एकतामा हिँड़!
4
यसकारण म, प्रभुको कैदीले तिमीहरूलाई विन्ती गर्दछु: जुन बोलावटले तिमीहरू बोलाइएका छौ, त्यही बोलावटको योग्य चालमा हिँड़! 2 सबै दीनता र नम्रतासाथ, सहनशीलतासित प्रेममा एक-अर्कालाई सह! 3 मेलमिलापकोक बन्धनमा आत्माको एकता कायम राख्ने प्रयत्न गर! 4 एउटै शरीर छ, र एउटै आत्मा हुनुहुन्छ, जसरी तिमीहरू पनि तिमीहरूको बोलावटको एउटै आशामा बोलाइएका छौ; 5 एउटै प्रभु, एउटै विश्वास, एउटै बप्तिस्मा; 6 सबैका एउटै परमेश्वर र पिता हुनुहुन्छ, जो सबैमाथि, सबैद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ।7 तर ख्रीष्टको वरदानको नापअनुसार हामीमध्ये हरेकलाई त्यो अनुग्रह दिइएको हो। 8 यसकारण उहाँ भन्नुहुन्छ:
‘जब उहाँ उच्च स्थानमा उक्लनुभयो, तब उहाँले कैदलाई कैद गरेर लैजानुभयो र मानिसहरूलाई दानहरू दिनुभयो।’ख
9 (अब ‘उहाँ उक्लनुभयो’, यो के हो? उहाँ पहिले पृथ्वीका तल्ला भागहरूमा ओर्लनु पनि भयो भनी भनेको बाहेक अरू के हो र? 10 जो ओर्लनुभयो, उहाँ उहीं हुनुहुन्छ, जो सबै कुराहरू भरिदिनलाई सारा स्वर्गहरूभन्दा धेरै माथि उक्लनु पनि भयो)। 11 अनि उहाँले कतिलाई प्रेरितहरू, अनि कतिलाई भविष्यवक्ताहरू, अनि कतिलाई सुसमाचार प्रचारकहरू, अनि कतिलाई गोठालाहरू र शिक्षकहरू हुनलाई दिनुभयो; 12 सेवाको काम र ख्रीष्टको शरीरको उन्नतिका निम्ति पवित्र जनहरूलाई सिद्ध बनाउनलाई, 13 जबसम्म हामी सबैजना विश्वासको र परमेश्वरको पुत्रको पहिचानको एकतामा आइपुग्दैनौं, पूरा बढ़ेको मानिस बन्दैनौं, ख्रीष्टको परिपूर्णतारूपी कदको नापसम्म आइपुग्दैनौं; 14 कि अबदेखि उसो हामी बालकहरू नरहौं, जो मानिसहरूको चलाकी र छलपूर्ण धूर्ततामा हरेक शिक्षारूपी बतासद्वारा यता र उता पारिँदछन् अनि वर र पर हुत्याइँदछन्; यस्ता कुराहरूद्वारा धोका दिनलाई तिनीहरू ढुकेर बस्छन्। 15 तर प्रेममा सत्य बोल्दै हामी सबै कुराहरूमा उहाँसम्म, जो शिर हुनुहुन्छ अर्थात् ख्रीष्टसम्म बढ़ौं! 16 उहाँबाट नै सम्पूर्ण शरीर टम्म मिलेर र एकसाथ बाँधिएर हरेक अङ्गको नापमुताबिकको प्रभावकारी कामअनुसार हरेक जोर्नीको सहायताद्वारा त्यसले प्रेममा आफ्नै उन्नति गर्नका निम्ति शरीरको वृद्धि गर्दछ।
नयाँ मानिस भई हिँड़!
17 यसकारण म यो भन्दछु र प्रभुमा गवाही दिन्छु: तिमीहरू अबदेखि उसो अरू अन्यजातिहरूजस्तो नहिँड़, जो आफ्नो मनको व्यर्थतामा चल्दछन्; 18 किनकि तिनीहरूको समझ अँध्यारो भएको छ; तिनीहरूमा भएको अज्ञानताको कारणले र तिनीहरूको हृदयको अन्धापनाको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन्; 19 लाटिएको मन भएको हुनाले सबै अशुद्ध कामहरू लालसासाथ गर्नका निम्ति तिनीहरूले आफूलाई कामुकताको वशमा सुम्पेका छन्। 20 तर तिमीहरूले ख्रीष्टलाई यसरी सिकेका छैनौ; 21 येशूमा भएको सत्यताअनुसार यदि तिमीहरूले साँच्ची नै उहाँको सुनेका छौ र उहाँद्वारा सिकाइएका छौ भने; 22 तिमीहरूले पहिलेको चालचलनको त्यस पुरानो मान्छेलाई फालिदेओ, जोचाहिँ धोकापूर्ण लालसाहरूद्वारा भ्रष्ट हुन्छ, 23 र तिमीहरूको मनको आत्मामा नयाँ हुँदै जाओ, 24 अनि त्यस नयाँ मान्छेलाई पहिर, जोचाहिँ परमेश्वरको स्वरूपअनुसार धार्मिकता र साँचो पवित्रतामा सृजिएको छ।
25 यसकारण झूटलाई फालेर तिमीहरू हरेकले आफ्नो छिमेकीसित साँचो बोल; किनकि हामी एक-अर्काका अङ्गहरू हौं। 26 रिसाओ, तर पाप नगर! घाम अस्ताउनुभन्दा पहिल्यै तिमीहरूको रिस मरोस्। 27 अनि शैतानलाई ठाउँ नदेओ! 28 जसले चोर्दथ्यो, अबदेखि त्यसले नचोरोस्, तर बरु आफ्ना हातहरूले असल काम गर्दै त्यसले मेहनत गरोस्, र जसलाई खाँचो छ, उसलाई दिनलाई त्यससँग केही होस्। 29 तिमीहरूको मुखबाट कुनै कुवचन ननिस्कोस्, तर आवश्यक उन्नतिका निम्ति जुन कुरा असल छ, त्यही कुरा मात्र निस्कोस्, र त्यसले सुन्नेहरूलाई अनुग्रह प्रदान गरोस्। 30 अनि परमेश्वरको पवित्र आत्मालाई शोकित नपार, जसद्वारा तिमीहरू छुटकाराको दिनका निम्ति छाप मारिएका छौ। 31 सबै तीतोपना, क्रोध, रिस, कलह र निन्दा सबै वैरभावसमेत तिमीहरूबाट हटेका होऊन्; 32 अनि एक-अर्काप्रति दयालु होओ, कोमल मनका होओ; र जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी नै तिमीहरूले पनि एक-अर्कालाई क्षमा गर!