प्रेममा, ज्योतिमा र बुद्धिमा हिँड़!
5
यसकारण तिमीहरू प्रिय छोराछोरीहरूजस्ता परमेश्‍वरका देखासिकी गर्नेहरू होओ, 2 र प्रेममा हिँड़, जसरी ख्रीष्‍टले पनि हामीलाई प्रेम गर्नुभयो र मीठो बास्‍ना दिने सुगन्ध हुनका लागि भेटी र बलिदानको रूपमा आफैलाई हाम्रा निम्ति परमेश्‍वरकहाँ अर्पण गर्नुभयो।
3 तर जस्तो पवित्र जनहरूलाई सुहाउँछ, त्यस्तै तिमीहरूको बीचमा व्यभिचार, सबै अशुद्धता वा लोभको नामसम्म पनि नलिइओस्, 4 न ता फोहोर कुरा, न ता मूर्खतापूर्ण बातचित, न ता ठट्टादिल्‍लगी – यी सुहाउने कुराहरू होइनन्; तर बरु धन्यवाद नै चढ़ाइयोस्। 5 किनकि तिमीहरू यो कुरा जान्दछौ: कुनै व्यभिचारीले, वा अशुद्ध मानिसले, वा लोभी मानिसले, जो मूर्तिपूजक हो, ख्रीष्‍टको र परमेश्‍वरको राज्यमा कुनै पैतृक-सम्पत्ति पाउनेछैन।
6 कुनै मानिसले तिमीहरूलाई खोक्रा कुराहरूले धोका नदेओस्; किनकि यी कुराहरूले गर्दा परमेश्‍वरको क्रोध आज्ञा नमान्‍ने सन्तानहरूमाथि आइपर्छ। 7 यसकारण तिमीहरू तिनीहरूसित सहभागी नहोओ! 8 किनकि बितेको समयमा तिमीहरू अन्धकार थियौ, तर अब प्रभुमा तिमीहरू ज्योति हौ; ज्योतिका सन्तानहरूजस्तै हिँड़; 9 किनकि सबै भलाइ, धार्मिकता र सत्यतामा नै आत्माको फल हुन्छ। 10 प्रभुलाई मनपर्ने कुरा के रहेछ, सो जाँचेर थाहा गर! 11 अनि अन्धकारका निष्फल कामहरूसँग सङ्गत नगर, तर बरु तिनको दोष प्रकट गरिदेओ! 12 किनकि तिनीहरूद्वारा जुन कुराहरू गुप्‍तमा गरिन्छन्, ती कुराहरूको चर्चा गर्नु पनि शर्मको कुरा हो। 13 तर जति कुराको दोष प्रकट गरिएको छ, ती सबै कुराहरू ज्योतिद्वारा प्रकट गरिएका छन्; किनकि हरेक कुरा जसले प्रकट गर्दछ, त्यो ज्योति हो। 14 यसकारण उहाँ भन्‍नुहुन्‍छ:
“हे निदाउने, बिउँझ र मुर्दाहरूको बीचबाट उठ; तब ख्रीष्‍ट तिमीमाथि चम्कनुहुनेछ।”
15 यसकारण तिमीहरू होशियारीसँग हिँड़िरहेका छौ कि छैनौ, हेर! बुद्धिहीनजस्‍ता होइन, तर बुद्धिमान् जस्‍ता हिँड़; 16 समय खेर जान नदेओ, किनकि दिनहरू खराब छन्। 17 यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्छा के रहेछ, सो बुझ्ने होओ! 18 अनि दाखमद्यले नमात, जसमा चरित्रहीनता हुन्छ, तर आत्माले भरपूर होओ! 19 आपसमा भजन, स्तुतिगान र आत्मिक गीतहरूद्वारा कुरा गर, प्रभुका निम्ति आ-आफ्नो हृदयमा गाओ र भजन गर! 20 हाम्रा प्रभु येशू ख्रीष्‍टको नाममा परमेश्‍वर र पितालाई सबै कुराहरूका निम्ति सधैंभरि धन्यवाद चढ़ाओ! 21 परमेश्‍वरको डरमा आफूलाई एक-अर्काको अधीनतामा सुम्प!
पति-पत्‍नीलाई प्रभुको शिक्षा
22 पत्‍नीहरूहो, प्रभुको अधीनतामा रहेझैं आफूलाई आ-आफ्ना पतिको अधीनतामा सुम्प; 23 किनकि पति पत्‍नीको शिर हुन्, जसरी ख्रीष्‍ट पनि मण्डलीको शिर हुनुहुन्छ; अनि उहाँ नै शरीरको मुक्तिदाता हुनुहुन्छ। 24 यसकारण जसरी मण्डली ख्रीष्‍टको अधीनतामा छ, त्यसरी नै पत्‍नीहरू पनि हरेक कुरामा आ-आफ्ना पतिको अधीनतामा रहून्।
25 पतिहरूहो, आ-आफ्ना पत्‍नीलाई प्रेम गर, जसरी ख्रीष्‍टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई यस हेतुले अर्पण गर्नुभयो कि 26 उहाँले त्यसलाई वचनद्वारा जलको स्‍नानले शुद्ध गरी पवित्र पारिदिऊन्, 27 र महिमित मण्डलीको रूपमा त्यसलाई आफ्नो सामु उपस्थित गराऊन्, जसमा दाग वा चाउरी वा यस्तै अरू कुनै कुरा हुँदैन, तर त्यो पवित्र र निष्कलङ्क हुन्छ। 28 यसैकारण पतिहरूले आ-आफ्ना पत्‍नीलाई आफ्नै शरीरहरूलाई झैं प्रेम गर्नुपर्छ। जसले आफ्नी पत्‍नीलाई प्रेम गर्दछ, उसले आफैलाई प्रेम गर्दछ। 29 किनकि कुनै पनि मानिसले कहिल्यै आफ्नो शरीरलाई घृणा गरेको छैन, तर त्यसलाई पालन-पोषण र स्याहार-सुसार गर्दछ, जसरी प्रभुले पनि मण्डलीलाई गर्नुहुन्छ; 30 किनकि हामी उहाँकै शरीरका, उहाँकै मासुका र उहाँकै हड्डीहरूका अङ्गहरू हौं। 31 यही कारणले गर्दा मानिसले आफ्ना बुबा र आमालाई छोड़्‍नेछ, र ऊ आफ्नी पत्‍नीसँग मिलिरहनेछ, अनि ती दुईजना एउटै शरीर हुनेछन्। 32 यो त एउटा ठूलो रहस्य हो, तर म ख्रीष्‍ट र मण्डलीको विषयमा बोल्दछु। 33 तरै पनि तिमीहरूमध्ये हरेकले आफ्नी पत्‍नीलाई आफैलाई झैं प्रेम गरोस्; अनि पत्‍नीले आफ्ना पतिको डर मानोस्