योग्य सेवकहरूका लक्षण
6
तब उहाँका सहकर्मीहरू भएका हुनाले हामी तिमीहरूलाई पनि विन्ती गर्दछौं: ‘परमेश्वरको अनुग्रह व्यर्थमा ग्रहण नगर!’ 2 (किनभने उहाँ भन्नुहुन्छ:‘कृपादृष्टिको समयमा मैले तिम्रो सुनेको छु; र मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरेको छु।’क
हेर, कृपादृष्टिको समयख अहिले हो; हेर, मुक्तिको दिन अहिले हो।) 3 सेवामा दोष नलागोस् भनेर हामी कुनै पनि कुरामा ठेस खुवाउँदैनौं। 4 तर सबै कुराहरूमा परमेश्वरका सेवकहरू हौं भनेर हामी आफूलाई प्रमाणित गर्दछौं: ठूलो धीरजमा, सङ्कष्टहरूमा, अभावहरूमा, क्लेशहरूमा, 5 कोर्रा खानमा, कैदहरूमा, हूलदङ्गाहरूमा, परिश्रमहरूमा, जागा-बसाईहरूमा, उपवासहरूमा; 6 शुद्धताद्वारा, ज्ञानद्वारा, सहनशीलताद्वारा, दयाद्वारा, पवित्र आत्माद्वारा, निष्कपट प्रेमद्वारा, 7 सत्यताको वचनद्वारा, परमेश्वरको सामर्थ्यद्वारा, दाहिने र देब्रे हातका धार्मिकताका हतियारहरूद्वारा; 8 आदर र अनादरद्वारा, बदनाम र सुनामद्वारा; धोकाबाजहरूजस्ता, तरै पनि सत्य; 9 नचिनिएका जस्ता, तैपनि प्रसिद्ध, मर्दै गरेका जस्ता, तर हेर, हामी जिउँदा छौं; ताड़ना पाएका जस्ता, तर हामी मारिएका छैनौं; 10 शोकितजस्ता, तर हामी सधैं आनन्द मनाउँछौं; गरिबजस्ता, तर हामी धेरैजनालाई धनी बनाउँछौं; केही नहुनेहरूजस्ता, तरै पनि हामीसँग सब थोक छन्।
11 हे कोरिन्थीहरूहो, हामीले तिमीहरूसँग मुख खोलेर कुरा गर्यौं, हाम्रो हृदय फराकिलो छ। 12 तिमीहरूका लागि हाम्रो हृदय साँघुरो छैन, तर तिमीहरू पो तिमीहरूका हृदयहरूमा साँघुरा छौ। 13 अब आफ्ना छोराछोरीहरूलाई झैं म भन्दछु: यसको बदलामा तिमीहरू पनि फराकिला होओ!
अलग होओ!
14 अविश्वासीहरूसँग असमान भएर एउटै जुवामा ननारिओ; किनकि धार्मिकताको अधर्मसँग के सङ्गति? अनि उज्यालोको अँध्यारोसँग के सहभागीता? 15 अनि ख्रीष्टको बेलियालसँगग के एकता? अथवा विश्वासीको अविश्वासीसँग के हिस्सा? 16 अनि परमेश्वरको मन्दिरको मूर्तिहरूसँग के सम्बन्ध? किनभने तिमीहरू जीवित परमेश्वरको मन्दिर हौ; जसरी परमेश्वरले भन्नुभएको छ:
‘म उनीहरूको बीचमा बस्नेछु, र उनीहरूको बीचमा हिँड़्नेछु; अनि म उनीहरूको परमेश्वर हुनेछु, र उनीहरू मेरो जनहरू हुनेछन्।’घ
17 यसकारण
‘तिनीहरूको बीचबाट निस्केर आओ, र अलग होओ, परमप्रभु* भन्नुहुन्छ; अनि अशुद्ध कुरा नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु।’ङ
18 अनि
‘म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोराहरू र छोरीहरू हुनेछौ, सर्वशक्तिमान् प्रभु भन्नुहुन्छ।’