7
यसकारण प्रियहरूहो, यी प्रतिज्ञाहरू पाएका हुनाले हामीले परमेश्वरको डरमा पवित्रता सिद्ध पार्दै शरीर र आत्माको सबै मैलाबाट आफूलाई शुद्ध पारौं!सच्चा पश्चात्ताप
2 हामीलाई ग्रहण गरिदेओ; हामीले कसैको खराबी गरेका छैनौं, हामीले कसैलाई बिगारेका छैनौं, हामीले कसैलाई ठगेका छैनौं। 3 तिमीहरूलाई दोषी ठहराउनका निम्ति म यो भन्दिनँ; किनकि मैले पहिल्यै भनिसकेको छु, सँगै मर्न र सँगै बाँच्नलाई तिमीहरू हाम्रा हृदयहरूमा छौ। 4 म तिमीहरूसित बड़ो साहससित बोल्छु; तिमीहरूको विषयमा मलाई ठूलो गर्व छ; म सान्त्वनाले भरिएको छु, हाम्रो सबै सङ्कष्टमा म आनन्दले चुलिएर पोखिन्छु।
5 किनकि जब हामी म्यासिडोनियामा आयौं, तब हाम्रो शरीरले कुनै चैन पाएन, तर हामी चारैतिरबाट सङ्कष्टमा पर्यौं: बाहिर लड़ाइँहरू थिए, भित्र डरैडर। 6 त्यसो भए तापनि निराशामा परेकाहरूलाई सान्त्वना दिनुहुने परमेश्वरले तीतसको आगमनद्वारा हामीलाई सान्त्वना दिनुभयो; 7 अनि उनको आगमनले मात्र होइन, तर त्यस सान्त्वनाले पनि, जुन सान्त्वना उनले तिमीहरूको बीचमा पाएका थिए, जब उनले हामीलाई तिमीहरूको लालसा, तिमीहरूको विलाप, मप्रति भएको तिमीहरूको धुनकोक विषयमा बताए; यसकारण म झन् खुशी भएँ।
8 किनकि मैले पत्रद्वारा तिमीहरूलाई शोकित पारेको भए तापनि म पछुतो मान्दिनँ – तथापि मैले पहिले पछुतो मानेको थिएँ - किनकि त्यही पत्रले तिमीहरूलाई थोरै समयका निम्ति भए पनि शोकित पार्यो भन्ने कुरा मलाई थाहै छ। 9 अब म आनन्द मनाउँछु, तिमीहरू शोकित पारिएकोमा होइन, तर पश्चात्तापी हुनलाई शोकित पारिएकोमा; किनकि ईश्वरीय रीतिअनुसार तिमीहरू शोकित पारियौ; यसैकारण तिमीहरूलाई हामीबाट कुनै कुरामा हानि भएन। 10 किनकि ईश्वरीय रीतिअनुसारको शोकले मुक्तिका निम्ति पछुतो गर्नु नपर्ने किसिमको पश्चात्ताप उत्पन्न गराउँछ, तर सांसारिक शोकले मृत्यु उत्पन्न गर्छ। 11 किनकि ईश्वरीय रीतिअनुसार शोकित भएको कुरा हेरि-हाल: यसले तिमीहरूमा कस्तो उत्सुकता उत्पन्न गर्यो! अँ, आफ्नो विषयमा कस्तो सफाइ; अँ, कस्तो रिस; अँ, कति डर; अँ, कस्तो ठूलो लालसा; अँ, कस्तो जोश; अँ, कस्तो बदला उत्पन्न गर्यो! यस सम्बन्धमा तिमीहरू निर्दोष छौ भन्ने कुरा तिमीहरूले सबै कुराबाट आफूलाई प्रमाणित गरेर देखायौ।
12 यसैकारण मैले तिमीहरूलाई लेखे तापनि मैले त्यस खराबी गर्ने मानिसको कारणले लेखेको होइनँ, न ता त्यस खराबी सहने मानिसको कारणले नै; तर परमेश्वरको सामु तिमीहरूप्रति हाम्रो जुन वास्ता छ, सो तिमीहरूकहाँ प्रकट होस् भनी मैले लेखेको हुँ। 13 यसैकारण तिमीहरूले सान्त्वना पाएकोमा हामीले सान्त्वना पाएका छौं; अँ, तीतसको आनन्दको कारणले हामी झन् साह्रै आनन्दित भएका छौं; किनकि तिमीहरू सबैबाट उनको आत्माले शीतलता पाएको छ। 14 किनभने मैले तिमीहरूको विषयमा उनीसित कुनै कुरामा गर्व गरेको छु भने पनि म लाजमा परिनँ; तर जसरी हामीले तिमीहरूलाई सबै कुराहरू साँचो गरी भन्यौं, त्यसरी नै तीतसको सामु मैले गरेको हाम्रो गर्व पनि साँचो ठहरियो। 15 अनि तिमीहरू सबैको आज्ञाकारिता अर्थात् तिमीहरूले उनलाई कसरी डराउँदै र काम्दै स्वागत गर्यौ, सो कुरा सम्झेर तिमीहरूप्रति उनको आन्तरिक प्रेम साह्रै ठुलो हुन्छ। 16 हरेक कुरामा तिमीहरूमाथि मेरो भरोसा छ, यसकारण म आनन्दित हुन्छु।