विवाह र संयम, अविवाहित र विधवा
7
अब तिमीहरूले मलाई लेखेका कुराहरूको विषयमा – स्त्रीलाई नछुनु नै पुरुषका निम्ति असल हो। 2 तरै पनि व्यभिचार हुन नदिनलाई हरेक पुरुषकी आफ्नै पत्‍नी होस्, र हरेक स्त्रीको आफ्नै पति होस्। 3 पतिले आफ्नी पत्‍नीलाई दिनुपर्ने कोमलता देओस्, र त्यही प्रकारले पत्‍नीले पनि पतिलाई देओस्। 4 आफ्नो शरीरमाथि पत्‍नीको अधिकार छैन, तर पतिको हुन्छ; अनि त्यही प्रकारले पतिको पनि आफ्नो शरीरमाथि अधिकार छैन, तर पत्‍नीको हुन्छ। 5 उपवास र प्रार्थनामा पूरा समय दिन सक्नलाई आपसमा एक मतका भएर केही समयका लागि बाहेक एक-अर्कादेखि अलग नहोओ; अनि फेरि एकसाथ भइहाल, नत्र शैतानले तिमीहरूलाई तिमीहरूको असंयमको कारणले परीक्षामा पार्नेछ। 6 तर म यो अनुमतिको रूपमा भन्दछु, आज्ञाको रूपमा होइन। 7 तर म त सबै मानिसहरू मजस्तै होऊन् भन्‍ने चाहन्छु। तर हरेकसँग परमेश्‍वरबाट आ-आफ्नो वरदान हुन्‍छ – कसैको यस किसिमको, कसैको अर्को किसिमको।
8 यसकारण म विवाह नगरेकाहरूलाई र विधवाहरूलाई भन्दछु: म जस्तो छु, त्यस्तै उनीहरू रहे भने उनीहरूका निम्ति यो असल हो। 9 तर उनीहरूले आफूलाई वशमा राख्‍न सक्दैनन् भने उनीहरूले विवाह गरून्; किनभने जल्नुभन्दा विवाह गर्नु असल हो।
10 अनि विवाह गरेकाहरूलाई म आज्ञा गर्छु – मैले होइनँ, तर प्रभुले गर्नुहुन्छ: पत्‍नी आफ्ना पतिबाट नछुट्टिओस्। 11 तर ऊ छुट्टिएर बसी भने पनि विवाह नगरी बसोस्, अथवा उसले आफ्ना पतिसँग मेल गरोस्; अनि पतिले पनि आफ्नी पत्‍नीलाई नत्यागोस्।
12 तर अरूलाई प्रभुले होइन, म भन्दछु: यदि कुनै भाइकी अविश्‍वासी पत्‍नी छे, र त्यो ऊसित रहन राजी हुन्छे भने उसले त्यसलाई नत्यागोस्। 13 अनि कुनै स्त्रीको अविश्‍वासी पति छ, र त्यो ऊसित रहन राजी हुन्‍छ भने उसले त्यसलाई नछोड़ोस्। 14 किनकि विश्‍वास नगर्ने पति पत्‍नीद्वारा पवित्र हुन्छ, र विश्‍वास नगर्ने पत्‍नी पतिद्वारा पवित्र हुन्छे; नत्रभने तिमीहरूका छोराछोरीहरू अशुद्ध हुनेथिए, तर अबचाहिँ उनीहरू पवित्र छन्। 15 तर विश्‍वास नगर्ने छुट्टिन्छ भने त्यो छुट्टियोस्; यस्ता अवस्थामा भाइ वा बहिनी बन्धनमा छैन। तर परमेश्‍वरले हामीलाई मेलमिलापका निम्ति बोलाउनुभएको छ। 16 किनकि हे पत्‍नी, तिमी के जान्दछ्यौ, कहीं तिमीले आफ्ना पतिलाई पो बचाउन सक्छ्यौ कि? अथवा हे पति, तिमी के जान्दछौ, कहीं तिमीले आफ्नी पत्‍नीलाई पो बचाउन सक्छौ कि?
