9
किनकि अब पवित्र जनहरूको सेवा गर्ने कामको सम्बन्धमा तिमीहरूलाई लेख्‍ने मलाई केही आवश्यकता छैन; 2 किनकि म तिमीहरूको मनको तयारीपना जान्दछु, जुन कुराका निम्ति ‘अखैया त एक वर्ष अघिदेखि तयार छ’ भन्दै म्यासिडोनियामा बस्‍नेहरूको सामु म तिमीहरूको विषयमा गर्व गर्छु; र तिमीहरूको जोशले धेरैजनालाई उत्तेजित पारेको छ। 3 तैपनि यस विषयमा तिमीहरूको पक्षमा गरेको हाम्रो गर्व कहीं व्यर्थ होला कि भनी मैले यी भाइहरूलाई पठाएको छु; र मैले भनेअनुसार तिमीहरू तयार भएका होओ; 4 नत्र ता म्यासिडोनियामा बस्‍नेहरू मसँग आए भने, र तिमीहरूलाई तयार नभएको भेट्टाए भने हामी (तिमीहरू भनी हामी भन्दैनौं) यही भरोसामा गरिएको गर्वका निम्ति शर्ममा पर्नेछौं। 5 यसकारण यी भाइहरू अघिबाट तिमीहरूकहाँ जाऊन्, र पहिल्यै प्रतिज्ञा गरिएको तिमीहरूको उदारताको दान तयार पारिराखून् भनी यी भाइहरूलाई प्रोत्साहन दिनु मैले आवश्यक सम्झें, कि त्योचाहिँ उदारताको दानजस्तो होस्, तर लोभको जस्तो नहोस्।
दान कसरी दिनुपर्छ?
6 तर म यो भन्दछु: जसले थोरै छर्छ, त्यसले थोरै कटनी पनि गर्नेछ; तर जसले धेरै छर्छ, उसले धेरै नै कटनी पनि गर्नेछ। 7 हरेकले आफ्नो हृदयमा जस्तो संकल्प गर्छ, त्यस्तै देओस्; चित्त दुखाउँदै होइन, न ता करमा परेर नै; किनभने हर्षसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ। 8 अनि तिमीहरू सधैंभरि सबै कुराहरूमा पूरा भरिभराउ भएर हरेक असल कामका लागि भरपूर होओ भनेर तिमीहरूलाई प्रशस्त गरी सबै अनुग्रह दिन परमेश्‍वर सामर्थी हुनुहुन्छ। 9 (जस्तो लेखिएको छ:
‘उनले चारैतिर छरेका छन्, उनले गरिबहरूलाई दिएका छन्; उनको धार्मिकता सदा रहिरहन्छ।’
10 अनि उहाँ जसले छर्नेलाई बीउ दिनुहुन्छ, उहाँले नै खानलाई रोटी पनि दिनुहुन्‍छ, तिमीहरूको छरिएको बीउलाई वृद्धि दिनुहुन्‍छ र तिमीहरूको धार्मिकताका फलहरू बढ़ाउनुहुन्‍छ); 11 यसरी तिमीहरू पूरा उदारतासित दिनका निम्ति हरेक कुरामा धनवान्‌ पारिन्छौ, जुन उदारताले हामीद्वारा परमेश्‍वरलाई धन्यवाद दिलाउँछ। 12 किनकि यस सेवाको कामले पवित्र जनहरूको घटी मात्र पूरा गर्दैन, तर परमेश्‍वरलाई चढ़ाइएको धेरै धन्यवादद्वारा प्रशस्त पनि हुन्छ। 13 यस सेवाको कामद्वारा, ख्रीष्‍टको सुसमाचारप्रति तिमीहरूले स्वीकार गरेको अधीनताको कारणले, साथै उनीहरूलाई र सबैलाई उदारतासित बाँड़िदिएको कारणले उनीहरूले परमेश्‍वरको महिमा गर्दछन्। 14 अनि तिमीहरूमाथि परमेश्‍वरको असीम अनुग्रह भएकोले तिमीहरूका निम्ति प्रार्थना गर्दै उनीहरूले तिमीहरूको तिर्सना गर्दछन्।
15 परमेश्‍वरलाई उहाँको बयान गरेर नसकिने दानका निम्ति धन्यवाद होस्!