बुबाआमा र छोराछोरीहरूलाई, साथै मालिक र कमारालाई प्रभुको शिक्षा
6
हे बालबालिकाहरूहो, प्रभुमा आफ्ना बुबाआमाको आज्ञा पालन गर, किनकि यो उचित छ। 2 ‘आफ्ना बुबा र आमालाई आदर गर’, जुनचाहिँ प्रतिज्ञासहितको पहिलो आज्ञा हो, 3 ‘र तिम्रो भलाइ होस् र यस पृथ्वीमा तिम्रो आयु लामो होस्!’
4 अनि हे बुबाहरूहो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, तर प्रभुको अनुशासन र चेताउनीमा तिनीहरूको पालन-पोषण गर!
5 हे दासहरूहो, शरीरअनुसार जो तिमीहरूका मालिकहरू छन्, तिनीहरूको आज्ञा ख्रीष्‍टलाई गरेझैं तिमीहरूको हृदयको सच्‍चाइमा डराउँदै र काम्दै पालन गर; 6 मानिसहरूलाई खुशी पार्नेहरूजस्तै आँखाको अघि मात्र काम गर्ने नहोओ, तर ख्रीष्‍टका दासहरूजस्तै हृदयदेखि नै परमेश्‍वरको इच्छा पूरा गर्नेहरू होओ! 7 मानिसहरूका निम्ति होइन, तर प्रभुकै निम्ति गरेझैं भलो इच्छाले सेवा गर; 8 यो जानेर कि हरेक मानिसले, चाहे ऊ दास होस् चाहे स्वतन्‍त्र, जे-जे भलो काम गर्दछ, प्रभुबाट उसले त्यही पाउनेछ।
9 अनि हे मालिकहरूहो, स्वर्गमा तिमीहरूका पनि मालिक हुनुहुन्छ र उहाँ पक्षपाती हुनुहुन्‍न भन्‍ने जानेर धम्की दिन छोड़, र उनीहरूप्रति पनि त्यस्तै व्यवहार गर!
परमेश्‍वरको सारा हातहतियार धारण गर!
10 अन्तमा मेरा भाइहरूहो, प्रभुमा र उहाँको बलको सामर्थ्यमा बलवान् होओ! 11 शैतानका धूर्त युक्तिहरूको विरोधमा खड़ा हुन सक्नलाई परमेश्‍वरका सारा हतियारहरू धारण गर! 12 किनकि हामी मासु र रगतको विरोधमा कुस्ती लड़्‍दैनौं, तर प्रधानहरूको विरोधमा, अधिकारीहरूको विरोधमा, यस संसारको अन्धकारका शासकहरूको विरोधमा, आकाशी स्थानहरूमा भएका आत्मिक दुष्‍टताको विरोधमा लड़्दछौं। 13 यसकारण खराब दिनमा सामना गर्न सक्नलाई र सबै कुराहरू गरेर खड़ा हुन सक्नलाई परमेश्‍वरका सारा हतियारहरू उठाओ!
14 यसकारण खड़ा होओ, तिमीहरूका कम्मर सत्यताले कस, र धार्मिकताको कवच धारण गर; 15 अनि पाउहरूमा मेलमिलापको सुसमाचारको तयारीका जुत्ता लगाओ; 16 यी सबैबाहेक विश्‍वासको ढाल उठाओ, जसद्वारा दुष्‍टका सबै अग्‍निवाणहरू निभाउनलाई तिमीहरू समर्थ हुनेछौ। 17 अनि मुक्तिको टोप, र आत्माको तरवार लेओ, जुन तरवारचाहिँ परमेश्‍वरको वचन हो; 18 सारा प्रार्थना र अन्तर्विन्‍ती गर्दै हर समय आत्मामा प्रार्थना गर, अनि यसैका निम्ति सारा प्रयत्‍न र सबै पवित्र जनहरूका लागि अन्तर्विन्‍ती गर्दै जागा रहो;
19 अनि मेरा निम्ति पनि, कि सुसमाचारको रहस्य प्रकट गर्न साहससित मैले आफ्नो मुख खोल्दा मलाई वचन दिइयोस्, 20 जुन सुसमाचारका निम्ति म साङ्लाले बाँधिएको एउटा राजदूत हुँ; ताकि जसरी मैले बोल्नुपर्ने हो, त्यसरी नै म यसमा साहससँग बोल्न सकूँ।
21 तर मेरो विषयमा र म के गरिरहेको छु भन्‍ने कुरा तिमीहरूलाई पनि थाहा होस् भनेर प्रिय भाइ र प्रभुमा विश्‍वासयोग्य सेवक तुखिकसले तिमीहरूलाई सबै कुराहरू बताइदिनेछन्; 22 तिमीहरूलाई हाम्रो अवस्था थाहा होस्, साथै उनले तिमीहरूका हृदयहरूलाई सान्‍त्‍वना दिऊन् भन्‍ने हेतुले नै मैले उनलाई तिमीहरूकहाँ पठाएको छु।
23 परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट भाइहरूलाई शान्ति र विश्‍वाससित प्रेम मिलोस्! 24 हाम्रा प्रभु येशू ख्रीष्‍टलाई चोखो मनले प्रेम गर्नेहरू सबैसित अनुग्रह रहोस्!­ आमेन।