसलाई र तिनीहरूलाई पनि नष्‍ट गर्नुहुनेछ। अब शरीर व्यभिचारका निम्ति होइन, तर प्रभुका निम्ति हो, अनि प्रभुचाहिँ शरीरका निम्ति। 14 अनि परमेश्‍वरले प्रभुलाई बौराएर उठाउनुभयो, र हामीलाई पनि आफ्नै सामर्थ्यद्वारा बौराएर उठाउनुहुनेछ। 15 तिमीहरूका शरीरहरू ख्रीष्‍टका अङ्गहरू हुन्, के यो तिमीहरूलाई थाहा छैन? तब के म ख्रीष्‍टका अङ्गहरू लगेर वेश्याका अङ्गहरू बनाऊँ? कदापि हुँदैन! 16 अथवा जो वेश्यासँग मिल्छ, यो त्योसँग एउटै शरीर हुन्छ, के यो तिमीहरूलाई थाहा छैन? किनकि उहाँ भन्‍नुहुन्‍छ: ‘यी दुईजना एउटै शरीर हुनेछन्।’ 17 तर जो प्रभुसँग मिल्छ, ऊ उहाँसँग एउटै आत्मा हुन्छ। 18 व्यभिचारदेखि भाग! हरेक पाप जुनचाहिँ मानिसले गर्दछ, शरीरदेखि बाहिर हुन्छ; तर जसले व्यभिचार गर्दछ, त्यसले आफ्नै शरीरको विरोधमा पाप गर्दछ। 19 अथवा के यो तिमीहरूलाई थाहा छैन? तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जो तिमीहरूभित्र हुनुहुन्छ, जसलाई तिमीहरूले परमेश्‍वरबाट पायौ, र तिमीहरू आफैका होइनौ; 20 किनकि तिमीहरू दाम तिरेर किनिएका हौ। यसकारण आफ्नो शरीर र आफ्नो आत्मामा परमेश्‍वरको महिमा गर, जुनचाहिँ परमेश्‍वरका हुन्।