प्रेरित पावलका ईश्‍वरीय दर्शनहरू र उनको शरीरमा भएको काँड़ा
12
गर्व गर्नु मेरा लागि निश्‍चय नै फाइदा दिने कुरा होइन, तरै पनि म प्रभुका दर्शन र प्रकाशहरूको विषयमा कुरा गर्नेछु: 2 ख्रीष्‍टमा म एकजना मानिसलाई चिन्छु; चौध वर्षअघि, (शरीरमा हो कि, म जान्दिनँ; विनाशरीर हो कि, म जान्दिनँ; परमेश्‍वर जान्‍नुहुन्‍छ), यस्तो मानिस तेस्रो स्वर्गमा उठाइयो। 3 अनि म यस्तो एकजना मानिसलाई चिन्छु, (शरीरमा हो कि वा विनाशरीर हो, म जान्दिनँ; परमेश्‍वर जान्‍नुहुन्‍छ), 4 जो स्वर्गमा उठाइयो, र जसले बयान गर्नै नसकिने कुराहरू सुन्यो, जुन कुराहरू उच्‍चारण गर्नु मानिसका निम्ति उचित होइन। 5 यस्तो मानिसको विषयमा चाहिँ म गर्व गर्नेछु; तर आफ्नो विषयमा चाहिँ मेरा दुर्बलताहरूमा बाहेक अरू कुनै कुरामा म गर्व गर्नेछैनँ। 6 किनकि मैले गर्व गर्ने इच्छा गरें भने पनि म मूर्ख ठहरिनेछैनँ; किनकि म सत्य बोल्नेछु; तरै पनि म रोकिन्छु, नत्र ता कसैले जस्तो मलाई देख्छ वा जे मबाट सुन्छ, मलाई त्योभन्दा बढ़ी सम्झनेछ।
7 अनि प्रकाशहरूको भरपूरीको कारणले म नापभन्दा बढ़ी नफुलूँ भनेर मेरो शरीरमा एउटा काँड़ा अर्थात्‌ शैतानको एउटा दूत दिइयो – नापभन्दा बढ़ी नफुलूँ भनेर यो मलाई मुक्‍काले हान्‍नका निम्ति दिइयो। 8 यो मबाट हटोस् भनी यस कुराका लागि मैले प्रभुलाई तीनपल्‍ट विन्‍ती गरें। 9 तर उहाँले मलाई भन्‍नुभयो: ‘मेरो अनुग्रह तिम्रा लागि प्रशस्त छ, किनकि दुर्बलतामा मेरो सामर्थ्य सिद्ध हुन्छ।’ यसकारण ख्रीष्‍टको सामर्थ्य ममाथि रहोस् भनेर बरु मेरा दुर्बलताहरूमा ज्यादै खुशीसित म गर्व गर्नेछु। 10 यसकारण ख्रीष्‍टका निम्ति म दुर्बलताहरूमा, निन्दाहरूमा, अभावहरूमा, सतावटहरूमा, क्लेशहरूमा आनन्दित हुन्छु; किनकि जब म कमजोर छु, तब म बलियो हुन्छु।
प्रेरितका लक्षणहरू
11 गर्व गरेर म मूर्ख बनेको छु; तिमीहरूले मलाई करमा पार्‍यौ; किनकि तिमीहरूद्वारा मेरो प्रशंसा हुनुपर्नेथियो, किनभने म केही नभए तापनि म कुनै कुरामा सबैभन्दा मुख्य प्रेरितहरूभन्दा कम छैनँ। 12 साँच्‍ची नै प्रेरितका लक्षणहरू तिमीहरूको बीचमा सम्पूर्ण धीरजसाथ चिन्हहरू, अचम्मका कामहरू र सामर्थ्यका कामहरूमा प्रकट गरिएका थिए। 13 किनभने मैले आफूलाई तिमीहरूका निम्ति भार बनाइनँ, योबाहेक अरू के कुरामा तिमीहरू अरू मण्डलीहरूभन्दा कम थियौ र? यस अन्यायका निम्ति मलाई क्षमा देओ!
कोरिन्थीहरूप्रति प्रेरित पावलको चिन्ता
14 हेर, तेस्रो पटक म तिमीहरूकहाँ आउन तयार छु; अनि म तिमीहरूका निम्ति भार बन्‍नेछैनँ; किनकि म तिमीहरूका सम्पत्ति होइन, तर तिमीहरूलाई नै चाहन्छु; किनकि छोराछोरीहरूले बुबाआमाका निम्ति जोहो गर्नुपर्दैन, तर बुबाआमाले छोराछोरीहरूका निम्ति गर्नुपर्छ। 15 अनि तिमीहरूका आत्माका निम्ति म ज्यादै खुशीसित खर्च गर्नेछु, र खर्चिनेछु पनि, चाहे मैले तिमीहरूलाई प्रशस्त प्रेम गरेर पनि मैले थोरै प्रेम किन नपाऊँ। 16 तर हुन सक्छ, मैले तिमीहरूलाई भार बोकाइनँ; तर पनि धूर्त भएर मैले तिमीहरूलाई छल गरेर फसाएँ। 17 मैले ज-जसलाई तिमीहरूकहाँ पठाएँ, के तीमध्ये कसैद्वारा मैले तिमीहरूबाट फाइदा उठाएँ? 18 मैले तीतसलाई विन्‍ती गरें, र उनको साथमा एकजना भाइलाई पठाएँ। के तीतसले तिमीहरूबाट फाइदा उठाए? के हामी एकै आत्मामा हिँड़ेनौं र? के हामी एकै कदममा चलेनौं र? 19 फेरि तिमीहरूको सामु हामी आफ्नो पक्षमा बहस गरिरहेका छौं भन्‍ने के तिमीहरू सम्झन्छौ? परमेश्‍वरको सामु हामी ख्रीष्‍टमा बोल्दछौं; तर प्रियहरूहो, तिमीहरूकै उन्‍नतिका निम्ति हामी सबै कुरा गर्दछौं। 20 किनकि जब म आउँला, तब मैले आफू चाहेजस्तो तिमीहरूलाई नभेट्टाउँला कि, र तिमीहरूले चाहिँ मलाई आफूले नचाहेजस्तो भेट्टाऔला कि भन्‍ने डर मलाई लागेको छ; कहीं तिमीहरूको बीचमा झगड़ा, डाहा, क्रोध, विरोध, निन्दा, कानफुकाइ, अहङ्कार, गड़बड़ीहरू पो पाइन्छन् कि; 21 कहीं म फेरि आउँदा तिमीहरूको बीचमा मेरा परमेश्‍वरले मलाई दीन तुल्याउनुहुन्छ कि, र ती पहिले पाप गर्ने, तर आफूले गरेका अशुद्धता, व्यभिचार र कामुकताबाट पश्‍चात्ताप नगर्ने धेरैजनाका निम्ति मैले विलाप पो गर्नुपर्ला कि?