आफ्नो सेवाकाइको विषयमा प्रेरित पावलको प्रतिरक्षा
10
अब म पावल आफै ख्रीष्टको नम्रता र कोमलताद्वारा तिमीहरूलाई विन्ती गर्दछु - म तिमीहरूको बीचमा उपस्थित हुँदा नम्र हुन्छु, तर अनुपस्थित हुँदा चाहिँ तिमीहरूतर्फ साहसी हुन्छु; 2 तर म तिमीहरूलाई विन्ती गर्दछु: जब म उपस्थित होउँला, तब त्यस भरोसामा मैले साहस देखाउनु नपरोस्, जुन भरोसामा मैले कतिको विरोधमा साहसी हुने विचार गरेको छु, जसले हाम्रो विषयमा हामी शरीरअनुसार हिँड़्नेहरू हौं भनी सोचेका छन्। 3 किनकि शरीरमा हिँड़े तापनि हामी शरीरअनुसारचाहिँ लड़ाइँ गर्दैनौं; 4 (किनकि हाम्रो लड़ाइँका हतियारहरू शारीरिक छैनन्, तर किल्लाहरू भत्काउनका लागि परमेश्वरद्वारा सामर्थी छन्); 5 हामी तर्कहरू र परमेश्वरको ज्ञानको विरोधमा आफूलाई उचाल्ने हरेक उच्च कुरा ढालिदिन्छौं र ख्रीष्टको आज्ञाकारी बनाउनलाई हरेक विचार कैद गर्छौं; 6 र जब तिमीहरूको आज्ञाकारिता पूरा हुन्छ, तब हामी सबै अनाज्ञाकारिताको बदला दिने तयारीमा रहन्छौं।7 के तिमीहरू कुराहरू बाहिरी रूपअनुसार हेर्दछौ? यदि कसैले ‘म ख्रीष्टको हुँ’ भनी आफूमाथि भरोसा गर्छ भने, ऊ आफैले अझ एकपल्ट यो पनि सोचोस्: जसरी ऊ ख्रीष्टको हो, त्यसरी नै हामी पनि ख्रीष्टका हौं। 8 किनकि जुन अधिकार प्रभुले हामीलाई तिमीहरूको विनाशका निम्ति होइन, तर तिमीहरूको उन्नतिका निम्ति दिनुभएको छ, त्यस हाम्रो अधिकारको विषयमा मैले अलिक बढ़ी गर्व गरे तापनि म शर्ममा पर्नेछैनँ, 9 यसैले कि पत्रहरूद्वारा तिमीहरूलाई डर देखाउनेजस्तो म देखा नपरूँ। 10 किनकि तिनीहरू भन्छन्, ‘उनका पत्रहरू त गहकिला र जोरदार हुन्छन्, तर उनको शारीरिक उपस्थिति कमजोर छ, र उनको भाषण बित्थाको हुन्छ।’ 11 यस्तो मानिसले यो याद गरोस्: अनुपस्थित हुँदा पत्रहरूद्वारा वचनमा हामी जस्ता छौं, उपस्थित हुँदा काममा पनि हामी त्यस्तै हुनेछौं।
12 किनकि आफ्नो प्रशंसा गर्ने कुनै-कुनै मानिसहरूको गन्तीमा आफूलाई राख्न वा तिनीहरूसँग आफूलाई तुलना गर्न हामी साहस गर्दैनौं; तर ती आफूलाई एक-अर्कासँग नापजोख गर्नेहरू र एक-अर्कासँग आफूलाई तुलना गर्नेहरू बुद्धिमान् होइनन्। 13 तर हामी आफ्नो नापदेखि बाहिरका कुराहरूमा गर्व गर्नेछैनौं, तर परमेश्वरले हामीलाई बाँड़िदिनुभएको सिमानाको नापअनुसार मात्र गर्दछौं, जो नाप तिमीहरूसम्म पनि पुग्छ। 14 किनकि हामी तिमीहरूसम्म आइपुगेकै छैनौं झैं गरी हामी आफूलाई नापदेखि बाहिर तन्काउँदैनौं; किनकि हामी ख्रीष्टको सुसमाचारको प्रचारमा तिमीहरूसम्म पनि आइपुगेका छौं। 15 नापदेखि बाहिरका कुराहरूमा अर्थात् अरू मानिसहरूको मेहनतमाथि हामी गर्व गर्दैनौं; तर हामी आशा राख्छौं: जब तिमीहरूको विश्वास बढ़्छ, तब हाम्रो सिमानाको सम्बन्धमा तिमीहरूद्वारा हामी प्रशस्त गरी बढ़ाइनेछौं, 16 तिमीहरूदेखि पल्लापट्टिका इलाकाहरूमा पनि सुसमाचार प्रचार गर्नलाई, अर्को मानिसको सिमानाभित्र तयार पारिएका कुराहरूमा गर्व गर्नलाई होइन।