केही व्यावहारिक शिक्षाहरू
4
यसकारण मेरा अति प्रिय र तिर्सना गरिएका भाइहरूहो, हे मेरा आनन्द र मुकुटहो, प्रभुमा यही प्रकारले स्थिर रहो, मेरा प्रियहरूहो!
2 म इयोदियालाई विन्‍ती गर्दछु, र सुन्तुखेलाई विन्‍ती गर्दछु: उनीहरू प्रभुमा एउटै मनका होऊन्! 3 अनि हे साँचो जोड़ीदार, म तिमीलाई पनि विन्‍ती गर्दछु: ती स्त्रीहरूलाई सहायता गर, जसले सुसमाचारमा मसँग, क्लेमेन्टसँग पनि र मेरा अरू सहकर्मीहरूसँग मेहनत गरे, जसका नामहरू जीवनको पुस्तकमा छन्।
4 प्रभुमा सधैं आनन्द गर; म फेरि भन्दछु, आनन्द गर! 5 तिमीहरूको कोमलता सबै मानिसहरूलाई थाहा भएको होस्! प्रभु नजिकै हुनुहुन्छ। 6 कुनै कुराका निम्ति फिक्री नगर, तर हरेक कुरामा प्रार्थना र विन्‍तीद्वारा तिमीहरूका मागहरू धन्यवादसाथ परमेश्‍वरकहाँ जाहेर गरिऊन्, 7 र सारा समझलाई माथ गर्ने परमेश्‍वरको शान्तिले तिमीहरूका हृदयहरू र तिमीहरूका विचारहरू ख्रीष्‍ट येशूमा रक्षा गर्नेछ।
8 अन्तमा भाइहरूहो, जे-जे कुरा सत्य छन्, जे-जे कुरा आदरयोग्य छन्, जे-जे कुरा न्यायसङ्गत छन्, जे-जे कुरा चोखा छन्, जे-जे कुरा मनोहर छन्, जे-जे कुरा तारिफ गर्न लायकका छन्; यदि कुनै सद्‍गुण छ भने, यदि कुनै प्रशंसा छ भने यी कुराहरूमा ध्यान देओ! 9 जुन कुराहरू तिमीहरूले सिक्यौ, ग्रहण गर्‍यौ, सुन्यौ र ममा देख्यौ, ती कुराहरू गर, र शान्तिको परमेश्‍वर तिमीहरूको साथमा रहनुहुनेछ।
दानका निम्ति धन्यवाद!
10 तर प्रभुमा म साह्रै आनन्दित भएँ; किनकि अहिले, अन्तमा तिमीहरूको वास्ता मप्रति फेरि पलायो; हुन त तिमीहरूले वास्ता गरिरहेकै थियौ, तर तिमीहरूले मौका पाएका थिएनौ। 11 खाँचोको विषयमा मैले कुरा गरेको होइन, किनकि जुनसुकै अवस्थामा म रहे तापनि सन्तुष्‍ट रहनु मैले सिकेको छु। 12 म होचिनु जान्दछु र भरिपूर्ण हुनु पनि जान्दछु; सबै ठाउँमा र सबै कुराहरूमा भरपेट हुनु, साथै भोको रहनु, भरिपूर्ण हुनु, साथै खाँचोमा पर्नु मैले सिकेको छु। 13 मलाई शक्ति दिनुहुने ख्रीष्‍टद्वारा म सबै कुराहरू गर्न सक्छु।
14 तरै पनि मेरो कष्‍टमा सहभागी भईकन तिमीहरूले असल गर्‍यौ। 15 अब हे फिलिप्पीहरूहो, तिमीहरूलाई पनि थाहा छ, सुसमाचारको शुरुमा, जब म म्यासिडोनियाबाट हिँड़ें, तब कुनै पनि मण्डली दिनेलिने विषयमा मसँग सहभागी भएन, तर तिमीहरू मात्र भयौ। 16 किनकि थेस्सलोनिकामा पनि तिमीहरूले मेरो खाँचो पूरा गर्नलाई समय-समयमा पठायौ। 17 मैले दान चाहेको होइन, तर म त त्यहि फल चाहन्छु, जुन फलले चाहिँ तिमीहरूको हिसाबमा प्रशस्त वृद्धि ल्याउँछ। 18 अब मसँग सबै थोक छन् र म भरपूर भएको छु; तिमीहरूले एपाफ्रोडिटसद्वारा पठाएका यी कुराहरू पाएर म तृप्‍त भएको छु – यो त मीठो बास्‍ना आउने सुगन्ध, ग्रहणयोग्य बलि हो, जुनचाहिँ परमेश्‍वरलाई खूबै मन पर्छ। 19 तर मेरा परमेश्‍वरले आफ्नो धनअनुसार महिमामा ख्रीष्‍ट येशूद्वारा तिमीहरूको सबै खाँचो पूरा गरिदिनुहुनेछ।
20 अब परमेश्‍वर र हाम्रा पितालाई सदासर्वदा महिमा भइरहोस्! आमेन।
21 ख्रीष्‍ट येशूमा भएको हरेक पवित्र जनलाई सलाम भनिदेओ! मसँग भएका भाइहरूले तिमीहरूलाई सलाम पठाउँदैछन्। 22 सबै पवित्र जनहरूले, विशेष गरेर सिजरको घरानाकाहरूले तिमीहरूलाई सलाम पठाउँदैछन्। 23 हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरू सबैसँग रहोस्! आमेन।