झूटा प्रेरितहरू र पावल
11
मेरो मूर्खतामा तिमीहरूले मलाई थोरै सहिदिएका भए कति राम्रो हुनेथियो! तर तिमीहरूले मलाई सहन्छौ पनि। 2 किनकि म ईश्वरीय ईर्ष्याले तिमीहरूका लागि ईर्ष्यालु भएको छु; किनकि तिमीहरूलाई एउटी चोखी कन्याको रूपमा ख्रीष्टकहाँ अर्पण गरूँक भनेर मैले एक पतिका लागि तिमीहरूको मगनी गरिदिएको छु। 3 तर जसरी साँपले आफ्नो धूर्तताद्वारा हव्वालाई धोका दियो, त्यसरी नै कुनै न कुनै प्रकारले तिमीहरूका मनहरू ख्रीष्टप्रति भएको सीधापनाबाट भ्रष्ट हुन्छन् कि भन्ने डर मलाई लाग्छ। 4 किनकि यदि त्यो आउनेले हामीले प्रचार नगरेको अर्कै येशूको प्रचार गर्छ भने, अथवा तिमीहरूले नपाएको अर्कै आत्मा, अथवा तिमीहरूले ग्रहण नगरेको अर्कै सुसमाचार पाउँछौ भने तिमीहरूले त्यसलाई राम्ररी सहन सक्नेथियौ।5 किनकि म ठान्दछु, म कुनै कुरामा पनि सबैभन्दा मुख्य प्रेरितहरूभन्दा कम छैनँ। 6 तर बोल्नमा म भद्दा भए तापनि ज्ञानमा छैनँ; तर हामी हर प्रकारले सबै कुरामा तिमीहरूकहाँ प्रकट भएका छौं। 7 तिमीहरू माथि उचालिओ भनेर मैले आफूलाई होच्याएकोमा के मैले पाप गरें त? किनभने मैले तिमीहरूलाई परमेश्वरको सुसमाचार सित्तैंमा प्रचार गरेको छु। 8 तिमीहरूको सेवा गर्नलाई अरू मण्डलीहरूबाट ज्याला लिईकन मैले उनीहरूलाई लुटें। 9 अनि जब म तिमीहरूसँग थिएँ र मलाई खाँचो पर्यो, तब म कसैका निम्ति भार बनिनँ; किनकि जुन कुराको मलाई खाँचो थियो, त्यो कुरा म्यासिडोनियाबाट आएका भाइहरूले पूरा गरिदिए। अनि हरेक कुरामा मैले आफूलाई तिमीहरूका निम्ति भार हुन दिएको छैनँ, दिनेछैनँ पनि। 10 ख्रीष्टको सत्यता ममा भएकोले अखैयाका इलाकाहरूमा कसैले मलाई यस गर्वबाट रोक्नेछैन। 11 किन? मैले तिमीहरूलाई प्रेम नगरेको कारणले? परमेश्वर जान्नुहुन्छ!
