सबै थोक ख्रीष्‍टकै निम्ति
3
अन्तमा मेरा भाइहरूहो, प्रभुमा आनन्द गर! तिमीहरूलाई यी कुराहरू बारम्बार लेख्‍नमा मलाई साँच्‍चै कष्‍ट हुँदैन, तर तिमीहरूका निम्ति सुरक्षा छ। 2 कुकुरहरूदेखि होशियार रहो, खराब काम गर्नेहरूदेखि होशियार रहो, काटकुट गर्नेहरूदेखि होशियार रहो! 3 किनभने हामी आत्मामा परमेश्‍वरको उपासना गर्नेहरू, ख्रीष्‍ट येशूमा आनन्द मनाउनेहरू र शरीरमा भरोसा नराख्‍नेहरूचाहिँ त्यो साँचो खतना हौं।
4 तरै पनि म त शरीरमा पनि भरोसा राख्‍न सक्थें। यदि कसैले ‘म शरीरमा भरोसा पर्न सक्छु’ भनी सोच्दछ भने म झन् सक्छु; 5 आठौं दिनमा मेरो खतना भयो, इस्राएली जातिको हुँ, बिन्यामीन कुलको हुँ, हिब्रूहरूको हिब्रू हुँ, व्यवस्थाको विषयमा भन्‍नु हो भने म फरिसी हुँ; 6 जोशको विषयमा भन्‍नु हो भने म मण्डलीलाई सताउने हुँ; व्यवस्थामा भएको धार्मिकताको विषयमा भन्‍नु हो भने म दोषरहित थिएँ। 7 तर जुन कुराहरू मेरा निम्ति लाभ थिए, ती कुराहरू मैले ख्रीष्‍टका निम्ति हानि सम्झें। 8 अँ, साँच्‍चै मेरा प्रभु ख्रीष्‍ट येशूको ज्ञानको सर्वश्रेष्‍ठताका निम्ति म सबै कुराहरू हानि ठान्छु; उहाँकै निम्ति मैले सबै कुराहरूको हानि खपें, अनि ख्रीष्‍टलाई प्राप्‍त गरूँ र उहाँमा भेट्टाइन सकूँ भनेर म तिनलाई कसिङ्गर ठान्छु; 9 मसँग व्यवस्थाबाट हुने आफ्नै धार्मिकता भएर होइन, तर ख्रीष्‍टमाथि राखिएको विश्‍वासद्वारा हुने धार्मिकता अर्थात्‌ परमेश्‍वरको धार्मिकता भएर, जुनचाहिँ विश्‍वासद्वारा प्राप्‍त गरिन्छ। 10 र उहाँको मृत्युसँग एक रूपको भएर म उहाँलाई, उहाँको बौरिउठाइको सामर्थ्य र उहाँका दु:खहरूको सङ्गति जान्‍न सकूँ; 11 र जसरी भए पनि म मरेकाहरूबाटको बौरिउठाइसम्म आइपुग्‍न सकूँ।
पावल: म निशानातिर लम्कन्छु
12 मैले पहिल्यै प्राप्‍त गरिसकेको वा म पहिल्यै सिद्ध भइसकेको होइन; तर ख्रीष्‍ट येशूद्वारा म जुन कुराका निम्ति पक्राउ परें, त्यो कुरा पक्रन सक्छु कि भनी म त्यसको पछि लाग्छु। 13 भाइहरूहो, मैले पक्रिसकेको छु भनी म आफ्नो विषयमा सम्झन्‍नँ; तर यो एउटा कुरा म गर्दछु: पछिल्तिरका कुराहरू बिर्सेर अघिल्तिरका कुराहरूतिर लम्कँदै 14 ख्रीष्‍ट येशूमा परमेश्‍वरको उच्‍च बोलावटको पुरस्कारका निम्ति म निशानातिर दगुर्छु।
15 यसकारण हामी जतिजना सिद्ध छौं, यस्तै मनका होऔं; अनि यदि तिमीहरू कुनै कुरामा अर्कै मनका हुन्छौ भने परमेश्‍वरले यो पनि तिमीहरूलाई प्रकट गर्नुहुनेछ। 16 तरै पनि जहाँसम्म हामी आइपुगेका छौं, त्यही नियमअनुसार हामी हिँड़ौं, हामी एउटै मनका होऔं!
17 भाइहरूहो, सबै मिलेर मेरो देखासिकी गर्ने होओ, अनि हामी तिमीहरूका नमुना हौं; यिनीहरू जो हामीजस्तै हिँड़्छन्, यिनीहरूलाई ध्यानपूर्वक हेर! 18 (किनभने धेरैजना हिँड़्छन्, जसको विषयमा मैले तिमीहरूलाई धेरैपल्ट भनेको छु, र अहिले पनि रुँदै-रुँदै भन्दछु: तिनीहरू ख्रीष्‍टको क्रूसका शत्रुहरू हुन्, 19 तिनीहरूको अन्त विनाश हो, तिनीहरूको ईश्‍वर पेट हो, अनि तिनीहरूको महिमा तिनीहरूकै शर्ममा छ; तिनीहरू पृथ्वीका कुराहरूमा मन लगाउँछन्।) 20 किनकि हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट चाहिँ हामी मुक्तिदाता प्रभु येशू ख्रीष्‍टको बाटो हेर्दछौं, 21 जसले जुन प्रभावशाली कार्यद्वारा सबै कुराहरू आफ्नो वशमा पार्न सक्नुहुन्छ, त्यही कार्यअनुसार हाम्रो दीनहीन शरीर बदली गरिदिनुहुनेछ, र यो उहाँको महिमापूर्ण शरीरजस्तै बनिनेछ।