विश्वासद्वारा अनुग्रहले मुक्ति पाइन्छ
2
अनि तिमीहरू जो अपराध र पापहरूमा मरेका थियौ, तिमीहरूलाई उहाँले जीवित पारिदिनुभयो; 2 जुन पापहरूमा तिमीहरू बितेको समयमा, यस संसारको रीतिअनुसार आकाशकोक अधिकारको शासक अर्थात् त्यस आत्माअनुसार हिँड़्थ्यौ, जसले अहिले आज्ञा नमान्ने सन्तानहरूमा काम गर्छ, 3 जसको बीचमा हामी सबैले पनि शरीर र मनका लालसाहरू पूरा गर्दै बितेको समयमा आफ्ना शरीरका कुइच्छाहरूमा जीवन बितायौं, र स्वभावैले हामी पनि अरूजस्तै क्रोधका सन्तान थियौं।4 तर परमेश्वर, जो दया गर्नमा धनवान् हुनुहुन्छ, आफ्नो महान् प्रेमको कारणले, जसद्वारा उहाँले हामीलाई प्रेम गर्नुभयो, 5 हामी अपराधहरूमा मरेकै भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो – अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ – 6 अनि हामीलाई सँग-सँगै बौराएर उठाउनुभयो, र ख्रीष्ट येशूमा हामीलाई सँग-सँगै स्वर्गीय स्थानहरूमा यस उद्देश्यले बसाल्नुभयो, 7 कि पछि आउने युगहरूमा उहाँले ख्रीष्ट येशूमा हामीप्रति भएको आफ्नो दयाद्वारा आफ्नो अनुग्रहको अपार धन देखाइदिऊन्। 8 किनकि तिमीहरूले विश्वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ; अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो; 9 कामहरूबाट होइन, नत्र ता कसैले घमण्ड गर्नेछ। 10 किनकि ख्रीष्ट येशूमा हामी असल कामहरूका निम्ति सृजना गरिएका उहाँका हातको कारिगरी हौं, जुन असल कामहरूमा हामीले हिँड़्नुपर्छ भनेर परमेश्वरले अघिबाटै ती कामहरू तयार पार्नुभएको छ।
ख्रीष्टमा यहूदीहरू र अन्यजातिहरू एक छन्
11 यसैकारण सम्झना गर: बितेको समयमा तिमीहरू शरीरअनुसार अन्यजातिहरू थियौ, अनि शरीरमा हातले गरिएको ‘खतना’ भनिनेद्वारा तिमीहरू ‘विनाखतनाका’ भनिन्थ्यौ। 12 त्यस समयमा तिमीहरू ख्रीष्टविहीन थियौ, इस्राएलको नागरिकताबाट अलग, प्रतिज्ञाका वाचाहरूबाट पराई, आशा नभएका र संसारमा परमेश्वररहित थियौ। 13 तर अब ख्रीष्ट येशूमा तिमीहरू, जो बितेको समयमा टाढ़ा थियौ, ख्रीष्टको रगतद्वारा नजिक पारिएका छौ। 14 किनकि उहाँ हाम्रो मेलमिलापख हुनुहुन्छ, जसले दुवैलाई एक बनाउनुभयो र बीचको अलग पार्ने भित्ता भत्काइदिनुभयो। 15 अनि मेलमिलाप गराएर आफैमा दुईजनाबाट एउटा नयाँ मानिस सृष्टि गर्नका निम्ति उहाँले विधिविधानहरूमा भएका आज्ञाहरूको व्यवस्था अर्थात् त्यो शत्रुता आफ्नै शरीरमा मेटाइदिनुभयो; 16 अनि क्रूसद्वारा एउटा शरीरमा दुवैलाई परमेश्वरसँग मिलाप गराउनका निम्ति उहाँले शत्रुतालाई त्यस क्रूसद्वारा नाश गर्नुभयो; 17 अनि आएर उहाँले तिमीहरूलाई जो टाढ़ामा थियौ, र उनीहरूलाई जो नजिकमा थिए, मेलमिलापको सुसमाचार सुनाउनुभयो। 18 किनकि उहाँद्वारा नै हामी दुवै एउटै आत्मामा पिताकहाँ पुग्न पाउँछौं।
19 यसकारण अबदेखि उसो तिमीहरू पराई र परदेशीहरू होइनौ, तर पवित्र जनहरूसँग सङ्गी-नागरिकहरू हौ र परमेश्वरको घरानाका हौ; 20 अनि तिमीहरू प्रेरितहरू र भविष्यवक्ताहरूको जगमाथि निर्माण गरिएका हौ, जसको कुनाढुङ्गाचाहिँ येशू ख्रीष्ट आफै हुनुहुन्छ; 21 उहाँमा सारा भवन टम्म मिलेर प्रभुमा एउटा पवित्र मन्दिर बन्नलाई बढ़्दै जान्छ; 22 उहाँमा तिमीहरू पनि आत्माद्वारा परमेश्वरको वासस्थान बन्नलाई एकसाथ बनिँदै जान्छौ।