12 तर तिनीहरू जुन कुरामा घमण्ड गर्दछन्, त्यस कुरामा तिनीहरू पनि हामीजस्ता ठहरिऊन् भनेर ती मौका खोज्नेहरूबाट मौका काटिदिनका निम्ति म जे गर्छु, त्यही म गर्नेछु पनि। 13 किनकि यस्ताहरूचाहिँ झूटा प्रेरितहरू, छली कामदारहरू, ख्रीष्टका प्रेरितहरूको भेषमा आफूलाई बदल्नेहरू हुन्। 14 अनि यो अचम्मको कुरा होइन; किनकि शैतान आफैले पनि ज्योतिर्मय स्वर्गदूतको भेष धारण गर्छ। 15 यसकारण त्यसका सेवकहरूले पनि धार्मिकताका सेवकहरूको भेष धारण गरे भने त्यो कुनै ठूलो कुरा होइन; तिनीहरूको अन्त तिनीहरूका कामहरूअनुसार हुनेछ।
प्रेरित पावलले प्रभु येशूका निम्ति खपेका कष्टहरूको विवरण
16 म फेरि भन्दछु, कसैले पनि मलाई मूर्ख नसम्झोस्! होइन भने मूर्ख सम्झेर नै मलाई ग्रहण गर, ताकि म पनि अलिकति गर्व गर्न पाऊँ। 17 यस गर्वपूर्ण निर्धक्कतामा म जे बोल्छु, त्यो कुरा प्रभुअनुसार होइन, तर मानो मूर्खतापूर्वक बोल्छु। 18 धेरैजनाले शरीरअनुसार गर्व गरेकाले म पनि गर्व गर्नेछु; 19 किनकि तिमीहरू बुद्धिमान् भएकाले आनन्दसाथ मूर्खहरूलाई सहन्छौ। 20 किनकि कसैले तिमीहरूलाई कमारा बनायो भने पनि, कसैले तिमीहरूलाई निल्यो भने पनि, कसैले तिमीहरूलाई धुत्यो भने पनि, कसैले आफूलाई उच्च पार्यो भने पनि, कसैले तिमीहरूलाई मुखैमा हिर्कायो भने पनि तिमीहरू सहन्छौ।
21 मानो हामी कमजोर भएझैं म बेइज्जतको सिलसिलामा बोल्छु; तरै पनि कुनै कुरामा कोही हिम्मतदार हुन्छ भने, म मूर्खतापूर्वक बोल्छु, म पनि हिम्मतदार हुन्छु। 22 के तिनीहरू हिब्रूहरू हुन्? म पनि हुँ! के तिनीहरू इस्राएलीहरू हुन्? म पनि हुँ! के तिनीहरू अब्राहामका वंश हुन्? म पनि हुँ! 23 के तिनीहरू ख्रीष्टका सेवकहरू हुन्? (म पागलसरह बोल्छु), म झन् बढ़ी! परिश्रमहरूमा अत्यन्तै बढ़ी, कोर्राहरूमा बेहिसाब गरी, कैदहरूमा झन् घरीघरी, मृत्युहरूमा बारम्बार। 24 यहूदीहरूको हातबाट मैले पाँचपल्ट उनन्चालीस-उनन्चालीस कोर्रा खाएँ। 25 तीनपल्ट म लौराले पिटिएँ; एकपल्ट म ढुङ्गाले हानिएँ; तीनपल्ट म चढ़ेको जहाज भताभुङ्ग भयो; मैले समुद्रमाख एक रात र एक दिन बिताएँ; 26 बारम्बार यात्रा गर्नमा, नदीहरूका जोखिमहरूमा, डाँकूहरूका जोखिमहरूमा, मेरा आफ्नै जातिभाइहरूबाटका जोखिमहरूमा, अन्यजातिहरूबाटका जोखिमहरूमा, शहरभित्रका जोखिमहरूमा, मरुभूमिका जोखिमहरूमा, समुद्रका जोखिमहरूमा, झूटा भाइहरूको बीचमा हुने जोखिमहरूमा; 27 परिश्रम र कष्टमा, बारम्बार जागा-बसाइमा, भोक र तिर्खामा, बारम्बार उपवासहरूमा, जाड़ो र नाङ्गो अवस्थामा। 28 बाहिरका कुराहरूबाहेक दिनहुँ सबै मण्डलीहरूको चिन्ता ममाथि आइपर्छ। 29 को कमजोर छ, र म कमजोर हुँदिनँ? कसले ठेस खाएको छ, र म जल्दिनँ? 30 यदि मैले गर्व गर्नुपर्छ भने म मेरा दुर्बलताका कुराहरूमा गर्व गर्नेछु। 31 हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता जो सदा-सर्वदा धन्य हुनुहुन्छ, उहाँ जान्नुहुन्छ, म झूट बोल्दिनँ। 32 दमस्कसमा अरेतास राजाका एकजना राज्यपालले मलाई पक्रने इच्छा गरेर दमस्कसवासीहरूको त्यस शहरमा पहरा राखेका थिए; 33 तर म एउटा झ्यालदेखि एउटा टोकरीमा पर्खालबाट तल ओरालिएँ र उनका हातबाट उम्कें।