दिने काममा प्रेरित पावलको प्रोत्साहन
८ र ९ अध्याय
8
अब भाइहरूहो, म्यासिडोनियाका मण्डलीहरूलाई परमेश्‍वरको जुन अनुग्रह प्रदान गरिएको छ, त्यस अनुग्रहको विषयमा हामी तिमीहरूलाई थाहा दिन्छौं, 2 कि सङ्कष्‍टको ठूलो जाँचमा उनीहरूको भरपूर आनन्द र उनीहरूको घोर गरिबीचाहिँ उनीहरूको उदारतारूपी धन बनेर प्रशस्त भयो। 3 किनकि म गवाही दिन्छु: आफ्नो क्षमताअनुसार, अँ, क्षमताभन्दा पनि बढ़ी दिनलाई उनीहरू आफै-आफ इच्छुक भए; 4 यो दान ग्रहण गर्नुहोस् र पवित्र जनहरूको सेवा गर्ने काममा सहभागी हुनुहोस् भन्दै उनीहरूले हामीलाई साह्रै आग्रह गरी-गरी विन्‍ती गरे। 5 हामीले जस्तो आशा गरेका थियौं, त्यस्तो मात्र होइन, तर पहिले उनीहरूले आफैलाई प्रभुलाई दिइहाले, त्यसपछि परमेश्‍वरको इच्छाद्वारा हामीलाई दिए। 6 यसकारण जसरी तीतसले शुरु गरेका थिए, त्यसरी नै उनले यो अनुग्रह पनि तिमीहरूको बीचमा पूरा गरून् भनी हामीले उनलाई आग्रह गर्‍यौं। 7 यसकारण जसरी तिमीहरू हरेक कुरामा – विश्‍वासमा, वचनमा, ज्ञानमा, सबै प्रकारको यत्‍नमा र हामीप्रतिको आफ्नो प्रेममा प्रशस्त छौ, त्यसरी नै यस अनुग्रहमा पनि प्रशस्त होओ!
8 म यो कुरा आज्ञाको रूपमा भन्दिनँ, तर अरू-अरूको उत्साहद्वारा तिमीहरूको प्रेमको चोखोपना जाँच्‍नका लागि पो भन्दछु। 9 किनकि तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह जान्दछौ: उहाँको गरिबीद्वारा तिमीहरू धनवान्‌ होओ भनेर उहाँ धनवान्‌ भएर पनि तिमीहरूका निम्ति गरिब हुनुभयो। 10 अनि यस सम्‍बन्‍धमा म आफ्‍नो सल्‍लाह दिन्छु; किनकि यो तिमीहरूका निम्ति फाइदा दिने कुरा हो – तिमीहरू जसले एक वर्षअघि नै यो काम फत्ते पार्न मात्र होइन, तर इच्छा गर्न थालेका थियौ; 11 तर अबचाहिँ यो काम गरिसिद्ध्याओ, र जसरी इच्छा गर्नमा तयारीपना थियो, त्यसरी नै तिमीहरूको सम्पत्तिद्वारा यो काम पूरा पनि गरियोस्। 12 किनकि मन तयार छ भने मानिससँग जे छैन, त्योअनुसार होइन, तर ऊसँग जे छ, त्योअनुसार दान ग्रहण गरिन्छ। 13 किनकि अरूलाई आराम होस्, तर तिमीहरूलाई चाहिँ भार परोस् भन्‍ने मेरो मतलब होइन; 14 तर बराबरी हुने विचारले अहिले, यस घड़ीमा तिमीहरूको भरपूरीले उनीहरूको घटी पूरा गरोस्, यस हेतुले कि उनीहरूको भरपूरी पनि तिमीहरूको घटीका लागि पूर्ति होस्, र बराबरी होस्; 15 जस्तो लेखिएको छ:
‘जसले धेरै बटुल्यो, उसको केही उब्रेन, र जसले थोरै बटुल्यो, उसलाई केही घटी भएन।’
16 तर परमेश्‍वरलाई धन्यवाद होस्, जसले तीतसको हृदयमा तिमीहरूका निम्ति उही गहिरो चासो हालिदिनुभएको छ। 17 किनकि साँच्‍चै उनले प्रोत्साहन स्वीकार मात्र गरेनन्, तर झन् उत्साही भएर उनी आफ्नै इच्छाले तिमीहरूकहाँ गए। 18 अनि हामीले उनको साथमा यी भाइ पठाएका छौं, जसको प्रशंसाचाहिँ सुसमाचारको सम्बन्धमा सबै मण्डलीहरूमा फैलिएको छ; 19 अनि यति मात्र होइन, तर यिनी ता यस अनुग्रहमा हाम्रो साथमा यात्रा गर्नका निम्ति मण्डलीहरूद्वारा चुनिएका पनि थिए, जुन अनुग्रहको सेवाचाहिँ उही प्रभुको महिमाका निम्ति र तिमीहरूको तयारी मन प्रकट गर्नका निम्ति हामीद्वारा गरिन्छ।
20 हामीद्वारा सेवा गरिने यस भरपूर दानको सम्बन्धमा कसैले हामीलाई दोष लाउन नपाओस् भनी हामी जोगिन्छौं; 21 किनकि जुन कुराहरू प्रभुको दृष्‍टिमा मात्र होइन, तर मानिसहरूको दृष्‍टिमा पनि आदरयोग्य छन्, ती कुराहरूकै चिन्ता हामी गर्दछौं। 22 अनि हामीले उनीहरूको साथमा हाम्रो भाइलाई पठाएका छौं, जसलाई हामीले जाँचेर धेरैपल्ट धेरै कुराहरूमा उत्साही भेट्टाएका छौं; तर अब त तिमीहरूप्रति भएको ठूलो भरोसाले गर्दा तिनी ज्यादै उत्साही भएका छन्। 23 कसैले तीतसको विषयमा सोध्छ भने, उनी मेरा सहभागी र तिमीहरूको सम्बन्धमा मेरा सहकर्मी हुन्; अथवा हाम्रा भाइहरूको विषयमा सोधिन्छ भने, उनीहरू मण्डलीहरूका दूतहरू र ख्रीष्‍टको महिमा हुन्। 24 यसकारण उनीहरूलाई र मण्‍डलीहरूको सामु तिमीहरूले आफ्नो प्रेमको प्रमाण र तिमीहरूको पक्षमा हामीले गरेको गर्वको प्रमाण देखाइदेओ!