17 तर जसरी परमेश्‍वरले हरेकलाई बाँड़िदिनुभएको छ, जसरी प्रभुले हरेकलाई बोलाउनुभएको छ, त्यसरी नै ऊ हिँड़ोस्। अनि सबै मण्डलीहरूमा म यस्तै आज्ञा गर्छु। 18 के कुनै मानिस खतना भएको अवस्थामा बोलाइएको छ? ऊ खतनाविनाको नबनोस्। के कोही खतना नभएको अवस्थामा बोलाइएको छ? उसको खतना नगरियोस्। 19 खतना केही होइन, विनाखतना पनि केही होइन, तर परमेश्‍वरका आज्ञाहरू पालन गर्नुचाहिँ खास कुरा हो। 20 हरेक मानिस जुन बोलावटमा बोलाइएको छ, त्यसैमा रहिरहोस्। 21 के तिमी दास भएको अवस्थामा बोलाइएका छौ? त्यसका लागि चिन्ता नगर; तर तिमी स्वतन्‍त्र हुन सक्छौ भने बरु त्यसै गर! 22 किनकि जो दास भएकै अवस्थामा प्रभुमा बोलाइएको छ, ऊ प्रभुको स्वतन्‍त्र पारिएको मानिस हो; त्यही प्रकारले जो स्वतन्‍त्र भएको अवस्थामा बोलाइएको छ, ऊ ख्रीष्‍टको दास हो। 23 तिमीहरू दाम तिरेर किनिएकाहरू हौ; तिमीहरू मानिसहरूका दास नबन! 24 हे भाइहरूहो, हरेक मानिस जुन अवस्थामा बोलाइएको छ, त्यसैमा परमेश्‍वरको साथमा रहिरहोस्।
25 अब कन्याहरूको विषयमा चाहिँ मसित प्रभुको कुनै आज्ञा छैन; तर विश्‍वासयोग्य हुनलाई प्रभुबाट दया पाएको मानिसले झैं म आफ्नो निर्णय दिन्छु। 26 यसकारण म सोच्दछु, वर्तमान समयको कष्‍टको कारणले मानिसका निम्ति ऊ जस्तो छ, त्यस्तै रहनु नै असल हो। 27 के तिमी पत्‍नीसँग बाँधिएका छौ? मुक्त हुन नखोज! के तिमी पत्‍नीबाट मुक्त भएका छौ? पत्‍नीको खोजी नगर! 28 तर तिमीले विवाह गर्‍यौ भने पनि तिमीले पाप गरेका हुँदैनौ; अनि कुनै कन्याले विवाह गरी भने पनि उसले पाप गरेकी छैन। तरै पनि यस्ताहरूले शरीरमा कष्‍ट पाउनेछन्। तर म तिमीहरूसँग कड़ा व्यवहार गर्दिनँ।
29 तर भाइहरूहो, म यो भन्दछु: समय छोटो छ; अबदेखि पत्‍नी हुनेहरू पनि नहुनेहरूजस्ता होऊन्; 30 अनि रुनेहरू पनि नरुनेहरूजस्ता; अनि आनन्द मनाउनेहरू पनि आनन्द नमनाउनेहरूजस्ता; र किन्‍नेहरू पनि केही थोक नभएकाहरूजस्ता होऊन्; 31 अनि यस संसारसँग व्यवहार राख्‍नेहरू पनि व्यवहार नराख्‍नेहरूजस्ता होऊन्; किनकि यस संसारको रीति बितेर जान्छ। 32 तर तिमीहरूलाई फिक्री नहोस् भन्‍ने म चाहन्छु। जसले विवाह गरेको छैन, उसले ‘म प्रभुलाई कसरी खुशी पारूँ’ भन्दै प्रभुकै कुराहरूको विषयमा फिक्री गर्दछ। 33 तर जसले विवाह गरेको छ, उसले ‘म मेरी पत्‍नीलाई कसरी खुशी पारूँ’ भन्दै संसारका कुराहरूको विषयमा फिफ्री गर्दछ। 34 एउटी पत्‍नी र एउटी कन्यामा पनि भिन्‍नता पाइन्छ। विवाह नगरेकी स्त्रीले दुवै शरीर र आत्मामा पवित्र हुनका निम्ति प्रभुकै कुराहरूको विषयमा फिक्री गर्छे। तर विवाह गरेकी स्त्रीले चाहिँ ‘म मेरा पतिलाई कसरी खुशी पारूँ’ भन्दै संसारका कुराहरूको विषयमा फिक्री गर्छे। 35 अनि तिमीहरूकै फाइदाका निम्ति म यो भन्दछु, तिमीहरूलाई फन्दामा पार्नका निम्ति होइन, तर जुन कुरा सठीक छ, त्यस कुराका लागि, र तिमीहरूले एक चित्त भएर प्रभुको सेवा गर्न सक भनेर। 36 तर कुनै मानिसले ‘मैले आफ्नी कन्याप्रति बेठीक व्यवहार गरिरहेको छु’ भनी सम्झन्छ, उसको जोबन पनि ढल्किँदैछ र यस्तै खाँचो छ भने त्यसलाई जे इच्छा लाग्छ, सोही गरोस्, त्यसले पाप गर्दैन; तिनीहरूले विवाह गरून्। 37 तरै पनि जो आफ्नो हृदयमा दृढ़ भएर उभिन्छ र जसको खाँचो पनि छैन, तर आफ्नो इच्छामाथि उसको अधिकार छ, र उसले आफ्नी कन्यालाई त्यतिकै राख्‍ने आफ्नो हृदयमा निश्‍चय गरेको छ भने उसले असल गर्दछ। 38 यसकारण जसले उसको विवाह गरिदिन्छ, त्यसले असल गर्दछ, तर जसले उसको विवाह गरिदिँदैन, त्‍यसले झन् असल गर्दछ।
39 जबसम्म उसको पति जीवित रहन्छ, तबसम्म पत्‍नी व्यवस्थाद्वारा बाँधिएकी हुन्छे; तर उसको पति मरिगयो भने उसले जससँग चाहन्छे, त्यसैसँग विवाह गरिनलाई ऊ स्वतन्‍त्र हुन्छे, तर प्रभुमा मात्र। 40 तर मेरो विचारअनुसार ऊ त्यतिकै रही भने ऊ झन् सुखी हुन्छे; अनि म सोच्दछु, परमेश्‍वरको आत्मा मसँग हुनुहुन्छ।