पवित्र जीवनका निम्ति ईश्वरीय नियम
3
यसकारण यदि तिमीहरू ख्रीष्टसँग बिउँतिएका छौ भने माथिका कुराहरू खोज, जहाँ ख्रीष्ट परमेश्वरको दाहिने हातपट्टि बसिरहनुभएको छ। 2 माथिका कुराहरूमा मन लगाओ, पृथ्वीमा भएका कुराहरूमा होइन; 3 किनकि तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन ख्रीष्टसँग परमेश्वरमा लुकेको छ। 4 जब ख्रीष्ट, जो हाम्रा जीवन हुनुहुन्छ, प्रकट हुनुहुनेछ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ।5 यसकारण पृथ्वीमाथि भएका तिमीहरूका अङ्गहरूलाई मार: व्यभिचार, अशुद्धता, प्रबल वासना, कुइच्छा र लोभलाई, जुनचाहिँ मूर्तिपूजा हो। 6 यी कुराहरूकै कारणले गर्दा आज्ञा नमान्ने सन्तानहरूमाथि परमेश्वरको क्रोध आइपर्छ। 7 यी कुराहरूमा जीवन बिताउँदा तिमीहरू पनि एक समय तिनीहरूकै बीचमा हिँड़्थ्यौ, 8 तर अब तिमीहरूले पनि यी सबै कुराहरू फालिदेओ: रिस, क्रोध, द्वेष, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली। 9 एकले अर्कोसित झूट नबोल; किनकि तिमीहरूले पुरानो मान्छेलाई त्यसका कामहरूसमेत निकालिदिएका छौ, 10 र त्यस नयाँ मानिसलाई पहिरेका छौ, जोचाहिँ आफ्नो सृष्टिकर्ताको स्वरूपअनुसार ज्ञानमा नयाँ हुँदै जान्छ; 11 जहाँ ग्रीक वा यहूदी, खतना वा विनाखतना, अन्यभाषी, सिथियावासी, कमारा वा स्वतन्त्र भन्ने भेद रहँदैन, तर ख्रीष्ट नै सबै कुराहरू र सबैमा हुनुहुन्छ।
12 यसकारण परमेश्वरका चुनिएका, पवित्र र प्रिय जनहरू भई कोमल मायाहरू, दया, मनको नम्रता, दीनता, सहनशीलतालाई धारण गर! 13 कसैले कसैको विरोधमा दोष दिने केही कुरा छ भने एक-अर्कालाई सहिदेओ र एक-अर्कालाई क्षमा गर; जसरी ख्रीष्टले तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै तिमीहरूले पनि क्षमा गर! 14 तर यी सबै कुराहरूभन्दा बढ़ी प्रेम धारण गर, जुनचाहिँ सिद्धताको बन्धन हो। 15 अनि परमेश्वरको शान्तिले तिमीहरूका हृदयहरूमा राज्य गरोस्, यसैका निम्ति तिमीहरू पनि एउटै शरीरमा बोलाइएका छौ; अनि तिमीहरू धन्यवादी होओ! 16 ख्रीष्टको वचनले तिमीहरूभित्र प्रशस्त गरी वास गरोस्; भजन, स्तुतिगान र आत्मिक गीतद्वारा सारा बुद्धिसित एक-अर्कालाई सिकाओ र सम्झाओ, अनुग्रहसाथ आफ्ना हृदयहरूमा प्रभुका निम्ति गाओ! 17 अनि वचनमा वा काममा तिमीहरू जे पनि गर्दछौ, उहाँद्वारा परमेश्वर र पितालाई धन्यवाद चढ़ाउँदै सबै कुराहरू प्रभु येशूकै नाममा गर!
ख्रीष्ट-विश्वासीको परिवार र दास-मालिकका निम्ति नियम
18 हे पत्नीहरूहो, तिमीहरू आफूलाई आ-आफ्ना पतिको अधीनतामा सुम्प; किनकि प्रभुमा यो उचित छ।
19 हे पतिहरूहो, आ-आफ्नी पत्नीलाई प्रेम गर, र उनीहरूप्रति तीता नबन!
20 हे छोराछोरीहरूहो, सबै कुराहरूमा आफ्ना बुबाआमाको आज्ञापालन गर; किनकि यसले प्रभुलाई साह्रै खुशी पार्छ।
21 हे बुबाहरूहो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, नत्र उनीहरू निराश हुनेछन्।
22 हे दासहरूहो, सबै कुराहरूमा शरीरअनुसार जो तिमीहरूका मालिकहरू छन्, उनीहरूको आज्ञापालन गर! मानिसहरूलाई खुशी पार्नेहरूजस्ता आँखाको अघि मात्र सेवा गर्ने होइन, तर परमेश्वरको डर मानेर हृदयको सच्चाइसाथ गर! 23 अनि जे पनि तिमीहरू गर्दछौ, सो मानिसहरूका निम्ति होइन, तर प्रभुका निम्ति गरेझैं तनमनले गर, 24 यो कुरा जानेर कि प्रभुबाट तिमीहरूले पैतृक-सम्पत्तिरूपी इनाम पाउनेछौ; किनकि तिमीहरू प्रभु ख्रीष्टको सेवा गर्दछौ। 25 तर जसले खराबी गर्दछ, त्यसले आफूले गरेको खराबीको प्रतिफल पाउनेछ; अनि त्यहाँ पक्षपात हुँदैन।